+
+

राजेन्द्र लिङ्देनले अर्थमन्त्री खोजेपछि प्रतिनिधिसभा बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २२ गते १४:०९

२२ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभामा बजेटमाथि धारणा राख्दा अर्थमन्त्री उपस्थित हुनुपर्ने अडान राखेपछि बैठक स्थगित भएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफल हुँदै थियो । कांग्रेसको अर्जुन नरसिंह केसी, एमालेका गोकर्ण विष्ट, माओवादीका रामकुमार राई र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले धारणा राखे । त्यसपछि बोल्न रोष्ट्रममा गएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने संसदमा अर्थमन्त्री वर्षमान पुनलाई नदेखेको भन्दै खोजी गरे ।

उपसभामुख इन्दिरा रानाले अर्थमन्त्री राष्ट्रियसभा बैठकमा गएको जानकारी गराइन् । सँगै सरकारका प्रतिनिधिका रुपमा खानेपानी मन्त्री राजेन्द्रकुमार राई रहेको पनि बताइन् ।

तर राप्रपा अध्यक्ष लिङ्देनले आफ्ना कुरा अर्थमन्त्रीलाई नै सुनाउनुपर्ने भन्दै अर्थमन्त्री आएपछि मात्रै बोल्ने अडान लिए ।

‘अर्थमन्त्री नै चाहिन्छ नि, सभामुख महोदय एकछिन ब्रेक गरौं, अर्थमन्त्री खाली भएपछि सुरु गरौं’, उनले भने ।

उपसभामुख रानाले माननीयज्यू अगाडि बढौं, अर्थमन्त्री आउँदै हुनुहुन्छ भनिन् ।

लिङ्देनले आफूले पाएको थोरै समय अर्थमन्त्री नआउँदै सकिए के गर्ने भन्दै अर्थमन्त्री आएपछि समय गणना सुरु हुने भए मात्र बोल्ने बताए । ‘उहाँ आउनुभएपछि सुरु गर्छु, म उभिन सक्छु’, लिङ्देनले भने, ‘एक छिन ब्रेक गरे पनि हुन्छ ।’

तर उपसभामुख रानाले बैठक स्थगित नगर्ने भनिन् । ‘ब्रेक चाहिँ नगरौं होला, अगाडि बढ्दै गर्नुहोला । अर्थसम्बन्धी टुक्का भन्दै जानुहोला, कोटेसनहरु भन्दै जानुहोला ।’

त्यतिबेलै एमाले सांसद दयालबहादुर शाहीले नियमापत्ती गरे । उनले बोल्न गएपछि सरासर बोल्नुपर्छ, दोहोरी खेल्नुहुँदैन भनेपछि राप्रपा सांसदहरु उठे ।

राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रिय पार्टीका संसदीय दलका नेताले अर्थमन्त्री खोज्दा दोहोरी खेलेको हुन्छ भन्दै प्रतिवाद गरे । ‘संसद कसैको पेवा होइन, जनताबाट निर्वाचित भएको एक जना सांसदको त्यति नै महत्व हुन्छ’, उनले भने ।

त्यतिबेला सभामुखको आसनमा सभामुख देवराज घिमिरे फर्किसकेका थिए । उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई आफ्नो सिटमा फर्किन आग्रह गरे र संसद बैठक १५ मिनेटका लागि स्थगित गरे ।

सभामुख घिमिरेले राष्ट्रिय सभा र प्रतिनिधिसभा एउटै समयमा बजेट छलफल भएकाले यस्तो समस्या आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?