+
+

जीतपुर र कलैया उपमहानगरबीच सीमा विवाद

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २१ गते १९:२३

२१ जेठ, काठमाडौं । बाराको जीतपुर सिमरा र कलैया उपमहानगरपालिकाबीच सीमानाको विषयमा विवाद भएको छ ।

जीतपुर सिमराको वडा नं १८ र कलैयाको वडा नं २४ को सीमानामा पर्ने उचिडी आधारभूत स्वास्थ्य केन्द्रको जग्गा स्वामित्वको विषयलाई लिएर दुई पालिकाबीच विवाद भएको हो ।

उचिडीलाई दुवै पालिकाले आफ्नो क्षेत्रभित्र पर्ने दाबी गरेका छन् । उक्त ठाउँमा पहिल्यैदेखि नै जीतपुर सिमरा उपमहानगरले प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन गर्दै आएको थियो । सोही केन्द्रको पर्खाल लगाउने क्रममा कलैया उपमहानगरले हस्तक्षेप गरेको जीतपुर सिमरा उपमहानगर–१८ का वडाध्यक्ष चतुरबाबु वाग्लेले आरोप लगाए ।

‘यो ठाउँ हाम्रो वडा क्षेत्रभित्र पर्छ । त्यहाँ पहिल्यैदेखि हाम्रो पालिकाको आधारभूत स्वास्थ्य सेवा केन्द्र चलिरहेको छ’, वाग्लेले भने, ‘अहिले त्यहीं पर्खाल लगाउनेबेला अर्को पालिकाले नगर प्रहरी पठाएको छ ।’

उक्त ठाउँको नापजाँच गर्न शुक्रबार दिउँसो १ बजे दुवै पालिकाबीच सहमति भएको तर, सवा १ बजे कलैयाको नगर प्रहरीले हस्तक्षेप गरेको वडाध्यक्ष वाग्लेले दाबी गरे । ‘उहाँले नै अमिन पठाउने भनेपछि हामी १ बजेसम्म पर्खेका थियौं । तर, अमिनसँगै नगर प्रहरी पठाएर स्वास्थ्य सेवा केन्द्रको काम रोकियो’, उनले भने ।

जग्गा सीमानाको विषयमा कुनै विवाद भए दुवै पालिकाबीच बसेर सहमतिमा अघि बढ्न सकिनेमा कलैया उपमहानगरले शक्तिको दुरुपयोग गरेको जीतपुरको वडा नं १८ कार्यालयले जनाएको छ ।

‘स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा निर्माणाधीन भौतिक संरचनाको तोडफोड, अवरोध र हुलहुज्जत गरी अराजक गतिविधि गरी गैर–जिम्मेवारपूर्ण हर्कत पदीय मर्यादाविपरीत रहेको यस कार्यालयको ठहर छ’, वडा कार्यालयले विज्ञप्तिमा भनेको छ ।

पर्खाल निर्माणको काममा रोक लगाएको र तोडफोड गरेकाले कलैया उपमहानगरले क्षतिपूर्तिसमेत दिनुपर्ने जीतपुरसिमराले माग गरेको छ ।

अदालत जाने कलैयाको चेतावनी

कलैया उपमहानगरपालिकाले भने उचिडीको जग्गा विषयमा पहिल्यैदेखि विवाद रहेको र पालिकामा पनि उजुरी परेकाले नापचाँज गर्ने सहमति हुँदा हुँदै जीतपुर सिमराले अटेरी गरेको आरोप लगाएको छ ।

कलैया उपमहानगरका मेयर विनोदप्रसाद साहले शुक्रबार नै जग्गा नापजाँच गर्न ३ जना अमिन पठाएको तर जीतपुर सिमराको वडा नं ८ ले बलजफ्ती गरेको दाबी गरे । ‘मैले अमिन पनि पठाएको हो । वडाले नमानेपछि बल्ल काम रोक्न २५ जना नगर प्रहरी पठाएको हो’, उनले भने, ‘उहाँहरुले भनेजस्तो कुनै तोडफोड भएको होइन ।’

उक्त जग्गाको विषयमा पालिकामा उजुरी आएकाले नापजाँचका लागि आग्रह गरिएको मेयर साहको भनाइ छ । ‘त्यो जग्गा हाम्रो भए पछि त्यहाँ संरचना बनाउन अर्को पालिकाले हामीसँग अनुमति लिनुपर्छ । बिनाअनुमति काम भइरहेको छ भन्ने थाहा पाएपछि रोक्न पठाएको हो’, उनले भने ।

मेयर साहले उक्त जग्गा कलैया उपमहानगरकै क्षेत्रफलमा पर्ने भएकाले जग्गा प्राप्तिका लागि अदालत जाने तयारी रहेको सुनाए । ‘सहमतिमा जाऔं भनेकै हो, उहाँहरु नै सहमतिमा आउन चाहनुभएन । अब कानुनी उपचारमा जान्छौं’, उनले भने, ‘म मेरो क्षमताले भ्याएसम्म त्यहाँ कुनै पनि संरचना बनाउन दिन्नँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?