+
+

पूर्वडीएसपी शर्मालाई दुर्व्यवहार गर्ने दुईजना ८० हजार धरौटीमा छुटे

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २२ गते १२:४३

२२ जेठ, काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णप्रसाद शर्मालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका दुई जना धरौटीमा छुटेका छन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले रसुवाका मिलन लामा भनिने दिलबहादुर गङदान र सिुन्धुपाल्चोकका सागर सिंह योञ्जनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतको आदेशअनुसार मिलन ५० हजार रुपैयाँ र सागर ३० हजार धरौटी बुझाएपछि प्रहरी वृत्त गौशालाबाट छुटेको डीएसपी केशव थेबेले बताए ।

ठेक्कापट्टाको काम गर्ने लामाले ९ वैशाखको साँझ पशुपति क्षेत्र विकास कोषमा आउन भन्दै बोलाएर दुर्व्यवहार गरेका थिए । शर्माले प्रहरी कहाँ दिएको जाहेरीमा उल्लेख भएअनुसार उनीहरूले दुर्गा प्रसाईंको विरोधमा किन अभिव्यक्ति दिएको भन्दै लछारपछार गर्दै दुर्व्यवहार गरेका थिए ।

पक्राउ परेपछि प्रहरीसँग बयान दिने क्रममा लामाले आफू एक वर्षदेखि दुर्गा प्रसाईं संयोजक रहेको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानको सचिवालय सदस्यका रूपमा काम गर्दै आएको भनेका छन् ।

पहिले शर्मा आफूहरूसँगै काम गरेको र हौसलासमेत दिने गरेको उनले भनेका छन् । तर पछिल्लो समय एक अन्तर्वार्तामा प्रसाईंविरुद्ध अभिव्यक्ति दिएकाले भेट्न बोलाएको उनले भनेका छन् । त्यसपछि आफूले दुर्व्यवहार गरेको उनले स्वीकारेका छन् ।

अर्का आरोपी सागर पनि उनका साथी हुन् । उनले पनि पूर्वडीएसपी शर्मालाई दुर्व्यवहार गर्दा आफू साथमै भएको र मोबाइलबाट भिडियो बनाउनु भनेकाले खिचेको बताएका छन् । पछि भिडियो सामाजिक सञ्जालमा नहाल्ने र यसै विषयलाई लिएर कुनै उजुर नगर्ने दुई पक्षबीच मौखिक सहमति भएर निस्किएको उनले दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?