+
+

संसद्लाई कम्युनिस्ट पार्टीको ब्यारेक जस्तो बनाइयो : कांग्रेस सांसद कोइराला

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २२ गते १३:१९

२२ जेठ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद रमा कोइरालाले सहकारीको रकम अपचलनको विषयमा गृहमन्त्रीमाथि संसदीय छानबिनको माग गर्दै कांग्रेसले संसद् अवरोध गरेका बेला सत्तारुढ दलको भूमिकामाथि प्रश्न उठाएकी छन् ।

उनले कांग्रेसले वेल घेराउ गरेर शान्तिपूर्ण रूपमा संसद् अवरोध गर्दा देखिएको दृश्यले कम्युनिस्ट शासनको रिहर्सल गर्न खोजेको जस्तो देखिएको बताएकी हुन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै उनले भनिन्, ‘शान्तिपूर्ण तरिकाले वेल घेराउ गरिरहँदा यस्तो दृश्य देखियो जुन दृश्यले दुनियाँ हाँसेको छ । यो संसद् लोकतान्त्रिक मुलुकको संसद् थियो कि एउटा कम्युनिस्ट पार्टीले सञ्चालन गर्ने ब्यारेक थियो मैले बुझ्न सकिनँ ।’

गृहमन्त्रीमाथि छानबिनको माग गरेर कांग्रेसले अवरोध गरेका बेला सभामुख देवराज घिमिरेले संसद्लाई कार्यसूचीमा अगाडि बढाएका थिए भने सत्तारुढ दलका सांसदहरुले वेलमा बाटो बनाउँदै प्रधानमन्त्री र मन्त्रीलाई रोष्ट्रममा पुर्‍याएका थिए ।

सांसद कोइरालाले त्यो घटना कम्युनिस्टहरुको शासन चलाउने रिहर्सल त होइन भन्ने प्रश्न गर्दै आगामी दिनमा यस्तो नगर्न आग्रह गरेकी छन् ।

लामो रस्साकस्सीपछि संसद्ले सहकारीको रकम अपचलन छानबिन गर्न संसदीय समिति गठन गर्नुका साथै त्यसको टीओआर पनि टुंग्याएको भन्दै त्यसलाई फेर्ने कोशिश नगर्न पनि उनले आग्रह गरेकी छन् ।

‘आज विद्वान् माननीयज्यूले टीओआर त समितिले बनाउँछ भन्ने अभिव्यक्ति दिनुभयो’ सांसद कोइरालाले भनिन्, ‘संसद् भन्दा समिति ठूलो हुन सक्दैन, कदापि पनि यो समितिको कार्यक्षेत्रलाई अदलबदल गर्ने प्रयत्न गर्‍यो भने त्यसको मूल्य चुकाउनुपर्छ ।’

गृहमन्त्री रवि लामिछानेले लगाएको आरोपबारे छानबिन गर्न माग गर्दै कांग्रेस उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापाले दिएको निवेदनमाथि कारबाही अगाडि बढाउन पनि उनले सभामुखलाई आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?