+
+

यूपीमा भाजपालाई झट्का, चलेन राम मन्दिरको रणनीति

अयोध्यामा तामझामका साथ राम मन्दिर प्राण प्रतिष्ठा गरेपछि विश्लेषकहरुले चुनावमा भाजपालाई यसको फाइदा हुन सक्ने अनुमान गरेका थिए तर जारी मत गणनाको रुझान भने विपरीत देखिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २२ गते १४:५५

२२ जेठ, काठमाडौं । भारतमा लोक सभा निर्वाचनको प्रारम्भिक रुझानमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए गठबन्धन र विपक्षी कांग्रेस नेतृत्वको इण्डिया गठबन्धनबीच रोचक प्रतिस्पर्धा भइरहेको छ ।

हालसम्मको रुझानले मत सर्वेक्षणको नतिजा नमिलेको देखिन्छ । विभिन्न टेलिभिजन च्यानल र न्युज एजेन्सीहरुले गरेको मत सर्वेक्षणमा भाजपा नेतृत्वको गठबन्धनले २८१ देखि ४०१ सिटसम्म ल्याउने देखाइएको थियो । यसैगरी विपक्षी गठबन्धनले १०७ देखि २०१ सिटसम्म ल्याउन सक्ने उल्लेख थियो ।

तर अहिलेसम्मको रुझानमा एनडीए गठबन्धन ३०० सिटसम्म पनि पुग्न नसक्ने जस्तो देखिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

भारतको निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार हालसम्म भाजपा २३८ सिटमा अगाडि छ । विपक्षी इण्डिया गठबन्धन २०० सिटमा अगाडि छ । कांग्रेस ९९, समाजवादी पार्टी ३७, तृणमुल कांग्रेस ३२ र डिएमके २१ सिटमा अगाडि छन् ।
सन् २०१९ मा भाजपाले ३०३ सिट जितेको थियो ।

यूपीमा समाजवादी अगाडि

नेपालसँग जोडिएको उत्तर प्रदेश (यूपी) मै भाजपालाई समाजवादी पार्टीले पछि पारेको छ । उत्तर प्रदेशमा लोक सभाका ८० सिट छन् ।

अहिलेसम्मको मत गणनामा समाजवादी पार्टी अग्रस्थानमा छ । समाजवादी पार्टी ३६ सिटमा र उसको सहयोगी कांग्रेस उम्मेदवार ८ सिटमा अगाडि छन् ।

भाजपा जम्मा ३२ सिटमा अगाडि छ । राष्ट्रिय लोक दल २ सिटमा तथा कांशिराम नेतृत्वको आजाद समाज पार्टी र अपना दल पार्टी एक–एक सिटमा अगाडि छन् ।

उत्तर प्रदेशको अयोध्यामा गत जनवरीमा भाजपाले तामझामका साथ राम मन्दिर प्राण प्रतिष्ठा गरे पनि त्यसले काम नगरेको कतिपयले विश्लेषण गरिरहेका छन् । चुनावको केही महिना अगाडि मात्रै भएको यो भव्य अनुष्ठानको उदघाटन प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए । विश्लेषकहरुले चुनावमा भाजपालाई यसको फाइदा हुन सक्ने अनुमान गरे पनि जारी मत गणनाको रुझान भने विपरीत देखिएको छ ।

फैजाबाद सिटमा भाजपाका लल्लु सिंह यसपटक पछि परेका छन् । उनीभन्दा करिब १० हजार भोट अन्तरले समाजवादी पार्टीका अवधेश प्रसाद अगाडि छन् ।

सन् २०१४ मा भाजपाका लल्लु सिंहले समाजवादी पार्टीका मित्रसेन यादवलाई २ लाख ८२ हजार ७७५ मतको भारी अन्तरले हराएका थिए । सन् २०१९ मा पनि लल्लु सिंहले समाजवादी पार्टीकै उम्मेदवार आनन्द सिंहलाई ६५ हजारभन्दा बढी मत अन्तरले हराएका थिए । कांग्रेसका निर्मल खत्री तेस्रो भएका थिए ।

हरियाणाका १० सिटमध्ये भाजपा र कांग्रेस ५–५ सिटमा अगाडि छन् । सन् २०१९ मा हरियाणाका सबै १० सिट भाजपाले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?