
२२ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सरकारको भ्रष्टाचार विरोधी अभियानमा सुस्तता आएको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकम विशेष समयमा बोल्दै उनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले डेढ वर्षको अवधिमा सुशासन, समृद्धि सामाजिक न्यायको कार्यभार पूरा गर्ने प्रयास गरेको तर हाल सुस्तता आएको बताएका हुन् ।
उनी भन्छन्, ‘डेढ वर्षमा सुशासन, समृद्धि र सामाजिक न्यायको आधार तयार भएको छ । भ्रष्टाचार विरोधी अभियानले एक समयमा साच्चिकै जनतामा उत्साह र उर्जा पैदा गरेको थियो । जनतामा नयाँ आशा जगाएको थियो ।’
संस्थागत भ्रष्टाचारका फाइल खोलिएका र तिनलाई किनारा लगाउन बाँकी रहेको उनले बताए । साथै नयाँ फाइल पनि खोल्नुपर्ने उनको भनाइ छ ।
‘साच्चिकै देखिएका भ्रष्टाचार विरोधी अभियानले संस्थागत भ्रष्टाचारका फाइलहरु खुलेका थिए । ती संस्थागत फाइलहरु जो खुलेका थिए तिनलाई किनारा लगाउनुपर्ने हुन्छ । जो खोल्न बाँकी छन् तिनलाई खोल्नुपर्छ’ उनले भने ।
खोलिएका फाइल किनारा लगाउने र भ्रष्टाचारका नयाँ फाइल खोल्दा जनतामा पैदा भएको उत्साह र उर्जालाई अझ बढी कायम राख्ने उनको विश्वास छ । तर, भ्रष्टाचार विरोधी अभियानमा सुस्तता आएको महसुस भएको उनले बताए ।
‘पछिल्लो समय अलि सुस्तता देखिएको भ्रष्टाचार विरोधी अभियान जो एकताका बहसको विषय बनेको थियो । सदनको बहसको विषय बनेको थियो । राजनीतिक दल र बुद्धिजीविहरुबीच बहसको विषय बनेको थियो । यसलाई फेरि नयाँ ढंगले तिब्रतामा लैजानैपर्छ’, दाहालले भने ।
यसका लागि संसदमा पनि वातावरण बनाइनुपर्ने उनले बताए । संसदमा कुनै विषय उठाउने र संसदमा अवरोध गने शैली बदलिनुपर्ने उनको माग छ ।
प्रतिक्रिया 4