+

पुरुष कबड्डीमा अहिलेसम्मकै ठूलो उपलब्धि

२०८१ जेठ  २२ गते २२:३३ २०८१ जेठ २२ गते २२:३३
पुरुष कबड्डीमा अहिलेसम्मकै ठूलो उपलब्धि

२२ जेठ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङले चौथो बंगबन्धु कप पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगिताको उपविजेता नेपाली टोलीलाई मंगलबार राखेपमा स्वागत गर्दै बधाई दिएका छन् ।

बंगलादेशको ढाकामा सोमबार सम्पन्न प्रतियोगिताको उपविजेता टोली मंगलबार स्वदेश फर्किएको हो । नेपाली कबड्डीको इतिहासमा पुरुष टोलीले हासिल गरेको यो उपलब्धि अहिलेसम्मको ठूलो हो ।

सदस्य–सचिव टंकलाल घिसिङले खेलाडीको प्रशंसा गर्दै भने– ‘खेलाडीले गरेको प्रदर्शनको जति प्रशंसा गरेपनि पुग्दैन । कबड्डीले एकपछि अर्को सफलता हात पार्दै गएको छ । एसियाली खेलकुदमा महिला कबड्डी टोलीले कांस्य जित्दै इतिहास रचेको थियो । अहिले तपाईंहरुले आफ्नो क्षमता प्रमाणित गर्नु भएको छ । जे गर्नु भयो मुटुदेखि गर्नु भयो । त्यसैले नतिजा पनि राम्रो आयो । देशलाई खुशी तुल्याउनु भएको छ । खेलुकद त्यस्तो क्षेत्र हो, एक टिमले जित्दा सारा देश रमाउछ र गर्वको अनुभूति गर्छ ।’

फाइनलमा नेपाल आयोजक राष्ट्र बंगलादेशसंग ४५–३१ ले पराजित भएको थियो । विगतका तीनै संस्करणको उपाधि पनि बंगलादेशले नै जितेको थियो ।

प्रतियोगितामा नेपालसहित विभिन्न १२ राष्ट्रको सहभागिता रहेको थियो । सहभागी टोलीलाई २ समूहमा विजभान गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको थियो । नेपाल समूह ‘ए’ मा थियो । समूह चरणको खेलमा नेपालले मलेसियालाई ६७–३०, पोल्यान्डलाई ९३–४१, दक्षिण कोरियालाई ६७–४५ र इन्डोनेसियालाई ६३–३५ ले पराजित गरेको थियो । बंगलादेशसंग ४६–३१ ले चुकेको नेपाल समूह उपविजेता हुँदै सेमिफाइनलमा पुगेको थियो । सोही समूहबाट बंगलदेश विजेता बन्दै सेमिफाइनलमा पुग्यो ।

सेमिफाइनलमा नेपालले केन्यालाई पेनाल्टी (५ रेड) मा ९–५ ले हराउदै बंगलादेशसंग उपाधि भिडन्त पक्का गरेको थियो । निर्धारित समयको खेल ५०–५० को बराबरीमा टुंगिएको थियो । अर्को सेमिफाइनलमा बंगलादेश थाइल्यान्डलाई पाखा लगाएको थियो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका नेपालका कप्तान घनश्याम रोका मगर ५ खेलमा ‘म्यान अफ दि म्याच’ सहित प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए । भारतीय प्रो कबड्डी लिगको १० औं सिजनमा खेलिसकेका घनश्याम नेपालले जितेको सबै खेलमा ‘म्यान अफ दि म्याच’ घोषित भएका थिए । घनश्यामले प्रत्येक ‘म्यान अफ दि म्याच’ का लागि १५ हजार तथा सर्वोत्कृष्ट खेलाडीका लागि ३० हजार बंगलादेशी रुपैयाँ प्राप्त गरे । भारतीय प्रो लिगमा घनश्याम हरियाणा स्टिलर्समा १३ लाख भारतीय रुपैयाँमा अनुबन्ध भएका थिए । प्रो लिगमा नेपाली खेलाडी मध्ये उनी सर्वाधिक पारिश्रमिक पाउने खेलाडी हुन् । घनश्यामअघि चार नेपाल खेलाडीले प्रो लिग खेलका  थिए ।

अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले नेपाल सरकार र राष्ट्रिय खेलकुद परिषद्बाट पाएको सहयोगकै कारण कबड्डीले सफलता प्राप्त गरिरहेको बताउदै नेपाली पुरुष टोली सन् २०२५ मा हुने विश्वकपका लागि छनोट भएको जानकारी दिए । महासचिव झाका अनुसार नेपालसहित सेमिफाइनल पुग्ने चारै टोली विश्वकपका लागि छनोट भएका छन् ।

नेपाली टोली : घनश्याम रोक्का मगर (कप्तान), गणेश कार्की, मनोज भट्ट कपाडी, जितेन्द्र अवस्थी, सागर यादव, इसरात मियाँ, कमलेश लोनिया, प्रकाश गिरी, खगेन्द्र जोशी, सुशील चुनारा, रोहन श्रेष्ठ र विशाल थापा ।

विष्णुदत्त भट्ट प्रशिक्षक, व्यवस्थापक महेश चन्द तथा अफिसियल तर्कराज भट्ट र रमेशचन्द्र ओझा ।

कबड्डी बंगबन्धु कप कबड्डी रजत पदक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय