+
+

बूढीगंगामा तीन वर्षदेखि अलपत्र बेलिब्रिज

प्रकाश सिंह प्रकाश सिंह
२०८१ जेठ २१ गते १४:०४

२१ जेठ, बाजुरा । बाजुराको बडिमालिका नगरपालिकाअन्तर्गत साँफे–मार्तडी सडक खण्डको जडाङ्गमा रहेको बेलिब्रिज नदीमै थन्किएको छ । पक्की पुल निर्माण भएको तीन वर्ष पुग्न लाग्दासम्म पनि अन्य ठाउँमा सार्न पहल नहुँदा नदीमै पुल थन्किएको हो ।

जडाङ्गको बूढीगंगा नदीमा दुईवटा गाडी गुड्ने पुल छन् । तर जिल्लाका अरू सडकखण्डमा भने एउटा पुल पनि निर्माण हुन सकेको छैन । बाजुराको मार्तडी–कोल्टी सडकखण्डका तीन ठूला नदी र काँडा–आटिचौर–मार्तडी जोडने सडक खण्डको भौनेरामा पुल निर्माण नहुँदा वर्षातमा यातायात पूर्ण रूपमा ठप्प हुन्छ ।

जिल्ला तहमा बेलिब्रिज अर्को ठाउँमा सारिनुपर्ने स्थानीयले माग राखे पनि अन्यत्र लैजाने अहिलेसम्म कुनै योजना बनेको छैन । उक्त पुल सडक विभागको हो । सडक विभागसँग कता सार्ने भन्ने ठोस योजना नहुँदा बेलिब्रिज नदीमै थन्किएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए । अन्यत्र सारेको भए त्यहाँका बासिन्दा लाभान्वित हुने थिए भन्दै उनले आफ्नो ठाउँबाट यसका लागि पहल भइरहेको बताए ।

बेलिब्रिज सार्न जिल्लास्तरमा पटकपटक सर्वदलीय बैठक बसे पनि प्रदेश र संघबाट बजेट व्यवस्थापन भएको छैन । जडाङ्गमाको बूढीगंगा नदीमा २५ साउन २०७७ मा आएको बाढीले बेलिब्रिज बगाएको थियो । लगत्तै सडक विभागले तत्काल ठेक्का खोलेर सोही वर्षको माघ महिनादेखि बेलिब्रिज सञ्चालनमा ल्याएको थियो । यो पुल सञ्चालनमा आएको १ वर्षपछि खोलामा पक्की पुन निर्माण सम्पन्न भएको थियो ।

जडाङ्गमा तत्कालीन समयमा सडक डिभिजन कार्यलय साँफेबगरले बेलिब्रिज ढुवानदीेखि निर्माणका लागि १ करोड ८८ लाखमा ठेक्का आह्वान गरेर काम गरेको थियो । सडक डिभिजन कार्यालय साँफेबगरका एक कर्मचारीले भने बेलिब्रिज कता लैजाने भन्ने कुनै निर्णय नभएको बताए । उनले भने, ‘केन्द्रबाट कुनै निर्देशन आएको छैन ।’

बाजुराका धेरै नदीमा यस्तो पुल आवश्यक छ । मार्तडी कोल्टी सडकअन्तर्गत अनाइखोलाले एक वर्ष पहिला ट्याक्टर बगाउँदा चालक हालसम्म पनि बेपत्ता छन् । खोलामा पुल नहुँदा रातिको समयमा ट्याक्टर तार्न खोज्दा बाढीले बगाएको थियो ।

बडीमालिका नगरपालिकाका नगरप्रमुख अम्मर खड्काले भने बूढीगंगा नदीमा रहेको बेलिब्रिज अन्यत्र सार्न पहल भइरहेको बताए । उनले भने, ‘तर संघीय सरकारको बेलिब्रिज भएकाले सडक विभागले निर्णय गर्न नसक्दा यो अलपत्र हुन पुगेको छ ।’

बेलिब्रिज निर्माणदेखि स्थापना सम्ममा १० करोडभन्दा बढी खर्च हुने विभागको भनाइ छ । यसरी करोडौं रुपैयाँ पर्ने बेलिब्रिज अहिले प्रयोगहीन अवस्थामा छ । यसलाई अन्यत्र सार्नेमा कसैको ध्यान नगएको स्थानीयको भनाइ छ । बाजुराबाट निर्वाचित संघीय र प्रदेश सांसदले यसलाई अन्यत्र सार्न पहल गरिरहेको बताए पनि कार्यान्वयन हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?