+

अफगास्तिान जितको सुत्र  : गुरबाज र इब्राहिमको पार्टनरसिप, फारुकीका घातक बलिङ

२०८१ जेठ  २२ गते १३:५५ २०८१ जेठ २२ गते १३:५५
अफगास्तिान जितको सुत्र  : गुरबाज र इब्राहिमको पार्टनरसिप, फारुकीका घातक बलिङ

२२ जेठ, काठमाडौं । टी–२० विश्वकप २०२४ मा अफगानिस्तानले सानदार सुरुवात गरेको छ । समूह ‘सी’मा रहेको अफगानिस्तानले आफ्नो पहिलो खेलमा मंगलबार युगाण्डामाथि १२५ रनको फराकिलो जित निकाल्यो ।

अफगानिस्तानको जितमा तीन खेलाडी मुख्य नायक रहे । ब्याटिङतर्फ रहमान्नुलाह गुरबाज र इब्राहिम जार्दनको मुख्य भूमिका रह्यो । उनीहरूले १५४ रनको उत्कृष्ट साझेदारी गर्दै अफगानिस्तानले उच्च स्कोरतर्फ अघि बढाएका थिए ।

बलिङतर्फ फजलहक फारुकी चम्किए । घातक बलिङ गरेका फारुकीको नाममा पाँच विकेट रह्यो ।

तीन खेलाडीको उत्कृष्ट प्रदर्शनमा अफगानिस्तानले युगाण्डामाथि १२५ रनको जित निकाल्यो ।

गुरबाज र इब्राहिमको प्रदर्शन

प्रोभिडेन्स रंगशालामा टस हारेर पहिले ब्याङि गरेको अफगानिस्तानले ५ विकेटको क्षतिमा १८३ रन बनायो ।

उसका लागि ओपनरद्वय गुरबाज र इब्राहिमले बिस्फोटक इनिङ खेल्दै १४ ओभरसम्म १८ बाउन्ड्री हानेका थिए । गुबार्जले ४५ बलमा ७६ रन बनाए । इब्राहिमले ९ चौका र एक छक्का हान्दै ४६ बलमा ७० रन बनाएका थिए ।

सुरुदेखि नै आक्रामक इनिङ खेलेका इब्राहिमले मिडअनमा केयुटालाई आफ्नो पहिलो बाउन्ड्रीमा प्रहार गरेका थिए । ५.१ ओभरमा अफगानिस्तानले ५० रन पूरा गर्‍यो । छैठौं ओभरमा दिनेश नाक्रानीलाई लगातार चार चौका प्रहार गरे र अफगानिस्तानले पावर–प्ले विना विकेट ६६ रन बनायो ।

गुरबाजले नवौं ओभरमा आफ्नो आठौं टी–२० अर्धशतक बनाए । १२औं ओभरमा इब्राहिमले पनि टी–२० मासातौं अर्धशतक पूरा गरे । युगाण्डाका बिलाल हसनलाई १४ औं ओभर कठिन निकै खराब रह्यो । यो ओभरमा उनले ५ वाइड फालेका थिए, नो बलमा इब्राहिमले चौका हाने । उनले १४ ओभरमा मात्रै २५ रन खर्चिए ।

१५औं ओभरमा भने यो साझेदारी टुट्यो । ब्रयन मासाबाले इब्राहिमको विकेट लिए । अर्को ओभरको पहिलो बलमा गुरबाजलाई युगाण्डाका बायाँ हाते स्पिनर अल्पेश रामजानीले आउट गराए । रामजानीको बलमा लङ–अफ बाउन्ड्रीभन्दा बाहिर रियाजत अलीले क्याच गरेपछि गुरबाज आउट भएका थिए ।

अन्तिम ६ ओभरमा ५ विकेट गुमाएर ३१ रन मात्रै जोडेपछि अफगानिस्तान २०० रनभन्दा कममै रोकियो ।

स्पिन बलिङ गर्ने युगान्डाका कप्तान मसाबासँगै फास्ट बलर कोस्मास क्यूउटाले दुई/दुई विकेट लिए ।

पावर–प्लेमै युगाण्डा ध्वस्त

जवाफी ब्याटिङमा उत्रिएको युगाण्डा सुरुदेखि नै दबाबमा आयो । पावरप्लेमा फारुकी र नवीनले दुई–दुई विकेट लिएपछि युगान्डाले ५ विकेट गुमाउँदा जम्मा १८ रन मात्र बनाएको थियो ।

फारुकीले पहिलो ओभरमा रोनक पटेल र रोजर मुकासालाई लगातार विकेट लिएका थिए । पहिलो ओभरको दोस्रो बलमा फारुकीले पटेललाई बोल्ड गरे भने तेस्रो बलमा फारुकीले मुकासलाई एलबीडब्लू धरापमा पारेका थिए ।

दोस्रो ओभरको चौथो बलमा मुजिब उर रहमानले सिमोन सेसाजीको विकेट लिए । रहमानको बलमा फजलहक फारुकीले क्याच गरेपछि सिमोन आउट भएका थिए ।

पावर–प्लेको चौथो ओभरको दोस्रो बलमा नवीन उल हकको बलमा दिनेश नकार्नी आउट भए । उनी ८ बलमा ६ बनाउँदै आउट भएका थिए । चौथो ओरभकै चौथो बलमा अल्फेस रामजानीलाई गुलबदिन नायबबाट नवीनले क्याच आउट गराए ।

पावर–प्लेमा ५ विकेट गुमाउँदै युगाण्डाले जम्मा २१ रन जोडेको थियो ।

फारुकीको नाममा पाँच विकेट

रियाजत अल साह र रोबिन्सन ओबुयाले छैटौं विकेटका लागि २९ रनको साझेदारी खेलेका थिए ।

१२औं ओभरमा आफ्नो तेस्रो ओभर बलिङ गर्न आएका फारुकीले रियाजत र रोबिन्सनको साझेदारी ताडे । ओभरको पहिलो बलमा फारुकीले रियाजतलाई बोल्ड आउट गरे भने दोस्रो बलमा मासाबालाई विकेट किपर गुरबाजमार्फत क्याच आउट गराए ।

ओभरको अन्तिम बलमा रोबिन्सन ओबुयालाई आउट गरेपछि फारुकीको नाममा पाँच विकेट रह्यो । उनले पावर–प्लमै पटेल र रोजर मुकासाको विकेट लिएका थिए । यस्तै नभिन उल हाकु र कप्तान रसिद खानले समान दुई/दुई विकेट लिएका थिए । मुजिब रहमानको नाममा एक विकेट रह्यो ।

१६ ओभरमा ५८ रनमै अलआउट भएको युगाण्डाका ओबुयाले बनाएको १४ रन नै सर्वाधिक स्कोर बन्यो । यस्तै रिआजत अली साहले ११ रन बनाएका थिए ।

अफगानिस्तान टी–२० विश्वकप २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय