+
+

बालेनको प्रतिवादमा किन ओली आफैं अघि सरे ?

काठमाडौंको मेयरका रूपमा बालेनको २ वर्षको काम हेरेपछि ओलीलाई लागेको छ, उनलाई सम्झाउने कोही भएनन् । त्यसैले अराजकतातर्फ उन्मुख भए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २१ गते २०:४७

२१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएपछि आफूलाई भेट्न आएका बालेन शाहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले तबला उपहार दिए । ओलीका अनुसार उनको घरमा बेलाबेला सांगीतिक जमघटमा बजाउने तबला थियो त्यो । तर मेयर बालेनलाई त्यही उपहार पाए ।

ओलीको उपहारमा भर्खर जनप्रतिनिधि बनेका बालेनलाई ‘संगीतमा जस्तै राजनीतिमा पनि रियाज जरूरी छ’ भन्ने सन्देश लुकेको थियो । उनको विश्लेषण थियो, पोलिटिक्समा राम्रो रियाज गरे बालेन राम्रो राजनीतिज्ञ बन्न सक्छन् ।’

काठमाडौंको मेयरका रूपमा बालेनको २ वर्षको काम हेरेपछि ओलीलाई लागेको छ, उनलाई सम्झाउने कोही भएनन् । त्यसैले अराजकतातर्फ उन्मुख भए ।

सुनिता मौन, ओली आफैं बोले

बालेन स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरको मेयर निर्वाचित भएका हुन्, बाँकी जनप्रतिनिधि दलगत रूपमै आएका छन् । एमालेबाट उपमेयर सुनिता डंगोल छिन् भने १२ जना वडाध्यक्ष छन् । नेपाली कांग्रेसका १८ वडाध्यक्ष छन् । कार्यपालिका र नगर सभा दुवैमा कांग्रेसको बहुमत छ ।

तर मेयरसँग कार्यकारी अधिकार हुने भएकाले महानगरको कामकारबाहीमा बालेन हाबी छन् । ‘बहुमत विपक्षमा हुँदा पनि मेयरले आफ्नो अनुकूल निर्णय गर्ने गरेका छन्’ एमालेका एक नेता भन्छन्, ‘किनकि कांग्रेस र एमालेले एक–अर्कालाई हेर्छन्, केही बोल्दैनन् । त्यसको लाभ बालेनले लिइरहेका छन् ।’

एमालेबाट निर्वाचित उपमेयर सुनिता डंगोल समेत मौन बस्ने गरेको एमाले नेताहरूको गुनासो छ ।

एमाले काठमाडौं जिल्लाका एक पदाधिकारीका अनुसार उपमेयर डंगोलले आगामी स्थानीय तहको निर्वाचनमा मेयरमा उम्मेदवार बन्ने आकांक्षा राख्न थालेकी छन् । त्यसैले अहिले बालेनसँग किन विवाद गर्ने भन्ने लागेर उनी मौन बसेको भन्दै एमालेका एक नेता भन्छन्, ‘तर अर्को चुनावमा जाँदा जनताले हामीलाई एमाले के हेरेर बसेको थियो भनेर प्रश्न गर्छन्, त्यो बेला के भन्ने ?’

एमाले नेताहरूले उपमेयर र वडाध्यक्षहरूलाई बोलाएर बालेनबारे किन मौन भनेर प्रश्न गरेका थिए । त्यसको प्रभाव १८ जेठमा बसेको नगर कार्यपालिका बैठकमा देखियो ।

काठमाडौं २२ का वडाध्यक्ष चिनिकाजी महर्जनले न्यूरोड क्षेत्रको फुटपाथ विस्तार र आफ्नो वडाबाट केही फाइल लगेको विषयलाई लिएर मेयरको कार्यशैलीमाथि प्रश्न उठाए । मेयर र वडाध्यक्षबीच केहीबेर नोकझोंक समेत भयो ।

तर कसैले पनि न्युरोडमा फुटपाथ विस्तार गर्न सहमति नदिएको विरोधमा बालेनको निर्देशनमा महानगरले सडक कार्यालयको गेटमा फोहोर फालेको विषयमा प्रश्न गरेनन् । उपमेयर सुनिता डंगोल सहितका जनप्रतिनिधि मौन बसेपछि ओली आफैं अघि सरे ।

१९ जेठमा राष्ट्रिय युवा संघको कार्यक्रमा ओलीले बोलनको नाम नलिइ भने, ‘म छक्क पर्छु, कतिसारो कमजोर प्रवृत्ति भएको होला ? कसैले अर्काको ढोकामा लगेर फोहोर फ्याँकिदिन्छ, यो गलत गर्‍यौ भनेर कसैले भन्न सक्दैन ।’

‘उनीहरूको मण्डली छ, जसले जन्मिएछ एउटा बहादुर, क्या बात ! लेख्छ । अनि अरू चुप लागेर बस्छन् । यो आधुनिक सभ्य समाजलाई सुहाउँदो तरिका भएन, महत्वपूर्ण पदमा बसेको मानिसले गर्न मिल्ने व्यवहार होइन भन्न पनि सकिँदैन ? आजको योङ जेनेरेसनले त्यो कुरा भन्न सक्नु पर्दैन ?’

अराकजतावादीको बोलवाला हुन थालेको भन्दै उनले भने, ‘हामीले सम्झाउनुपर्छ । किनकि यो हामीले बाँचिरहेको समाज हो, हामीले बाँच्नुपर्ने समाज हो ।’

एमाले पोलिटब्युरो सदस्य एवं काठमाडौंका सहइन्चार्ज कृष्ण राई पनि ओलीले बालेनभन्दा पनि आफ्नै पार्टीका नेता कार्यकर्ताको भूमिकामाथि नै प्रश्न गरेको बताउँछन् । उनी भन्छन्, ‘उहाँले महानगरमा रहेका हाम्रा जनप्रतिनिधिहरूलाई प्रश्न गर्नु भएको हो, हामीलाई पनि प्रश्न गर्नु भएको हो ।’

त्यही बुझेर होला, आइतबार एमालेको स्थानीय कमिटीले न्युरोड केन्द्रित प्रदर्शन समेत गरेको छ । सुरुमा सिफलबाट भृकुटीमण्डपसम्म प्रदर्शन गर्ने पूर्व निर्धारित कार्यक्रम थियो । तर पार्टी अध्यक्ष ओलीले १९ जेठको भाषणपछि प्रदर्शनलाई भृकुटीमण्डपको साटो काठमाडौं महानगरको वडा नम्बर २२ तिर लगियो ।

बालेनको राजनीतिक प्रतिवाद

मेयर बालेन पनि प्रतिवादमै उत्रिएका छन् । उनले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा ओलीलाई नै सम्बोधन गरेर स्टाटस लेखे, जसमा ओलीमाथि गिरीबन्धु टी इस्टेटको जग्गा सट्टालाई लिएर गम्भीर आरोप लगाएका छन् ।

गिरीबन्धु टी इस्टेटको जग्गा सट्टा प्रयासको नीतिगत घोटलामा ओलीको सहभागिता रहेको भन्दै उनले त्यसलाई लुकाउन न्युरोडको विषय उछालेको दाबी गरेका छन् ।

‘यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थाल्नुभएछ’ बोलनले लेखेका छन्, ‘…अनि समयमै गिरीबन्धुमा पीडितको बैना फिर्ता गर्नुहोला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला ।’

न्युरोडको फुटपाथ विस्तारको विरोधमा सडक विभाग देखिए पनि भूमिका एमालेको रहेको बोलनको बुझाइ छ ।

महानगरका काममा एमालेको अवरोध रहेको भन्दै बालेन सचिवालयका एक अधिकारीले भने, ‘पहिले पार्किङको ठेक्का हटाउन हुँदैन, त्यसपछि पार्किङ हटाउन हुँदैन भनियो । त्यसपछि फुटपाथ बनाउन मिल्दैन भनियो । यो एमालेको स्वार्थमा भइरहेको छ ।’

तर कतिपय स्रोतहरू भने ओली लक्षित न्युरोडको विवादमा मात्रै सीमित नभएको बताउँछन् । भोलिका दिनमा दलीय राजनीतिमा आउने संकेत गरेका बालेनले ओलीमाथि प्रश्न उठाउँदै आफ्नो राजनीतिक स्पेस बनाउन खोजेको हुन सक्ने उनीहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?