+
+

एमालेले नेतृत्व गर्न नपाउँदा मुलुक पछि पर्‍यो : उपाध्यक्ष पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २३ गते १७:२३

२३ जेठ, बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमालेले नेतृत्व गर्न नपाएकाले मुलुक पछाडि परेको बताएका छन् ।

नेकपा एमाले रुपन्देहीको १०औं जिल्ला अधिवेशनको बुधबार भैरहवामा उद्घाटन गर्दै पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले एमालेले नेतृत्व गर्न पाए एक दशकमै मुलुकको कायापलट गर्ने दाबी गरे ।

संविधानले प्रदान गरेका आधारभूत र नैसर्गिक अधिकार समेत नागरिकले उपभोग गर्न नपाइरहेको अवस्था रहेको औंल्याउंदै उनले शिक्षा, स्वास्थ्य, रोजगारी, विभेद र असमानताको अन्त्य जस्ता मुद्दाको समाधान गर्न सके मात्रै राजनैतिक परिवर्तन सार्थक हुने बताए ।

‘संविधानले प्रदान गरेको अधिकारलाई व्यवहारिक बनाउन एमालेले सरकारको नेतृत्व गर्ने गरी निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न जरुरी छ’–पौडेलले भने–‘समाज बदल्ने र उत्पादनका क्षेत्रलाई सक्रिय बनाउने अभियानको नेतृत्व एमालेले मात्रै गर्न सक्छ र गरिरहेको छ ।’

संविधानको कार्यान्वयन गर्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा र लक्ष्यलाई साकार पार्ने गरी अगाडि बढनु नै आजको आवश्यकता रहेको नेता पौडेलको भनाइ थियो ।

अधिवेशनको उद्घाटन समारोहमा पूर्वमन्त्री एवं पार्टी सचिवद्वय छविललाल विश्वकर्मा र पद्मा अर्याल,प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरी लगायतले सम्बोधन गरेका थिए ।

अधिवेशन उद्घाटन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली आउने प्रचार गरिएपनि आएनन् । यसअघि ओलीको कार्यव्यस्तताको कारण अधिवेशन एक हप्ता पछाडि सारिएको थियो ।

दुई दिनसम्म चल्ने अधिवेशनले नयां नेतृत्व चयन गर्ने छ । अध्यक्ष पदमा हालका अध्यक्ष तेजेन्द्र केसी,सचिव यज्ञ गैरे र उपसचिवहरु चित्र कार्की र हितराज पन्थीको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?