+

टेबलटेनिस पदक विजेतालाई सदस्य-सचिवको बधाइ

२०८१ जेठ  २१ गते १७:५८ २०८१ जेठ २१ गते १७:५८
टेबलटेनिस पदक विजेतालाई सदस्य-सचिवको बधाइ

२१ जेठ, काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य-सचिव टंकलाल घिसिङले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडीलाई सोमबार बधाइ दिएका छन् ।

त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षमा खेलाडीसंगको भेटमा सदस्य–सचिव घिसिङले सफलताको प्रशंसा गर्दै बधाइ दिएका हुन् ।

सदस्य–सचिव घिसिङले टेबलटेनिसले छनोट चरण पार्दै पेरिस ओलम्पिकमा सहभागिता सुनिश्चित गरिसकेको अवस्थामा अबका जुनियर खेलाडीलाई त्यो विरासत कायम गर्ने गरी खेलमा ध्यान दिनु पर्नेमा जोड दिए । उनले खेलाडीलाई आगामी प्रतियोगिताको तयारीमा केन्द्रीत हुन सुझाए ।

टोलीका प्रशिक्षक सन्जिव ढुंगेलले खेलाडीले सोचे भन्दा राम्रो प्रदर्शन गरेको बताउदै खेलाडीको नतिजाबाट आफू सन्तुष्ट रहेको प्रतिक्रिया दिए ।

टोलीकी व्यवस्थापक सिक्का सुवाल श्रेष्ठले खेलाडीले पाएको अवसरलाई सदुपयोग गर्दै राम्रो नतिजा हात पारेको बताउदै सहभागिताका लागि सहयोग गरेकोमा राखेप र सदस्य–सचिव घिसिङलाई धन्यवाद दिइन् ।

टेबलटेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले सदस्य–सचिवकै सहयोगका कारण टिम सहभागी हुन पाएको स्मरण गरे ।पदक विजेता खेलाडीले प्रतियोगिताबाट अनुभव बटुल्ने अवसर पाएको बताउदै आफ्नो कमीकमजोरी थाहा पाउने अवसर पनि मिलेको बताए ।

श्रीलंकाको क्यान्डीमा जेठ १३ देखि १६ गतेसम्म भएको प्रतियोगितामा नेपालले १ रजत र ५ कांस्य जितेको थियो । यु-१९ गर्ल्स डबल्समा इभाना थापा मगर र बियङ्का राईले रजत जिते ।

यु–१९ टिम इभेन्टको ब्वाइजमा प्रिन्स थापा, रुविन महर्जन र सिद्धार्थ तामाङ तथा गर्ल्समा बियङ्का राई, इभाना थापा र योङगी पौडेलले कांस्य हात पारे ।

गर्ल्स यु–१५ को सिंगल्समा शुभश्री श्रेष्ठ, डबल्समा शुभश्री श्रेष्ठ र शुरम्य शाक्य तथा टिममा शुभश्री श्रेष्ठ, महिमा महता र शुरम्य शाक्यले कांस्य प्राप्त गरे ।

टेबलटेनिस राष्ट्रिय खेलकुद परिषद्
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय