+

रोहित र विराटको अन्तिम विश्वकप ?

२०८१ जेठ  २३ गते ६:३९ २०८१ जेठ २३ गते ६:३९
रोहित र विराटको अन्तिम विश्वकप ?

२३ जेठ, काठमाडौं । उपाधिको बलियो दावेदार भारतले बुधबार ट्वान्टी-ट्वान्टी विश्वकपमा आफ्नो पहिलो खेल खेल्दैछ । समूह ‘ए’ को यो खेल आयरल्यान्डविरुद्ध रहेको छ ।

सम्भवतः यसपल्टको प्रतियोगिता कप्तान रोहित शर्मा र विराट कोहलीका लागि अन्तिम ट्वान्टी ट्वान्टी विश्वकप हुन सक्छ । संयोग कस्तो पनि भने यिनै दुई खेलाडीको काँधमा ठूलै जिम्मेवारी पनि रहेको छ, उपाधिको खडेरीबाट गुज्रिरहेको भारतलाई लामो समयपछि विश्वकपको उपाधि दिलाउने ।

लामो समय के पनि भइसकेको छ भने रोहित र विराट भारतीय क्रिकेट टिमका प्रमुख खेलाडी रहेका छन् । रोहित ३७ वर्षका भए । विराट भने ३५ वर्षका । भारतले अन्तिम पटक जितेको ठूलो उपाधि भनेको सन् २०१३ मा हो, जति बेला उसले च्याम्पियन्स ट्रफि उचालेको थियो । पछिल्लो वर्षको वान डे विश्वकपमा फर्कने हो भने भारत आफ्नै भूमिमा भएको प्रतियोगितामा फाइनल त पुग्यो, तर अस्ट्रेलियाको हातबाट निराशाजनक रूपमा पराजित रह्यो ।

फाइनल अगाडि भारतको प्रदर्शन खुबै दमदार थियो । तर अहमदावादको विश्वकै सबैभन्दा ठूलो क्रिकेट मैदानमा उसको अस्ट्रेलियाविरुद्ध केही पनि चलेन् । त्यति बेला रोहित र कोहली दुवै उत्तिकै निराश देखिए । तर अब उनीहरूसामु अमेरिका र वेस्ट इन्डिजमा चलिरहेको अर्को ‘ह्वाइट बल’ को विश्वकपमा मौका छ । स्टार स्पोर्टसमा बोल्ने क्रममा भारतका पूर्व खेलाडी मोहम्मद कइफले भनेका छन्, ‘रोहित र विराट दुवैलाई राम्रोसँग थाहा छ, यो नै सम्भवतः उनीहरूको अन्तिम ठूलो प्रतियोगिता हुन सक्छ ।’

अर्को ट्वान्टी-ट्वान्टी विश्वकप दुई वर्षपछि हुनेछ । वान डे विश्वकप भने सन् २०२७ मा पर्छ । त्यति बेलासम्म उनीहरूको प्राथमिकता र योजना दुवै फेरिसक्नेछन् । केही दिन अगाडि मात्र टुंगिएको आईपीएल २०२४ मा उनीहरूको प्रदर्शन फरक रह्यो । रोहितले मुम्बई इन्डियन्सको कप्तानी गुमाएको थियो र उनको व्यक्तिगत प्रदर्शन पनि उम्दा रहेन् । उनले ४ सय १७ रन त बनाए, तर यसले मुम्बईलाई राम्रो नजित निकाल्न मदत नै गरेन् ।

तर विराटले भने रोयल च्यालेन्जर्स बेंगलुरुका लागि धेरै राम्रो खेले र टिमलाई लगभग एक्लै ‘प्ले–अफ’ सम्म पुर्‍याए । विराट त्यस प्रतियोगितामा सर्वाधिक रन बनाउन ब्याटर पनि थिए । उनको ब्याटबाट ७ सय ४१ रन निस्केको थियो । बेंगलुरुका लागि विराटले दक्षिण अफ्रिकाका फाफ डे फ्लेसिससँग इनिङ्सको सुरुआत पनि गरे । ओपनरका रूपमा विराटको कुनै जवाफ थिएन् । उनीहरू दुवैसँग भारतका लागि विश्वकप जितेको मीठो अनुभव भने छ ।

भारतले सन् २००७ मा पाकिस्तानलाई हराएर पहिलो संस्करणको ट्वान्टी-ट्वान्टी विश्वकप जित्दा रोहित टिमका एक सदस्य थिए । सन् २०११ मा भारतले वान डे विश्वकप जित्दा विराटले ब्याटबाट राम्रै खेले । त्यसपछि भारतले कुनै विश्वकप जित्न सकेको छैन। त्यसैकारण ठूला प्रतियोगितामा रोहित र विराट दुवै दबाबमा रहने गर्छन् । दबाबकै कारण विराटले सन् २०२१ मा भारतीय ट्वान्टी-ट्वान्टी टिमको कप्तानी छाडेका थिए र उनको स्थानमा मौका पाएका थिए, रोहितले ।

भारतलाई सुपर–एट पुग्न पक्कै पनि गाह्रो हुने छैन् । पाकिस्तान छाडेर भारतलाई आयरल्यान्डसँगै क्यानाडा र अमेरिकालााई पन्छाउन सजिलै हुनेछ । त्यस अर्थमा भारतसँगै पाकिस्तानको वास्तविक परीक्षा सुपर–एट चरणमै हुनेछ, सुरुआती लिग चरणमा हुने छैन् । त्यसै अर्थमा रोहित र विराटसामु कमजोर आँक्ने मिल्ने प्रतिद्वन्द्वीसामु लय समाट्ने अवसर हुनेछ । त्यस अर्थमा प्रश्न के पनि हो भने के रोहित  र विराटले सम्भवतः आफ्नो अन्तिम विश्वकपमा उपाधि जित्ने अवसर पाउने छन् त ?

आईसीसी टी-२० विश्वकप रोहित शर्मा विराट कोहली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय