+
+

जाहेरी परेपछि खोजी गर्दा जेलमा भेटिए फिल्म निर्माता

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २३ गते १४:५९

२३ जेठ, काठमाडौं । ठगीको मुद्दामा जाहेरी परेपछि प्रहरीको खोजी सूचीमा परेका चलचित्र निर्माता रघु परियार अर्काे मुद्दामा जेलमा रहेको खुलेको छ ।

‍‍‍‍‍‍‍‍‍काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-२ का धनबहादुर तामाङले आफूलाई अष्ट्रेलिया लगिदिने भन्दै फिल्म निर्माता रघु परियारले ५ लाख रुपैयाँ ठगी गरेको जाहेरी दिएपछि प्रहरी वृत्त महाराजगञ्जले परियारको खोजी गरेको थियो ।

पैसा लिएर अष्ट्रेलिया नपठाएपछि धनबहादुरले प्रहरीमा उजुरी दिनुअघि फिल्म निर्माता परियारसँग रकम फिर्ता मागेका थिए । परियारले एनआईसी एसिया बैंक गोंगबु शाखाको चेक ५ लाख रुपैयाँ उल्लेख गरेर धनबहादुरलाई २५ साउन २०८० मा दिएका थिए ।

खातामा रकम नभएको भन्दै चेक बाउन्स भएपछि धनबहादुरले परियारविरुद्ध बैंकिङ कसुर मुद्दामा जाहेरी दिएका थिए । जाहेरी परेपछि प्रहरीले उनको खोजी सुरु गर्‍यो, तर कतै भेटिएनन् । ‘खोजी गर्दा कतै भेटिएनन् । त्यसपछि कारागारहरुको विवरण हेर्दा उनी डिल्लीबजारमा जेलमा रहेको खुल्यो’, प्रहरी स्रोतले अनलाइनखबरसँग भन्यो ।

आफूलाई विदेश पठाइदिन्छु भनेर ठगी गरेको भन्दै यसअघि कल्पना वलीले वैदेशिक रोजगार विभागमा परियारविरुद्ध जाहेरी दिएकी थिइन् ।

प्रहरीले पक्राउ गरेर परियारलाई वैदेशिक रोजगार विभाग ताहचल पठाएको थियो । उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरण बबरमहलमा वैदेशिक रोजगारी ठगी मुद्दा चल्यो । न्यायाधिकरणले ३० चैतमा ७ लाख रुपैयाँ धरौटी माग गरेको थियो । तर धरौटी बुझाउन नसकेपछि उनी डिल्लीबजार कारागार चलान भएका थिए ।

अहिले पनि उनी डिल्लीबजार कारागारमै थुनामा छन् । परियारले प्रहरी अनुुसन्धानको क्रममा धनबहादुरका भने ५० हजार फिर्ता गरेको र अब ४ लाख ५० हजार रुपैयाँ मात्रै तिर्न बाँकी रहेको बयान दिएका छन् ।

एउटा ठगीको कसुरमा थुनामा रहेका फिल्म निर्माता परियारविरुद्ध अर्को बैंकिङ कसुरको मुद्दा काठमाडौं जिल्ला अदालतमा दायर भएको छ ।

यसअघि १७ फागुन २०७० मा परियारविरुद्ध गणेश नेपाली, राजु चौधरी र सुजन परियारले छुट्टाछुट्टै पनि बैंकिङको मुद्दा दायर गरेका थिए । उक्त बैंकिङ कसुरको मुद्दामा उनी फरार प्रतिवादी छन् ।

हाल उनी कारागारमा रहेका खुलेकाले थप तीन वटा बैंकिङ कसुरको मुद्दामा प्रक्रिया अघि बढाउन माग गर्दै काठमाडौं जिल्ला अदातलमा बुधबार परियारविरुद्ध बैंकिङ कसुरको चौथो मुद्दा दायर भएको छ ।

परियारले निर्माण गरेको पहिलो चलचित्र विरांगाना हो । उनले सायरा नामको चलचित्र पनि बनाएका थिए । ४ मंसिर २०७९ मा भएको चुनावमा उनी नेपाली जनता दलको समानुपातिक सुचीको पहिलो नम्बरमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?