+
+

अर्थमन्त्री पुनलाई आरजुका ९ सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २२ गते १५:३०

२२ जेठ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले सरकारले कृषिलाई प्राथमिकतामा राखेको भनेको तर, त्यसअनुसार बजेट विनियोजन नगरेको बताएकी छन् ।

प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति समेत रहेकी राणाले ‘बजेटमा भनिएको र लेखिएकोमा समेत मेल नखाएको’ बताइन् ।

‘कृषि मन्त्रालयको बजेट २ खर्ब घटेको छ । तर, कृषिमा लगानी दशक घोषणा गरिएको छ । कृषि करिडोर योजना आएको छ । तर, त्यसलाई सपोर्ट गर्ने कार्यक्रम छैन’ मंगलबार प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिंदै उनले भनिन् ।

सांसद राणाले कृषि क्षेत्रमा केन्द्रित रहेर अर्थमन्त्री वर्षमान पुनलाई विभिन्न ९ वटा सुझाव दिएकी छन् ।

पहिलो : सांसद राणाका अनुसार कृषिमा टेक्निकल जनशक्तिको वृद्धि गर्नुपर्ने हुन्छ । यसका लागि सरकारले ओएनएम समेत गरेको छ । उक्त ओएनएमलाई अगाडि बढाउन सांसद रणाले सुझाएकी छन् ।

दोस्रो : दूध कृषक र उखु किसानले समयमै भुक्तानी नपाएको गुनासो हरेक वर्षजसो आउने गरेको भन्दै सांसद राणाले यसका लागि बैंकिङ्क सिस्टम मार्फत भुक्तानीको प्रबन्ध मिलाउन सुझाएकी छन् ।

तेस्रो : मार्केट मेकानिजम ख्याल गर्न पनि अर्थमन्त्रीलाई उनको सुझाव छ । चालु आर्थिक वर्षमा आलुमा भ्याट लगाएको कारण नेपालमा आलुको उत्पादन बढेको पाइएको उनले बताइन् ।

‘…नेपालमा जम्मा ७ प्रतिशत आयात हुने । त्यसले नेपाली आयुको भाउ तय गर्ने गरेको रहेछ । यति सस्तो गरी आउने रहेछ । यसलाई ख्याल गरेर भ्याट लगाउँदा आलुको उत्पादन बढेको रहेछ । अब कर घटाउँदा फेरि आलु उत्पादन घट्न सक्छ’ उनले भनिन् ।

चौथो : सांसद राणाले कुन महिनामा कति वस्तु उपभोग हुन्छ त्यस आधारमा नीति अवलम्बन गर्न उनको सुझाव छ । उनले भनिन्, ‘यसमा सरकारले अध्ययन गरोस् । त्यस आधारमा सरकारले आयात गर्ने कि नगर्ने तय गरोस् । यो माछा, फलफूल आदिमा गर्न आवश्यक छ ।’

पाँचौं : नेपालमा १० लाख हेक्टर क्षेत्रफल जमिन बाँझो रहेको तथ्याङ्क सांसद राणाले सुनाएकी छन् । ‘यो जमिनलाई उपयोग गर्न सकेका छैनौं । यसमा बजेट हाल्न सक्यौं भने ५देखि ७ लाख भाइबहिनीहरू नेपालमै बस्न सक्थे होला । यसका लागि आएकै बजेटबाट समेत मिलाउन सकिन्छ’ सांसद राणाको सुझाव छ ।

छैटौं : सांसद राणाले नेपालमा भोकमरीको समस्या रहेको विश्वव्यापी भोकमरीको इन्डेक्सले देखाएको बताएकी छन् । दिगो विकास लक्ष्यलाई समेत असर गर्ने भएकाले यसमा ख्याल गर्न उनको सुझाव छ ।

सातौं : जलवायु परिवर्तनले एकदमै असर पारेको छ । विपत्ति निम्त्याएको छ । यसका लागि विशेष ध्यान नदिएको जस्तो देखियो ।

आठौं : नेपालको बोर्डरमा चुहावट रहेकोतर्फ ख्याल गर्न अर्थमन्त्री पुनलाई सांसद राणाको सुझाव छ । उनले भनिन्, ‘बोर्डरमा एकदमै धेरै चुहावट छ । यसका लागि काम गर्नुपर्नेछ ।’

नवौं : सांसद रणाले वितरणमुखी बजेटलाई पनि सही टार्गेट गर्न सक्नेतर्फ ख्याल गर्न अर्थमन्त्री पुनलाई सुझाएकी छन् ।

आन्तरिक ऋण बढाएर लिने विषयका सन्दर्भमा अन्यले समेत प्रश्न उठाइरहेको स्मरण गर्दै उनले बजेटको लक्ष्य भेट्टाउने गरी अगाडि बढ्न सुझाइन् ।

‘यो (आन्तरिक ऋण) कसरी तिर्ने भन्ने अन्योल छ । यसको लागि विचार गर्नका लागि अनुरोध गर्न चाहन्छु’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?