+
+
विचार :

वृक्षरोपण गरेर चासाे नदिने वातावरण दिवस !

रोपेको बिरुवा चौपायाको भोजन हुने, रोप्ने व्यक्ति त्यो ठाउँमा फर्केर नजाने, गए पनि आफ्नै हातले रोपेको बिरुवाको अवस्था के छ भन्ने चासो नराख्नाले वातावरण दिवसका कार्यक्रमहरू न्यून प्रभावी भएका हुन् ।

सुधन सुवेदी सुधन सुवेदी
२०८१ जेठ २३ गते ७:०२

वातावरण दिवसको पर्यायजस्तो छ वृक्षारोपण । पाखो, डाँडामा रुख रोप्ने काम नराम्रो त हुँदै होइन । रोपेको बिरुवा भोलिपल्ट कस्तो अवस्थामा होला भनेर हेक्का राख्नुपर्छ भन्ने कुरा सबैजसो आयोजकको सोचमा आएको देखिएको छैन । यस हिसाबले गाडी चढेर समूहमा तामझाम सहित गरिने वृक्षरोपण सामाजिक सञ्जाल, मिडिया खपतका विषय धेरै अर्थमा भएका छन् ।

कोप सम्मेलन, जलवायु परिवर्तनका विषय धेरै प्रसङ्‍गले प्राविधिक भएका छन् । केहीका लागि व्यक्तिगत भ्रमण वा स्वप्रचार गर्ने बजारका रूपमा आएका छन् । सामान्य जीविकोपार्जन गर्नेका लागि यी मूल विषय बन्न अझै कुर्नुपर्ने देखिन्छ ।

एक वातावरण अभियन्ता साथीले नियमित रूपमा डेरीबाट दही, दूध ल्याउन घरको सिसाको भाँडा बोकेर पसल जान्थे । घरमा आएर त्यहीं भाँडामै खन्याउने त हो । बोक्नै गाह्रो हुने भाँडो पनि थिएन त्यो । डेरीबाट दुइटा प्लास्टिक आउने कुरो साथीलाई रोक्नु थियो । दही हाल्ने बाक्लो प्लास्टिक अनि त्यसलाई झुन्ड्याउने अर्को झोला । यो क्रम नियमित लयमै भएपछि एकदिन साथीले डेरीवालासँग प्लास्टिक खर्च नगराएको अनि वातावरणलाई केही हदसम्म राम्रो काम गरेकोमा केही डिस्काउन्ट हुँदैन भनेर सोधेछन् ।

अभियन्ता साथीको यो सोधाइ आफैंलाई आर्थिक लाभ होस् भन्ने भन्दा पनि अरूले गर्दा पसलेले प्रोत्साहन गरेको भान होस् भनेर थियो । उनको त्यो आग्रहपसलले हाँसेर नै टारे । उनको नजरमा प्लास्टिक खपत गराउने र नगराउने ग्राहक एकै थिए, कुरोको चुरो व्यापार मात्रै ।

डाँडा पुग्नु स्वास्थ्य अनि पर्यटनका लागि गजब भयो । तर त्यहाँ विसर्जन हुने फोहोर पेचिलो छ । दुई परस्पर विरोधी सोच समन्वय नगरी दिगोपन नआउने पक्का छ ।

अर्को प्रसङ्‍ग भिन्नमात्र होइन, विपरीत जस्तै छ । किराना पसलेले ग्राहकलाई ‘झोला ल्याउनुभएको छ ? मसँग त प्लास्टिक छैन’ भन्दा ग्राहक बम्किए । उनको भनाइ प्लास्टिकको झोला नदिने हो भने सामान नकिन्ने थियो । पटक–पटक पोलिथिनका झोला प्रयोग निषेधको नियम बनाउँदा लागु नहुने अवस्था आउनुमा यस्तै प्रसङ्‍ग कारक छन् ।

दिवसहरू कर्मकाण्डी हुने । वातावरण, जनसंख्या, प्रदूषण, भूमिगत पानी, कला, संस्कृति समेतका विज्ञ एकै वा एउटै वृत्तका भएपछि नयाँ कुरो त नआउने नै भयो । सञ्जालका खपतका लागि हुने कार्यक्रम र बाटो छेकेर नै ‘टिकटक’ वा ‘रिल’ बनाउने कुरो उस्तै नै हो । दुवैको अन्तरनिहित प्रयोजन व्यक्तिगत प्रचार मात्रै ।

रोपेको बिरुवा चौपायाको भोजन हुने, रोप्ने व्यक्ति त्यो ठाउँमा फर्केर नजाने, गए पनि आफ्नै हातले रोपेको बिरुवाको अवस्था के छ भन्ने चासो नराख्नाले वातावरण दिवसका कार्यक्रमहरू न्यून प्रभावी भएका हुन् । हुल लगेर गडगडाहट तालीबीच कुन बिरुवा रोप्दा ठिक हुने सामान्य जानकारी समेत नलिई अब गरिने कार्यक्रममा सरिक नहुने जनाउनुपर्छ आयोजकलाई ।

स्थानीय ठाउँलाई अरू घुम्न आउँदा गर्ने खर्चले आर्थिक गतिविधि र रोजगारी बढ्ने पहिलो सोच । अनि, ती मानिससँगै आउने कार्बन, फोहोरका कुरा अझ बढी सोचनीय छ ।

एउटा बिरुवा हुर्काउनेसम्मको जिम्मा लिने, एकैछिनमा सकिने वृक्षारोपणको गतिलो विकल्प हो । केही संस्थाले यो सोच बढाएका छन् । दिगो असर हुने कामलाई तालिका बनाएर गर्दा प्रभाव ठूलो हुन्छ ।

फरक प्रसङ्‍गमा नियमित हुने हाइकिङ हालैका दिनमा बढ्न थालेका छन् । डाँडा पुग्नु स्वास्थ्य अनि पर्यटनका लागि गजब भयो । कुरो, त्यहाँ विसर्जन हुने फोहोर पेचिलो छ । दुई परस्पर विरोधी सोच समन्वय नगरी दिगोपन नआउने पक्का छ ।

स्थानीय ठाउँलाई अरू घुम्न आउँदा गर्ने खर्चले आर्थिक गतिविधि र रोजगारी बढ्ने पहिलो सोच । अनि, ती मानिससँगै आउने कार्बन, फोहोरका कुरा अझ बढी सोचनीय छ । उदाहरणका लागि रारा तालको सौन्दर्य बाटाका सञ्जालहरू नबन्दाको विगत समयभन्दा हालको समयमा खस्किँदो छ । यात्रा संख्या बढ्दै जाँदा रारा फेवा हुने हो कि भन्ने चिन्ता बढ्न थालेको छ ।

विषयान्तरभन्दा अगाडि पुरानै कुरा जोड्दा, डाँडामा फोहोर फाल्ने ठाउँमै फोहर विसर्जन गरेँ भनेर बसिराख्दा सोचनीय चाहिँ फोहोर कसरी उठ्ला भन्ने हो । यात्रा स्मरण गर्दा यसको उत्तर पाउन सकिन्छ ।

सास रोकेर मरेतुल्य भई डाँडा पुगेर फोहोर उठाउने आएर नियमित सरसफाइ हुन्छ भन्ने अपेक्षा राख्नु आफैंमा हास्यास्पद भएन र ? चढ्दा भरिएका खानाका पोका बोक्नेले हलुका खोल, बोतल तल बोकेर आउनैपर्छ । यो नै वातावरण दिवसका लागि आफ्नो प्रतिबद्धता हुनुपर्छ ।

(लेखक सुवेदी नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?