+
+

पुनर्निर्माणपछिको केशरमहल (तस्वीरहरु)

आभास बुढाथोकी शंकर गिरी आभास बुढाथोकी, शंकर गिरी
२०८१ जेठ २३ गते १७:२५

२३ जेठ, काठमाडौं । ०७२ सालको भूकम्पले भत्किएको ९ वर्षपछि केशरमहलको पुनःनिर्माण पूरा भएको छ ।

२०७७ सालमा पुनर्निर्माणको ठेक्का पाएको जेडसीआई खानी जेभीले केशरमहल रेट्रोफिटिङको काम करिब पूरा भएको ठेकेदार कम्पनीका व्यवस्थापक नरकान्त सापकोटाले बताए । ‘रंगरोगन जस्ता बाहिरी फिनिसिङका कामहरु पनि सकिएका छन्’, उनले भने, ‘सरसफाइको मात्र काम बाँकी छ ।’

करिब ५१ करोड रुपैयाँ लागतमा केशरमहललाई पुरानै डिजाइन र शैलीमा तयार गरिएको छ । २०३० सालमा सिंहदरबारमा आगलागी भएपछि शिक्षामन्त्रालय केशरमहलमा सारिएको थियो । त्यसपछि करिब ३० वर्षसम्म केशरमहलमा शिक्षा मन्त्रालय रह्यो ।

तर, २०६८ सालमा गएको भूकम्पले केशर महल चर्किएर जीर्ण शिक्षा मन्त्रालय पुनः सिंहदरबार सारिएको थियो । केशर पुस्तकालय र एनओसी शाखा भने केशरमहलमा नै रहेका थिए ।

२०७२ सालको ठूलो भूकम्पपछि भने भवन उपयोग नै गर्न नमिल्ने गरी क्षतिग्रस्त बनेको थियो । त्यसपछि केशर पुस्तकालय अस्थायी टहरा बनाएर राखियो भने एनओसी भक्तपुर सानोठिमीमा सारिएका थिए ।

यसरी तयार भयो पुस्तकालय

०७६ सालमा ठेक्का सम्झौता भए पनि ०७७ सालदेखि पुनःनिर्माण कार्य सुरु भयो । ०७८ मंसिरमा सक्नुपर्ने भनेकामा कोरोना महामारी आदिको कारण देखाएर ठेकेदारको म्याद थपियो । निर्माण सुरु भएको करिब चार वर्षपछि मात्र भवनले पूर्णता पायो ।

०७२ सालको भूकम्पले भत्किएको भवनको मौलिक स्वरूप नबिग्रिने गरी निर्माण गरिएको निर्माणको जिम्मा पाएको खानी निर्माण सेवाका आयोजना व्यवस्थापक इञ्जिनियर नरकान्त सापकोटाले बताए ।

‘भवनको आफ्नै पुरातात्विक महत्व नबिग्रिने गरी तयार गरिएको छ’ उनले भने, ‘यसलाई अझै रंगरोगन गरी कलात्मक रुप दिएर पुनःजीवन दिइएको छ ।’

उनले महलमा बुट्टा, सिलिङ, वास्तुकला र अन्य डिजाइन पुरानै शैलीमा तयार गरिएको सुनाए । यसका लागि कालीगढ र कतिपय समानहरु विदेशबाट ल्याइएको छ ।

भवनलाई ‘कार्बन फाइबर रेट्रोफिटिङ’ प्रविधिमा आधारित भएर पुनःनिर्माण गरिएको हो । भवन पुनःनिर्माण गर्दा सिमेन्टको साटो चुना र सुर्की प्रयोग गरिएको उनले बताए । ‘सिमेन्ट भन्दा बलियो हुने र भवनको आयु पनि लामो हुन भएकाले भन्दा चुना र सुर्कीले प्रयोग गरिएको छ’, उनी भन्छन् ।

भवनका भित्ताहरुमा साढे ७ सय टन फलामको पाता प्रयोग गरिएको छ ।

महल पुनःनिर्माण गर्दा विगतमा भएका भन्दा केही संरचनाहरु पनि थप भएका छन् । अहिले भवनको अगाडिको भागमा ‘पभेलियन’ तयार गरिएको छ भने भवनको बीचको भागमा दुबोको बगैंचा बनाइएको छ ।

जहाँ इटलीबाट ल्याएको बत्ती जडान गरिएका छन् । त्यस्तै भवनको पूर्व–पश्चिमको भागमा आपतकालीन फलामे भर्‍याङ बनाइएको छ भने पार्किङमा ढुंगा बिच्छ्याइएको छ ।

प्रत्येक भवनको करिडोर र कोठाहरुमा सीसी क्यामेरा जडान गरिएको छ । बिजुली तारहरुलाई ‘अन्डर वाल वाइरियङ’ गरिएको छ । ‘फायर अर्लाम स्टम’ पनि जडान गरिएको छ । ‘भवन भित्र कतै आगलागी र धुवाँ आएमा अर्लाम बज्नेछ’, उनले भने, ‘स्टमले कुन भवनको कुन भागमा आगलागी भएको कुरा थाहा दिन्छ ।’

त्यस्तै २४ सै घण्टा विजुलीका लागि डिजल जेनेरेटेर पनि जडान गरिएको छ । विद्युत आपूर्ति बन्द भएमा तत्कालनै जेनेटरबाट विद्युत सञ्चालन हुनेछ ।

यसरी भवन बनाउँदा पश्चिम र दक्षिण तर्फको भाग पुरै भत्काएर बनाउनु परेको इञ्जिनियर सापकोटा बताउँछन् । त्यस्तै भवनका करिब ७० प्रतिशत झ्याल र ढोकाहरु समेत फेरिएको छ । ‘भूकम्पले भित्ताहरु हल्लिने र काम नै नलाग्ने अवथामा जीर्ण थियो ।’

अहिले बनाइएको भवन भूकम्प प्रतिरोधात्मक छ । उनले समय समयमा भवन मर्मत सम्भार गरे कम्तीमा सय वर्ष टिक्ने दाबी गरे ।

भवनमा ६१ कोठा रहेका छन् । तर अस्थायी टहरामा रहेको पुस्तकालयल अझै नयाँ भवनमा सारिएको छैन । उक्त भवनमा पुस्तकालयसँगै अन्य कार्यालय पनि राख्ने तयारी छ ।

भवनमा के–के राख्ने भन्ने अहिलेसम्म निर्णय नभएको शिक्षा मन्त्रालयको शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिए । उनले उक्त भवन पुस्तकालयको भएकाले सुरुमा पुस्तकालय नै प्राथमिकतामा राख्ने बताए ।

‘भवनमा धेरैको चासो छ, धेरै कार्यालयहरु बस्नका खोजेको देखिन्छ’, उनले भने, ‘तर पुस्तकालयलाई कति आवश्यकता पर्छ, पहिला त्यो टुंगो लाग्नुपर्छ ।’

हेर्नुहोस् थप तस्वीरहरु

तस्वीरहरु : शंकर गिरी/अनलाइनखबर

 

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?