+
+

प्रहरीको अनुसन्धान प्रतिवेदन भन्छ, ‘सिधा कुराले प्रसारण गरेको अडियो झुटो’

सिधा कुरामा पठाइएको अडियो फाइल दुई वर्षअघिको नभई ५ वैशाख २०८१ मा राजकुमार तिमिल्सिनाको स्मार्टफोनमा रेकर्ड गरेको निष्कर्ष सीआईबीले निकालेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २२ गते १३:५९

२२ जेठ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सिधा कुराबाट प्रसारण भएको सर्वोच्च अदालतको फैसलासम्बन्धी अडियो रेकर्डलाई ‘झुटो र बनिबनाउ’ भन्ने निष्कर्ष निकालेको छ ।

सर्वोच्च अदालतको आदेशपछि सीआईबीले डीआईजी नविन्द अर्यालको नेतृत्वमा ६ सदस्यीय अनुसन्धान टोली गठन गरेको थियो । टोलीले दुई साता लगाएर गरेको अनुसन्धानले अडियोमा उल्लेख गरिएको विवरण यथार्थ नरहेको निष्कर्ष निकालेको हो ।

सीआईबीले उक्त अडियो युट्युबमा प्रसारण गरेका कारण तीन कानुन आकर्षित हुने निष्कर्ष निकालेको छ । उसले विद्युतीय कारोबार ऐन २०६३ को कम्प्युटरसम्बन्धी कसुर, मुलुकी अपराध संहिताको न्यायविरुद्ध कसुर आकर्षित हुने भनेको छ ।

सीआईबीले मुलुकी अपराध संहिता ऐनकै भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुर अमानवीय व्यवहारसम्बन्धी कसुर पनि आकर्षित हुने निष्कर्ष निकालेको हो । सीआईबीको उक्त प्रतिवेदन सर्वोच्च अदालतमा पेस भइसकेको छ ।

सिधा कुरा अनलाइनले सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन एक मुद्दा प्रभावित पार्न न्यायाधीश, मिडिया सञ्चालक र कानुन व्यवसायीहरूले भेटघाट गरेको दाबी गरिएको अडियो सार्वजनिक गरेको थियो ।

अदालतको अवहेलनासम्बन्धी कारबाही अघि बढेपछि गोदावरीका राजकुमार तिमिल्सिनाले तीन वर्षअघि आफूले अडियो रेकर्ड गरेको र त्यही अडियो उक्त अनलाइनका सञ्चालक एवं संवाददाताहरूलाई पठाएको दाबी गरेका थिए ।

सीआईबीले के भन्यो ?

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उक्त अडियोको विश्वसनीयता परीक्षणका लागि त्यहाँ नाम जोडिएका मिडिया सञ्चालकको आवाजको नमुना लिनुका साथै उनीहरूको ‘घटना विवरण कागज’ गरेको थियो । उनीरूरु सबैले अहिलेसम्म आवाज रेकर्ड गरेको भनिएको अन्नपूर्ण पोष्टको कार्यालयमा नगएको दाबी गरेका थिए ।

अडियो रेकर्ड गर्ने राजकुमार तिमिल्सिनाले आफूले ३० चैत २०७७ को बेलुकी ५ बजेपछि अडियो रेकर्ड गरेको दाबी गरेका थिए । त्यसलगत्तै अख्तियारमा कार्यरत एसपी सञ्जय थापालाई घटनाबारे बताएको जिकिर गरेका थिए । अनुसन्धानका क्रममा सीआईबी पुगेका एसपी थापाले आफूलाई उनले कुनै फोन नगरेको र अडियोका बारेमा कुराकानी पनि नगरेको बताए ।

राजकुमार तिमिल्सिनाले ५ वैशाख २०८१ मा मात्रै सिधाकुरामा अडियो इमेल गरेको देखिन्छ । उनीहरूले त्यही इमेलमा रहेको अडियो अर्को साता प्रसारण गरेका थिए । प्रहरीले इमेलबाट आदानप्रदान भएको अडियो, राजकुमार तिमिल्सिनाको मोबाइल र अडियो भएको अर्को पेन ड्राइभको डिजिटल फरेन्सिक परीक्षण गरेको थियो ।

अनुसन्धान टोलीले अडियो रेकर्ड गर्ने राजकुमार तिमिल्सिनाको आवाज अडियोसँग हुबहु मिले पनि उनले नाम मुछेका अरू व्यक्तिको अडियो भने ‘पहिचान हुन नसकेको’ निष्कर्ष निकालेको छ । तिमिल्सिनाले तीन वर्षअघि रेकर्ड गरिएको मोबाइलबाट झापाको विर्तामोडमा रहेको मोबाइल पसलबाट फाइल सारेको र त्यतिबेलाको फोन हराएको बताएका थिए ।

सीआईबीले इलाका प्रहरी कार्यालय, विर्तामोडबाट प्रहरी परिचालन गरेर त्यहाँ रहेका मोबाइल पसलहरूमा राजकुमार तिमिल्सिना बारेमा सोधपुछ गरेको थियो । उनीहरू कसैले पनि आफ्नोमा तिमिल्सिना नआएको र उनलाई नचिन्ने भनी दिएको जवाफ सहितको विवरण इलाका प्रहरी कार्यालयले सीआईबीमा पठाएको थियो । प्रतिवेदनमा भनिएको छ, ‘निजले झुटो विवरण लेखाइदिएको देखिन्छ ।’

राजकुमार तिमिल्सिनाले आफूले अधिवक्ता किशोरकुमार विष्टलाई अन्नपूर्ण पोष्टमा भेटेको र त्यहाँ अर्को किशोर विष्ट नाम गरेका व्यक्तिसमेत रहेको दाबी गरेका थिए । तर अनुसन्धानका क्रममा त्यहाँ अधिवक्ता विष्ट नपुगेको र किशोर विष्ट भन्ने अर्को व्यक्तिसमेत नभएको सीआईबीको निष्कर्ष छ ।

सीआईबीको प्रतिवेदनमा भनिएको छ, ‘राजकुमार तिमिल्सिनाले घटना विवरण कागज गर्दा खुलाएको किशोर विष्ट भन्ने व्यक्तिको संवादमा गरिएको कुराकानीको विषयमा निजको उपस्थितिको औचित्य पुष्टि हुने आधार नदेखिएको ।’

बिहान रेकर्ड, बेलुकी इमेल

सीआईबीले अनुसन्धान गरेका दुई फाइलमध्ये एउटामा उल्लेखित मिति हेर्दा १९ फागुन २०७७ मा रेकर्ड भएको मिति राखिएको विश्लेषण गरेको छ । राजकुमार तिमिल्सिनाकै मोबाइल पनि सीआईबीले अनुसन्धान गरेको थियो । मोबाइलमा भेटिएको एउटा अडियो फाइल ५ वैशाख २०८१ को बिहान सवा ६ बजे त्यही मोबाइलमा नै रेकर्ड भएको खुलेको छ ।

राजकुमार तिमिल्सिनाले झापा गएको बेला मोबाइल पसलमा अर्को फोनको अडियो कपी गरेको दाबी गरे पनि त्यो झुटो रहेको सीआईबीको निष्कर्ष छ । सीआईबीले उनको मोबाइलको अडियो फाइल उनले इमेल पठाउने दिन नै डाउनलोन गरेको निष्कर्ष निकालेको छ । प्रतिवेदनमा भनिएको छ, ‘निजले घटना विवरण कागजमा खुलाएको व्यहोरा झुटो देखिएको ।’

पेन ड्राइभको अडियो क्लिप, इमेल र मोबाइल फोनमा रेकर्ड भएको अडियोको विश्लेषण गरेको सीआईबीले सिधा कुरामा पठाइएको अडियो फाइल दुई वर्षअघिको नभई ५ वैशाख २०८१ मा राजकुमार तिमिल्सिनाको स्मार्टफोनमा रेकर्ड गरेको निष्कर्ष निकालेको छ ।

दुई वर्षअघि अन्नपूर्ण पोष्टको कार्यालयमा पुरानो चाइनिज मोबाइलमा अडियो रेकर्ड गरेको, झापा गएका बेला त्यो अडियोलाई अर्को मोबाइलमा सारेको भन्ने राजकुमार तिमिल्सिनाको दाबी र अदालतमा गरेको बयानलाई सीआईबीले झुटो भनी निष्कर्ष निकालेको हो ।

सर्वोच्च अदालतले उक्त अडियो रेकर्डका क्रममा ‘फौजदारी कानुन उल्लंघन भएको देखिएमा कानुन बमोजिम कारबाही अघि बढाउनू’ भनी सीआईबीलाई निर्देशन दिएको थियो ।

सीआईबीले त्यसबारे केही बोलेको छैन । तर ‘फौजदारी कानुन उल्लंघनका सम्बन्धमा’ भन्दै तीनवटा कानुनी प्रावधान आकर्षित हुने देखिएको निष्कर्ष निकालेको छ । उक्त सामग्रीले घृणा र द्वेष फैलाउने काम गरेको कसुर गरेको, झुटा प्रमाण बनाएको अनि अपमानजनक र अमानवीय व्यवहार गरेकामा कारबाही हुने कानुनी प्रावधानलाई प्रतिवेदनमा समावेश गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?