+
+

गिरीबन्धुबारे कांग्रेसलाई एमालेको प्रश्न : कानुन बनाउँदा किन कुनै संशोधन प्रस्ताव गरिएन ?

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २२ गते १२:३०

२२ जेठ, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले गिरीबन्धु टि इस्टेटको जग्गा सट्टापट्टाको विषयमा सर्वोच्च अदालतको फैसलालाई लिएर आफ्नो पार्टी र अध्यक्ष केपी शर्मा ओलीमाथि आक्षेप लगाउने प्रयास भएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभामा विशेष समयमा लिएर उनले यस्तो बताएका हुन् । पार्टीको संसदीय दलको छलफलमा आधारमा तय गरेका विषय राख्न खोजेको भन्दै सचिव भट्टराईले गिरीबन्धुबारे भएका काम कानुनअनुसार भएको र कानुन बनाउँदा कांग्रेसको तर्फबाट कुनै संशोधन प्रस्ताव नभएको बताए ।

कांग्रेसले आफूतिर लागेका आरोप पन्छाउन अर्कोमाथि आरोप लगाउने काम गरेको उनको आरोप छ ।

‘गाउँतिर एउटा उखान छ काक्रा आफू खाने बियाँ अर्काको गालामा टाँसिदिने । नेपाली कांग्रेसले यस्तै गरिराखया छ,’ सचिव भट्टराईले भने, ‘नेपाली कांग्रेसको अनुहारमा कालो पोतिएको होला । ऐन पुछेर हुँदैन । पछिल्लो समय त कांग्रेसका साथीहरु ऐन फुटाउनेतिर नै जानुभएको हो कि भन्ने लाग्छ । ऐना एक ठाउँको फुट्ला, पसलैपिच्छे ऐना छन् । त्यसैले सबै ऐन फुटाउन सकिँदैन् ।’

कांग्रेसले आफूमाथि लागेका आरोपहरु पन्छाउन गिरीबन्धुको विषय उठाइएको उनको टिप्पणी छ ।

‘आज गिरीबन्धुको विषय उठाइएको छ । यही संसद हो जहाँबाट कानुन बनाउनका निम्ति सम्मानित सर्वोच्च अदालतको आदेश बमोजिम यो संसदले कानुन बनायो त्यो हामी सबैलाइ थाहा छ,’ भट्टराईले भने, ‘त्यो कानुन बनाउँदा कुनै पनि राजनीतिक दलको त्यसमा विमति थिएन । नेपाली कांग्रेसको पनि त्यसमा कुनै संशोधन प्रस्ताव थिएन । हामी सबैले मिलेर त्यो कानुन बनाएका हौं ।’

उक्त कानुन कार्यान्वयन गर्ने क्रममा के कमिकमजोरी भएको भनेर अदालतले औंल्याएको र तयसलाइ एमालेले सम्मान गर्ने उनले बताए ।

तर, यो विषयलाई आफ्नो पार्टी र पार्टी अध्यक्षमाथि प्रश्न उठाइएकोमा उनको आपत्ति छ । ‘अहिले यो विषय उठाएर हाम्रो पार्टीमाथि, हाम्रो अध्यक्षमाथि जसरी नियोजित ढंगले हस्ताक्षेप गर्ने, प्रचार गर्ने, आरोप लगाउने जुन खालका षडयन्त्रहरु भएका छन्,’ भट्टराईले भने, ‘हामी सदन समक्ष भन्न चाहन्छौं-२०४६ साल पछाडिका वा अगाडि कुन कुन बेलाको छानबिन गर्नुपर्ने हो एमाले प्रत्येक छानबिनका लागि तयार छ । ऐनसेलको गर्ने हो कि, टेरामक्सको गर्ने होकि, बाँसबारीको गर्ने हो कि, कोहलपुरको गर्ने हो कि, बालमन्दिरको गर्ने हो कि, वालुवाटारको गर्ने हो ।’

कांग्रेसका सांसदहरू विभिन्न भ्रष्टाचारमा मुछिएको उनले आरोप लगाए । ‘एमाले त्यो पार्टी हो जसले अख्तियारमा भ्रष्टचारीको आरोपमा बयान दिन जानु परेको छैन । पार्टीको केन्द्रीय समितिमा दायाँ र बायाँ दाग लागेका मान्छेलाई राखेर बैठक गर्नुपर्ने बाध्यता एमालेलाई छैन ।’

उनले अफ्ताव आलमको विषय पनि सम्झिए । उनले भने, ‘ज्यूँदै मानिसलाई इट्टाको भटटीमा पोल्ने त्यो सम्मको हर्कत एमालेले आज होइन, दुई सय वर्ष पछाडि पनि गर्दैन ।’

भ्रष्टाचार र अपराध गर्ने छुट कसैलाई नहुने र त्यस्तो छुट एमालेले पनि लिन नचाहने उनको भनाइ छ ।

‘कुनै पनि अपराधमा चारतारे झण्डा ओढोस्, हसिया हथौडाको झण्डा ओढोस्, घण्टी बजाओस्, हलो बोकोस् त्यो कसैलाई पनि छुट छैन् । त्यो छुट एमाले पनि लिन चाहँदैन् । हामी प्रत्येक विषयमा छानबिनका लागि तयार छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?