+
+

खानेपानीको समस्या झेल्दै दाङका घोरदौराबासी

रासस रासस
२०८१ जेठ २२ गते २०:२४

२२ जेठ, दाङ। घोराही उपमहानगरपालिका-१८ घोरदौराबासीले वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आइरहेका छन् । यहाँ गर्मी मौसममा अझ धेरै खानेपानीको समस्या हुने गरेको छ ।

आठ किलोमिटर टाढाबाट ल्याइएको पानीको मुहान गर्मी बढेसँगै सुकेपछि समस्या हुने गरेको हो । उपल्लो घोरदौरा निवासी सरस्वती विक घरनजिकैको धारामा पानी सुकेपछि ४५ मिनेट टाढा धरमपानी बाट पानी बोकेर ल्याउने गरेको बताउँछन् ।

हरेक दिन खानेपानी जोहो गर्नै समस्या हुने गरेको उनले बताए । विकले भने, ‘गर्मी बढेसँगै गाउँमा पानीको सङ्कट हुन्छ ।’ पानी लिन आउँदा ओरालो भए पनि फर्किंदा डेढ घण्टा उकालो हिँड्नुपर्ने उनले सुनाए ।

घोरदौराकै झिनीगाउँ निवासी सिर्जना भण्डारी वर्षा सुरु भएसँगै खानेपानीको दुःख भएको बताउँछन्। एउटै धारमा पालो कुरेर पानी भर्दा दुई घण्टा लाग्ने उनको भनाइ छ ।उनले भने, ‘गाउँमा पानी आउन बन्द भएपछि घरनजिकै ठूलो पँधेरा भन्ने ठाउँमा जाने गर्दथ्यौँ तर त्यहाँ पनि पानी सुकेपछि अहिले घोरदौरा आउने गरेकी छु।’

उज्यालोमा पानी भर्दा घण्टौँसम्म लाइन बस्नुपर्ने र पालो नआउँदै धारा सुक्ने भएकाले धेरैजसो राति नै पानी भर्न आउने गरेको स्थानीय बताउँछन् ।

घोराही उपमहानगरपालिका-१८, घोरदौरा निवासी ५७ वर्षीय  शोभा अधिकारी करिब एक घण्टा दुरीमा रहेको धरमपानीस्थित धाराको पानी गाउँभरिकाले खानुपर्ने अवस्था भएको बताउँछन् ।

गाउँमा पानीको सङ्कट भएसँगै खानेपानी भर्न अचेल घोरदौरावासीलाई बिहान २÷३ बजे उठ्नुपर्ने बाध्यता रहेको उनले बताए ।

उनले भने, ‘बुढेसकालमा पानी भर्न उकालो ओरालो गर्न समस्या छ । अर्को गाउँदेखि ल्याएको पानी सुकिसक्यो । त्यसैले अहिले एक घण्टा हिँडेर घरदेखि तल खोलामा रहेको धारामा जानुपर्ने बाध्यता छ ।’

घोराही उपमहानगरपालिका-१८ का वडाध्यक्ष भरतमणि अर्यालले अहिले खानेपानी योजनाको काम भइरहेकाले आगामी वर्षसम्म समस्या समाधान हुने बताए ।

घोरदौराका स्थानीयले वर्षौदेखि खानेपानी समस्या झेल्दै आएकाले दीर्घकालीन रुपमा समाधान गरिने उनको भनाइ छ । घोरदौराका ७० घरधुरीले एउटै धाराबाट पानी बोक्नुपर्ने बाध्यता रहेको छ । खानेपानी समस्याका कारण बालबालिकाको पढाइसमेत प्रभावित हुने गरेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?