+
+

रिङरोड बाहिरका काँठ बस्ती होमस्टे सञ्चालन गर्न उपयुक्त : पर्यटनमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २१ गते १२:५३

२१ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले काठमाडौं उपत्यका नजिक रिङरोड बाहिरका काँठ बस्तीमा होमस्टे (घरबास) कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुने बताएका छन् ।

हाँडीगाउँ सामुदायिक होमस्टे (घरबास) को वार्षिकोत्सव र नयाँ होमस्टे घर उद्घाटन कार्यक्रममा बोल्दै उनले सहरभन्दा नजिक उपत्यकाका काँठ क्षेत्रमा होमस्टे कार्यक्रम विस्तार गर्न सकिने सम्भावना रहेको बताए ।

विदेशी तथा स्वदेशी पर्यटकलाई लोकल तथा अग्र्यानिक खानाको स्वादसँगै मौलिक कला, संस्कृति देखाएर आर्थिक लाभ लिन सकिने उनले बताए ।

मन्त्री तामाङले होमस्टेलाई व्यवस्थित तथा प्रभावकारी र उद्देश्यमूलक बनाएर सञ्चालन गर्न समेत निर्देशन दिए ।

सहरी क्षेत्रमा रहेका घरमा समेत आगन्तुक पाहुनालाई खाना र बासको व्यवस्था मिलाउने तथा सत्कार सेवा बापत निश्चित रकम लिने गरी होमस्टे सञ्चालन गर्न सकिन्छ भन्ने हाँडीगाउँ होमस्टेले प्रमाणित गरेको उनको भनाइ छ ।

काठमाडौं रिङरोड बाहिरका काँठ क्षेत्रमा खेती गर्ने, पशुपालन गर्ने र गाईवस्तुको मलबाट तरकारी फलाउने गरिने भन्दै उनले त्यसलाई उपयोगमा ल्याएर ती बस्तीमा होमस्टे सञ्चालन गर्नुपर्ने बताए ।

नेपाल आउने पर्यटकलाई स्थानीय रीतिरिवाज सिकाउने यो सबैभन्दा प्रभावकारी माध्यम भएको उनले बताए ।

पर्यटकीय सम्भावना भएका गाउँ सहरको पर्यटन प्रवर्द्धनका लागि होमस्टेलाई उपयोग गर्नुपर्ने भन्दै मन्त्री तामाङले मन्त्रालयले होमस्टे कार्यक्रमको प्रवद्र्धन, सञ्चालन तथा विस्तारमा सहयोग पुर्‍याउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा हाँडीगाउँ सामुदायिक होमस्टेका अध्यक्ष शकुन्तला घिमिरेले ११ वटा घरबाट सञ्चालन गरिएकोमा हाल २७ वटा घर आबद्ध भएको र ५० घर पुर्‍याउने योजना रहेको बताइन् ।

हाँडीगाउँ आफैंमा इतिहास बोकेको स्थान भएको भन्दै उनले यहाँको स्थानीय परिकारसँगै पाहुनालाई मौलिक संस्कार सस्कृति र पहिरनका साथ सत्कार गर्ने गरिएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?