+
+

रणअम्बिका आँखा अस्पतालको ठेक्का यथास्थितिमा राख्न अल्पकालीन आदेश

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २३ गते १६:५७

२३ जेठ, बुटवल । भैरहवाको रणअम्बिका शाह आँखा अस्पतालको भवन निर्माणका लागि आह्वान भएको ठेक्का प्रक्रिया यथास्थितिमा राख्न उच्च अदालत तुलसीपुर, बुटवल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

ठेक्का प्रक्रियामा मिलेमतो भएको भन्दै बाबुल निर्माण सेवाका सञ्चालक सफिक अहमदले उत्प्रेषण परमादेश माग गर्दै रिट दायर गरेका थिए ।

रिटमाथि बुधबार सुनुवाइ गर्दै न्यायाधीश रेखा थापा पाण्डेको इजलासले अन्तरिम आदेशसम्बन्धी छलफलको लागि दुवै पक्षलाई जेठ ३२ गते बोलाएको छ ।

उक्त अवधिसम्म गत चैत १६ मा बोलपत्र प्रकाशित भई प्रारम्भ भएको प्रक्रियादेखि जेठ ४ गते र जेठ १८ सम्ममा प्रकाशित सूचनासमेत यथास्थितिमा राख्नु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) बमोजिम विपक्षीहरूको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । उक्त मुद्दामा निवेदकको तर्फबाट अधिवक्ता महेन्द्र पाण्डे र जोखबहादुर खत्रीले बहस गरेका थिए ।

अस्पतालले शल्यक्रिया कक्ष भवन निर्माणका लागि २२ करोड ३० लाख रुपैयाँको ठेक्का आह्वान गरेको थियो ।

आफू अनुकूलको निर्माण कम्पनीलाई ठेक्का दिलाउन प्रतिस्पर्धामा गएका कम्पनीहरू योग्य हुँदाहुँदै प्राविधिक प्रस्ताव अस्वीकार गरेको र झण्डै ५ करोड रुपैयाँ घोटाला गर्न खोजिएको आरोपसहित निर्माण व्यवसायी सफिक अहमदले अस्पताललाई विपक्षी बनाइ रिट हालेका थिए ।

उनले पुनः टेन्डर आह्वान गर्न माग गरेका थिए । टेन्डरमा कविन्द्र निर्माण सेवा काठमाडौं, एपीएम कन्स्ट्रक्सन एण्ड विल्डर्स प्रालि काठमाडौं र नव सिर्जनशिल कन्सट्र«क्सन कम्पनी प्रालि काठमाडौंको प्राविधिक प्रस्ताव स्वीकृत गरी बोलपत्रदाताहरूको नाम छनोट गरिएको थियो ।

टेन्डरमा चलखेल गर्न ई–बिडिङ नगरी हार्डकपी नै पेस गर्नुपर्ने प्रावधानले पनि मिलेमतोको दाबीलाई बल पुगेको व्यवसायीको भनाइ छ ।

अस्पताल प्रशासनले भने गैरसरकारी संस्था भएकाले सरकारी भवन निर्माणका क्रममा लागू हुने नियम आफूहरूलाई नलाग्ने दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?