
बढ्दो गर्मीमा पानीको छालसँग पौंठेजोरी खेल्दै शीतलता खोज्न नचाहने को होला र ? त्यसैले त तापमानको ग्राफ बढ्दै जाँदा विभिन्न नदीमा र्याफ्टिङ गर्ने पनि बढ्दैछन् । पानीको उचालसँग रमाउँदै गरिने र्याफ्टिङको मजा लिन पर्यटकहरु नदीतर्फ लागेको देखिन्छ ।
तर र्याफ्टिङ गर्न सबैका लागि सहज नहुनसक्छ । साहसिक पर्यटकीय गतिविधिमा पर्ने र्याफ्टिङ सुन्दा जति जोखिमयुक्त देखिन्छ त्यति नै रमाइलो नदीको गतिमा नदीसँगै बग्दै जानुमा हुन्छ । जब डुङ्गामा बसेर नदीको छालको गतिसँगै रमाउन थालिन्छ एकैछिनमा डर हराइजान्छ ।
र्याफ्टिङका लागि नेपालमा फरक खालका खोला र नदी छन् । नदी र खोलाको भौगोलिक बनोट र गतिका आधारमा यसलाई विभाजन गरिएको पाइन्छ । जस्तै फ्यामिली र्याफ्टिङका लागि त्रिशूली नदी रोजाइमा परे जस्तै थ्रिलर चाहनेका लागि भोटेकोशी गन्तव्य बन्नसक्छ ।
कुनै समय विदेशी पर्यटकले धानेको र्याफ्टिङ व्यसायमा पछिल्लो समय आन्तरिक पर्यटकको बढ्दो उपस्थितिले क्रेज बढाएको पर्यटनकर्मीको अनुभव छ । डेढ दशकअघिसम्म र्याफ्टिङ गर्नेमा विदेशीको संख्या ८० प्रतिशतको हाराहारीमा रहने गरेकोमा त्यो हिस्सा अहिले आन्तरिक पर्यटकले ओटगेका छन् ।
नेपालमा र्याफ्टिङका लागि विशेष गरी त्रिशूली र भोटेकोशी नदी मुख्य मानिन्छन् । त्यसबाहेक बूढीगण्डकी, पोखरा हुँदै बग्ने सेती, पूर्वमा तमोर र सुनकोशी, पश्चिममा कर्णाली, बागलुङदेखि आँधीखोलासम्मको कालीगण्डकी नदीमा पनि र्याफ्टिङ गर्नेहरुको संख्या बढ्दो छ ।
र्याफ्टिङ गर्दा के ख्याल गर्ने ?
– सबैभन्दा पहिले त तपाईंले बुकिङ गरिरहेको कम्पनी कस्तो खालको कम्पनी हो ख्याल गर्नुपर्छ । अहिले र्याफ्टिङ गराउनका लागि कैयौंले सामाजिक सञ्जालमा विज्ञापन गर्छन् । दर्ता भएर चलेका आधिकारिक कम्पनी छनोट गर्नुपर्छ ।
– र्याफ्टिङ गर्दा पानी सोस्ने खालका कपडा ठीक हुँदैन । र्याफ्टङ मा स्पोर्ट्स वेयर नै उत्तम हुन्छ । पानी सोस्ने खालका भित्री बस्त्र नलगाउने ।
– गाइडको निर्देशनलाई पालना गर्ने । लाइफ ज्याकेट गाइडले लगाइदिन्छन्, आफ्नो लहडमा खुकुलो नपार्ने ।
– र्याफि्टङ गर्दा गाइड भनेका पाइलट हुन् भने यात्रु सबै जना कोपाइलट । गाइडले भनेजस्तै गरी प्याडलिङ गर्नुपर्छ । ताकि यात्रा सहज र रोमान्टिक होस् ।
– यदि पानीमा खसिहालियो र पौडी खेल्न जानिंदैन भने नआत्तिने । लाइफ ज्याकेटमा भएको सिरानीले टाउकोलाई पानीमा डुब्न दिंदैन र सुरक्षित भइन्छ । अगाडि र पछाडि कायाकिङ गर्ने उद्धारकर्मीको सहयोगले पुनः डुंगामा जान सकिन्छ वा आफ्नै डुंगामा भएका साथीहरूले पनि उद्धार गर्ने अवस्था रहन्छ ।
– यो एकदमै सुरक्षित हुन्छ, डराउनु पर्दैन । त्यसकारण सुरक्षामा भन्दा पनि आनन्दले रमाइलो गर्नेतर्फ ध्यान दिनुपर्छ ।

– फोटो खिच्नका लागि मोबाइल फोन लगिएको छ भने गाइडसँग वाटरप्रुफ बट्टा हुन्छ । त्यसमा सुरक्षित राख्न सकिन्छ र फोटो/भिडियो खिच्न सहज ठाउँमा प्रयोग गर्न सकिन्छ ।
– र्याफ्टिङ गर्दाको फोटो भिडियोका लागि पहिले नै जानकारी गराउनुपर्छ । अहिले प्रायः कम्पनीले फोटो भिडियो सुविधा उपलब्ध गराएका हुन्छन् । त्यसैले आफूले फोटो भिडियो खिच्नतर्फ नलागेर रमाउनेतर्फ ध्यान दिनुपर्छ ।
– मादक पदार्थ सेवन गरी र्याफ्टिङ गर्नु हुँदैन । र्याफि्टङ अवधिभर मादक पदार्थ सेवन र धुम्रपान गर्न मिल्दैन ।
– र्याफि्टङ गर्दा जुत्ता भिजेर गह्रौं हुने भएकाले चप्पल सजिलो हुन्छ । र्याफ्टिङमा भिजिने भएकाले एक जोर कपडा जगेडा लैजानुपर्छ ।
(कँडेल धादिङको बेनीघाटस्थित त्रिशूली रिभरसाइड रिसोर्टका सञ्चालक हुन् ।)
प्रतिक्रिया 4