+
+

तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक कालोपत्रे सुरु   

रासस रासस
२०८१ जेठ २१ गते १२:१०

२१ जेठ, भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका गौरवको आयोजना तिवारीभञ्ज्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडक कालोपत्र थालिएको छ ।

मध्य पहाडी लोकमार्गअन्तर्गत भोजपुर–लेगुवा ६६ किलोमिटर सडकसँग जोडिएको गाउँपालिका प्रवेश गर्ने स्थान तिवारीभञ्ज्याङलाई शून्य बिन्दु मानेर कालोपत्र थालिएको हो ।

तिवारीभञ्ज्याङ–अधेँरीघाटसम्मको ३१ किलोमिटर सडकमध्ये गाउँपालिका केन्द्र च्याङ्ग्रेसम्म पुर्‍याउने लक्ष्यका साथ दुई प्याकेजमा कालोपत्र भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवीन भट्टराईले जानकारी दिए । यो आर्थिक वर्षमा एक हजार तीन सय मिटर कालोपत्र सम्पन्न हुने उनको भनाइ छ ।

तिवारीभञ्ज्याङको शून्य बिन्दुबाट वडा नम्बर २ को स्वास्थ्य चौकीसम्म एक प्याकेज र स्वास्थ्य चौकीबाट गाउँपालिका केन्द्रसम्म दोस्रो प्याकेजमा काम भइरहेको उनले बताए । पहिलो प्याकेजको सडक डिभिजन कार्यालय तुलिम्टारको भ्याटसहित एक करोड रुपैयाँ र दोस्रो प्याकेजको भ्याटसहित चार करोड दुई लाख रुपैयाँ लागत रहेको प्रशासकीय अधिकृत भट्टराईको भनाइ छ ।

‘तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक कालोपत्र थालेका छौं,’ प्रशासकीय अधिकृत भट्टराईले भने, ‘सडकको काम दुई प्याकेजमा भइरहेको छ । कालोपत्रको काम समयमा सम्पन्न गराउने लक्ष्यका साथ काम भइरहेको छ । यो आर्थिक वर्षमा एक हजार तीन सय मिटर कालोपत्र हुन्छ ।’

सडक संघीय समपूरक अनुदान, प्रदेश समपूरक अनुदान र गाउँपालिकाको लागत साझेदारीमा कालोपत्र थालिएको हो ।

यो सडक कालोपत्रको काम गाउँपालिकाको गौरवको आयोजनाको रूपमा रहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । यो सडक भोजपुरवासीलाई तराईका जिल्लासँग जोड्ने छोटो मार्ग भएकाले महत्वका साथ कालोपत्रको काम थालिएको अध्यक्ष राईको भनाइ छ । आफ्नो कार्यकालभित्र ३१ किलोमिटर सडक नै कालोपत्र गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए ।

‘यो सडक हाम्रो गाउँपालिकाको गौरवको योजना हो,’ अध्यक्ष राईले भने, ‘भोजपुरलाई तराईका जिल्लासँग जोड्ने छोटो मार्ग पनि हो । पहिलो चरणमा गाउँपालिका केन्द्रसम्म कालोपत्र गर्ने योजना छ । भावी दिनमा यो सडकको अधेँरीघाटसम्मको ३१ किलोमिटर नै कालोपत्र गर्ने मेरो लक्ष्य छ ।’

तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक कालोपत्र सुरु भएपछि उत्साह थपिएको वडा नम्बर २ तिवारीभञ्ज्याङका स्थानीयवासी राजकुमार तिवारीले बताए । सडक कालोपत्र सुरुले गाउँपालिकावासीको धेरैपछिको सपना पूरा भएको उनको भनाइ छ ।

‘सडक कालोपत्र थालिएपछि हामीमा उत्साह थपिएको छ,’ उनले भने, ‘सडक कालोपत्रले यहाँको जनजीवनमा परिवर्तन आएको छ । गाउँपालिकाले थालेको यो काम प्रशंसायोग्य छ । यो सडकले हाम्रो गाउँपालिको सम्पूर्ण भू–भागलाई छोएको हुनाले यहाँका कृषिउपजले समेत राम्रो बजार पाउने छ ।’

सडक कालोपत्र सम्पन्नको अन्तिम अवधि २० असार २०८१ सम्म रहेको छ । सडक नालीसहित आठ मिटरको हुने निर्माण कम्पनी एवाई आनन्द जेभी धनकुटाले जनाएको छ । प्रिमिक्स प्राविधिबाट यो सडकको कालोपत्र हुने जनाइएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?