+
+

चीनले रच्यो इतिहास, चन्द्रमाको दक्षिणी ध्रुवमा दोस्रोपटक यान अवतरण

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २२ गते १३:३१

चीनले चन्द्रमाको दक्षिणी ध्रुव एटकेन बेसिनमा दोस्रोपटक अन्तरिक्ष यान अवतरण गराएर इतिहास रचेको छ ।

चीनले पृथ्वीबाट देख्न नसकिने उक्त चन्द्र सतहमा दोस्रोपटक आफ्नो मानवरहित अन्तरिक्ष यान सफलतापूर्वक अवतरण गराएको हो । उसले पहिलोपटक सन् २०१९ मा आफ्नो चांग इ ४ यानलाई त्यहाँ अवतरण गराएको थियो ।

अहिलेसम्म यो अज्ञात स्थानमा अन्य कुनै पनि देशले आफ्नो यान पठाउने कोसिस गरेका छैनन् ।

चाइना नेसनल स्पेस एडमिनिस्ट्रेसन (सीएनएसए)का अनुसार चिनियाँ समय अनुसार आइतबार बिहान ६:२३ मा चांग इ ६ अन्तरीक्षयान चन्द्रमाको दक्षिणी ध्रुव एटकेन बेसिनमा अवतरण गरेको हो ।

गत मे ३ मा प्रक्षेपण गरिएको उक्त मिसनको लक्ष्य उक्त क्षेत्रबाट दुर्लभ चट्टान तथा माटो जम्मा गर्नु रहेको छ ।

यो मिसनले चन्द्रमाको दक्षिणी ध्रुवस्थित एउटा विशाल खाडलभित्रका केही सबैभन्दा पुराना चट्टानबाट सामग्रीहरू बाहिर निकाल्ने काम गर्नेछ।

जोखिमयुक्त अवतरण

उक्त अवतरण जोखिमयुक्त थियो किनकि चन्द्रमाको यो हिस्सामा पुगेपश्चात् अन्तरिक्ष यानसँग सञ्चार गर्नु निकै कठिन हुन्छ ।

वेनचांग स्पेस लञ्च सेन्टरबाट प्रक्षेपण पश्चात् चांग इ ६ अन्तरिक्ष यानले अवतरणभन्दा अगाडि चन्द्रमाको परिक्रमा गरेको थियो । त्यसपछि मिसनको ल्याण्डरको एउटा भाग चन्द्रमाको दक्षिणी ध्रुव एटकेन बेसिनमा अवतरणका लागि अर्बिटरबाट छुट्टियो ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार उक्त मिसनमा एउटा यस्तो प्रणालीको प्रयोग गरिएको छ जहाँ चन्द्रमाको सतहमा अवतरण गरेपश्चात् यान आफैंले समस्याहरु पत्ता लगाएर त्यसको समाधान गर्न सक्छ ।

यसमा रहेको भिजिबल लाइट क्यामेराले चन्द्रमाको सतहको चमक तथा अँध्यारोको आधारमा तुलनात्मक रुपबाट सुरक्षित अवतरण क्षेत्र छान्दछ ।

अवतरणभन्दा अगाडि ल्याण्डर सुरक्षित अवतरण क्षेत्रभन्दा करिब १०० मिटर माथि केही समयसम्म उडिरह्यो । ल्याण्डरले सुस्त गतिमा तल अवतरण गर्नुअघि एउटा थ्री डी लेजर स्क्यानरको प्रयोग गर्‍यो ।

सिएनएसएका अनुसार क्युकियाओ २ रिले स्याटेलाइटले उक्त अपरेसनमा सहयोग गरेको छ ।

चिनियाँ मिडियाले सफल अवतरणलाई ऐतिहासिक क्षण भएको बताएका छन् । सिन्ह्वाले भनेको छ- आइतबार बिहान जब चांग इ ६ यान चन्द्रमामा अवतरण भयो तब बेइजिंग एयरोस्पेस फ्लाइट कन्ट्रोल सेन्टरमा तालीको गडगहाहट भयो ।

चट्टानको विश्लेषण हुने

सिएनएसएका अनुसार ल्याण्डरलाई सतहबाट सामग्रीहरु संकलन गर्नका लागि तीन दिन सम्मको समय लाग्नेछ । यसमा विभिन्न नयाँ खोज, खतरा तथा ठुला समस्याहरु सामेल हुनेछन् ।

म्यानचेस्टर विश्वविद्यालयका प्राध्यापक जोन पर्नेट फिसर भन्छन् – हामी सबै निकै उत्साहित छौं । किनकि हामीले यस्ता चट्टानहरू हेर्न पाउनेछौं जो यसअघि कसैले पनि देखेको छैन ।

फिसर तिनै वैज्ञानिक हुन् जसले नासाको एपोलो मिसन तथा पछिल्लो चिनियाँ मिसनबाट ल्याइएका चन्द्र चट्टानहरूको अनुसन्धान र विश्लेषण गरेका थिए ।

तर अब चन्द्रमाको नितान्त नयाँ क्षेत्रबाट ल्याइएका चट्टानको अध्ययन गर्ने मौका मिल्नेछ, जुन फरक छ । उक्त अध्ययनबाट ग्रहको उत्पत्ति तथा निर्माण जस्ता अधारभूत प्रश्नहरूको जवाफ मिल्न सक्छ ।

अहिलेसम्म संकलन गरिएका अधिकांश चट्टानहरू ज्वालामुखी चट्टान रहेका छन्, जुन आइसल्याण्ड वा हवाई टापुमा पनि पाइन्छन् ।

तर, चन्द्रमाको यस्तो अज्ञात हिस्साबाट ल्याइएका सामाग्रीहरुमा फरक खालको रसायशास्त्र हुनसक्छ ।

प्राध्यापक फिसर भन्छन् – ग्रह कसरी बन्दछन् ? पत्रहरु किन बन्दछन् ? सौर्य मण्डलमा पानीको उत्पत्ति कसरी भयो ? भन्ने खालका महत्वपूर्ण प्रश्नहरूको जवाफ खोज्नमा त्यहाँबाट ल्याइएका सामग्रीहरुले हामीलाई सहयोग गर्नेछन् ।

चिनियाँ अन्तरिक्ष एजेन्सीका अनुसार मिसनको लक्ष्य एक ड्रिल तथा मेकानिकल हात प्रयोग गरी चन्द्रमाको दक्षिण ध्रुवबाट करिब २ केजी सामग्री संकलन गरेर पृथ्वीमा ल्याउनु रहेको छ ।

दक्षिणी ध्रुव एटकेन बेसिन चन्द्र सतहमा विद्यमान सबैभन्दा ठूलो खाडलमध्ये एक हो ।

प्राध्यापक फिसरका अनुसार रोबोटले त्यस क्षेत्रबाट ती सामाग्रीहरु संकलन गर्नसक्छ जो चन्द्रमाको आन्तरिक पत्र अर्थात् कोरबाट आउँछन् ।

जीवनको खोजी

चन्द्रमाको दक्षिणी ध्रुवमा खासै अध्ययन हुन सकेको छैन । सबै देशहरू यो क्षेत्रलाई बुझ्न इच्छुक छन् किनकि त्यहाँ बरफ हुने सम्भावना छ ।

चन्द्रमामा पानी फेला पर्‍यो भने त्यसले वैज्ञानिक अनुसन्धानका लागि चन्द्रमामा सफलतापूर्वक मानव वस्ती बनाउने सम्भावना बढ्नेछ ।

यदि मिसन सफल भएमा अन्तरीक्षयान दुर्लभ नमूनाहरु लिएर पृथ्वीमा आउनेछ । चन्द्रमाबाट ल्याइएका सामाग्रीहरूलाई उही अवस्थामा राख्नका लागि विशेष तरिकाले राखिनेछ ।

चन्द्रमाबाट ल्याइएका चट्टानहरुको विश्लेषण गर्ने मौका सबैभन्दा पहिले चिनियाँ वैज्ञानिकहरुलाई प्राप्त हुनेछ । त्यसपछि विश्वका शोधकर्ताहरुले यसका लागि आवेदन गर्न सक्नेछन् ।

चीनले चन्द्रमाको सतहबाट नमूना संकलन गर्नका लागि अन्तरिक्ष यान पठाएको यो दोस्रोपटक हो । सन् २०२० मा चांग ई ५ अन्तरिक्षयानले चन्द्रमाको ओसनस प्रोसेलरम नामक क्षेत्रबाट करिब १.७ केजी सामग्री संकलन गरेर ल्याएको थियो ।

चीनले यो दशकमा तीनवटा थप मानवरहित यानहरु चन्द्रमामा प्रक्षेपण गर्ने योजना बनाएको छ । जसको सहयोगबाट चीनले चन्द्रमामा पानीको खोजी गरी त्यहाँ एउटा स्थानीय बेस स्थापित गर्न चाहन्छ ।

सन् २०२३ सम्म आफ्ना अन्तरिक्षयात्रीलाई चन्द्रमामा उतार्ने लक्ष्य चीनको छ ।

उता अमेरिकाको लक्ष्य पनि चन्द्रमामा अन्तरिक्षयात्री पठाउनु रहेको छ । यसका लागि नासाले सन् २०२६ मा आफ्नो आर्टेमिस थ्री मिसन प्रक्षेपण गर्नेछ ।

– बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?