+
+

न्यूरोडमा महानगर र सडक विभाग आमनेसामने

नगर प्रहरी फिर्ता गरेर न्यूरोडमा पिच टालियो

अमृत चिमरिया अमृत चिमरिया
२०८१ जेठ २१ गते १९:४६

२१ जेठ, काठमाडौं । सोमबार बिहान ८ बजे सडक विभागको टोली सडक टिपर र ट्रकमा कालोपत्रे गर्न आवश्यक अस्फाल्ट, गिटी र केही कामदार लिएर इन्द्रचोकमा ओर्लियो ।

१२ जेठमा काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तार गर्न भन्दै काटेको इन्द्रचोकदेखि जुद्ध शालिकतर्फको सडकको पिच टाल्न सडक विभाग मातहतको डिभिजन सडक कार्यालय काठमाडौंले टोली पठाएको थियो ।

सडक कार्यालयको टोली आएको खबर पाउनेबित्तिकै काठमाडौं महानगरपालिकाले नगर प्रहरी प्रमुखसहितको टोली त्यहाँ पठायो । सँगै मेयर बालेन शाहले फेसबुकमा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै स्टाटस लेखे ।

एमाले नेता रघुवीर महासेठले सम्हालेको भौतिक पूर्वाधार मन्त्रालयले आफ्नो काममा हस्तक्षेप गरेको भन्दै बालेनले गिरिबन्धु टी इस्टेटको जग्गा प्रकरणको विषय उठाएर ओलीलाई आरोपित गरेका थिए ।

‘१० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्यूरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थाल्नुभएछ’, बालेनले लेखेका छन्, ‘अब बल्ल देश बन्ने भएछ ।’ 

विभागले धमाधम पिच टालिरहेका बेला काठमाडौं महानगरपालिकाको नगर प्रहरी पुगेको थियो, त्यहाँ दुई पक्षबीच केहीबेर कुराकानी भयो र नगर प्रहरी फर्कियो ।

नगर प्रहरी कसरी भयो ब्याक ?

महानगरपालिकाबाट ठेक्का पाएका ठेकेदार कम्पनीले न्यूरोड क्षेत्रमा सडकको पिच गत १२ जेठमा काटेपछि सडक डिभिजन कार्यालय काठमाडौंको टोलीले अनुमति विना सडकको पिच काटेको भन्दै पिच कटर जफत गरेको थियो ।

सोही दिन दिउँसो काठमाडौं महानगरपालिकाले सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौं बाहिरको सडकमा धुलो थुपारिदिएको थियो ।

त्यसपछि डिभिजन सडकले पिच आफैं टालिदिन काठमाडौं महानगरपालिकालाई पत्र पठाएको थियो । महानगरले बेवास्ता गरेपछि सोमबार डिभिजन सडक कार्यालय आफैं पिच टाल्न गएको हो ।

‘उहाँहरुले पत्रको जवाफ दिनुभएन, अर्को ३ दिन कुर्दा पनि काम नभएपछि आज विहानदेखि पिच गरेका हौं,’ डिभिजन सडक काठमाडौंका सूचना अधिकारी प्रमोद खतिवडाले भने ।

खतिवडाका अनुसार महानगरले सडकको एक छेउमा १६० मिटर लामो र अर्को छेउमा ५० मिटर लामो पिच काटेको छ । त्यसको चौडाइ भने १.१५ मिटर छ ।

सडकको टोलीले पिच टालेको थाहा पाएपछि नगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डे, पूर्वी क्षेत्र कमाण्डर एसपी दिनेश अर्याल, अर्का एसपी मनोज लामिछाने सहित करिब एकसय नगर प्रहरीको टोली न्यूरोड पुगेको थियो । नगर प्रहरीका समर्थनमा केही स्थानीय समेत आएका थिए । तर स्थानीय बासिन्दा र नेपाल प्रहरी पनि ठूलो संख्यामा थिए ।

नगर प्रहरी प्रमुख पाण्डेले महानगरको काममा हस्तक्षेप नगर्न आग्रह गरेका थिए । तर सडक विभागका इन्जिनियरहरुले आफूहरुले सडक विभागको निर्देशनअनुसार काम गर्ने जवाफ दिएका थिए ।

नेपाल प्रहरीको तर्फबाट खटिएका डीएसपीले पनि जसरी पनि पिच टाल्ने निर्देशन भएकाले नगर प्रहरीलाई फर्किन आग्रह गरे । इन्द्रचोक पुगेका महानगरका प्रवक्ता नविन मानन्धरले वडा नं २२ र २४ का वडाध्यक्षलाई बोलाएर छलफल गर्न खोजेका थिए । तर सफल भएनन् ।

केहीबेर इन्द्रचोकमै रहेको नगर प्रहरी धमाधम सडक पिच हुन थालेपछि जुद्ध शालिकबाट धर्मपथतर्फको बाटो भएर महानगरपालिका कार्यालय फर्किएको थियो ।

न्यूरोड क्षेत्र नै पर्ने वडा नं २२ का वडाध्यक्ष चिनीकाजी महर्जन फुटपाथ फराकिलो पार्न नहुने पक्षमा अर्थात सडक विभागको पक्षमा उभिए । उनका साथमा केही स्थानीय युवा पनि पिच टालेको ठाउँमा आएका थिए ।

वडा नं २४ का वडाध्यक्ष विनोद राजभण्डारी र २५ का पूर्ववडाध्यक्ष नीलकाजी शाक्य फुटपाथ फराकिलो बनाउने पक्षमा थिए । उनीहरु पनि पिच टाल्न लागेका बेला इन्द्रचोकमा थिए । सडकको पिच टालेको विषयमा उनीहरुले पत्रकारहरुलाई प्रतिक्रिया दिन मानेनन् ।

महर्जन नेकपा एमालेबाट निर्वाचित भएका हुन् भने राजभण्डारी नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।

सडक विभागको काम गलत : प्रवक्ता मानन्धर

काठमाडौं महानगरका प्रवक्ता नविन मानन्धरले सडक विभागले महानगरले फुटपाथ बनाउन खनेका पिच टाल्नु गलत भएको बताए ।

‘महानगरपालिकाले आफ्नो क्षेत्रको बासिन्दालाई सेवा दिनको लागि गरेको काममा बाधा पुर्‍याउन आवश्यक थिएन । हामी आफ्नो काम निरन्तर गर्छौं । अब फेरि भत्काएर पिच गर्ने हो,’ प्रवक्ता मानन्धरले भने ।

उनले न्यूरोड क्षेत्रका बासिन्दा नै फुटपाथ विस्तार प्रकरणले विभाजित भएको बताए । ‘२२ नम्बर वडाध्यक्ष फुटपाथ विस्तारको विपक्षमा छन् भने २४ नम्बर वडाध्यक्ष पक्षमा छन् । यसले गर्दा यहीँको स्थानीय पनि पक्ष, विपक्षमा छन्’, उनले भने ।

एउटा पक्ष नगर प्रहरी सहित सडक विभागको टोलीलाई काम गर्नबाट रोक्न खोजिरहेको थियो भने अर्को पक्ष नगर प्रहरीलाई हस्तक्षेप नगर्न आग्रह गरिरहेको थियो ।

सडक र महानगर दुवै कानुनी प्रक्रियामा

महानगरका मेयर बालेन शाहका सचिवालयले भने सडक विभागको कदम विरुद्ध कानुनी कारबाहीमा जाने बताएको छ ।

‘वडावासी र स्थानीयको राय अनुसार नै काम गरेको हो । वडाका जनप्रतिनिधिहरुले यो विषयमा आफ्ना जनतासँग छलफल गर्छौं । त्यसपछि हामी कानुनी रुपमा र प्राविधिक रुपमा कसरी अगाडि बढ्ने निर्णय गर्छौं,’ मेयर बालेन प्रमुख स्वकीय सचिव भूपदेव शाहले भने ।

सडक कार्यालयका प्रवक्ता खतिवडा महानगरले विभाग मातहतको सडक काटेकाले कानुनी प्रक्रियामा अगाडि बढिसकेको बताए ।

‘हामीले सार्वजनिक सडक ऐन २०३१ को दफा ३० अनुसार कारबाहीको लागि प्रक्रियामा गइसकेका छौं । अब पिच काट्नु हुन्न भन्ने अपेक्षा छ । आज टालेको पिच फेरि काटिएमा कानुनी रुपमा नै अगाडि बढ्ने हो’, खतिवडाले भने ।

तस्वीर : विकास श्रेष्ठ र आर्यन धिमाल

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?