+
+

साउदी रियाल देखाएर श्रृंखलाबद्ध ठगी गर्ने गिरोह पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २१ गते १७:३२

२१ जेठ, काठमाडौं । सस्तो दरमा साउदी रियाल सटही गर्ने प्रलोभन देखाएर श्रृंखलाबद्ध ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सिन्धुलीको दुधौली नगरपालिका–१२ जिनाखुका ३५ वर्षीय दीपक तामाङ, सोही ठाउँका ४९ वर्षीय टेकबहादुर घिसिङ र ३६ वर्षीय निरबहादुर तामाङ छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बौद्ध क्षेत्रबाट पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुबाट १०० दरको साउदी रियाल २ थान, नेपाली रुपैयाँ १० को १०० थान, प्रदेश १–०५–००१ प ८०३७ नम्बरको मोटरसाइकल, बा ४६ प ९७७५ नम्बरको स्कुटर र ३ थान मोबाइल बरामद गरेको छ ।

१६ जेठमा रामेछापको दोरम्बा गाउँपालिका–७ घर भई काठमाडौं बस्दै आएकी ५८ वर्षीया चन्दरी तामाङलाई साउदी रियाल देखाई यो समूहले ठगी गरेको भन्दै उजुरी परेको थियो । सुनका गरगहना र नगद गरी चन्दरीबाट यो समूहले २ लाख १० हजार रुपैयाँ ठगी गरेको उजुरी थियो ।

यो समूहले अहिलेसम्म श्रृंखलाबद्ध रुपमा १४ लाख २१ हजार ५ सय रुपैयाँ ठगी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

१० साउन २०८० मा काभ्रेको तेमाल घर भएकी ३५ वर्षीया फुलमाया तामाङलाई सस्तो दरमा साउदी रियाल दिने भन्दै उनीसँग भएको गहना र नगद गरी ४ लाख ८५ हजार रुपैयाँ ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।

त्यसैगरी १५ साउन २०८० मा रामेछापको गुप्तेश्वरकी सरमाया तामाङलाई पनि यही शैलीमा सुनका गहना र नगद गरेर २ लाख २२ हजार ५ सय रुपैयाँ ठगी गरेको खुलेको छ ।

२४ साउन २०८० मा ओखलढुंगाको सुनकोशी गाउँपालिका–३ का उत्तम बस्नेतलाई भने सस्तोदरमा कतारी रियाल दिने भन्दै उनीबाट २ लाख २० हजार रुपैयाँ बराबरको सुनको गहना ठगी गरेको खुलेको छ ।

२१ पुस २०८० मा दोलखाको डाँडाखर्ककी दिलकुमारी तामाङबाट भने यो समूहले २ लाख ८४ हजार ठगी गरेको पाइएको छ ।

पक्राउ परेका सबैलाई कारबाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?