+

मधुमेह कसरी हुन्छ ? विस्तृतमा बुझौं

२०८१ जेठ  २४ गते ७:०० २०८१ जेठ २४ गते ७:००
मधुमेह कसरी हुन्छ ? विस्तृतमा बुझौं

काठमाडौं । हामीले जति पनि खाना खाएका हुन्छौं, पचाउने प्रक्रियामा त्यो खाना ग्लुकोज (चिनी) बनेर रगतमा मिसिन्छ । ग्लुकोज पचाउन शरीरमा रहेको प्यान्क्रियाज ग्रन्थीले इन्सुलिन उत्पादन गर्छ । इन्सुलिनले खानालाई ऊर्जामा परिणत गर्छ ।

कहिलेकाहीं इन्सुलिन उत्पादन कम हुन्छ वा उत्पादन नै नहुन सक्छ । यस्तो अवस्थामा रगतमा भएको ग्लुकोजको मात्रा बढ्छ । यही अवस्थालाई मधुमेह भनिन्छ ।

इन्सुलिनको उत्पादन हुने र कम हुने अवस्थालाई हेरेर मधुमेहलाई दुई भागमा विभाजन गरिन्छ, टाइप-१ र टाइप-२ ।

किन दुई प्रकारका हुन्छन् ?

टाइप वान मधुमेह

टाइप वान मधुमेह के हो ? ह्याम्स अस्पतालका डा. विनय भट्टराईका अनुसार शरीरमा खानाबाट परिणत भएको ग्लुकोजलाई ग्रहण गर्ने इन्सुलिनलाई प्रतिरोधात्मक शक्तिले नै उत्पादन हुन नदिंदा ग्लुकोज रगतमै जम्मा भई बस्नु टाइप वान मधुमेह हो । प्रतिरोधात्मक शक्तिका कारण काम गर्न नदिंदा टाइप वान मधुमेह हुने भएकाले यसलाई ‘अटो इम्युन’ रोग भनिन्छ ।

कसलाई हुन्छ ?

टाइप वान मधुमेह बालबालिकामा पनि बढी देखिन्छ । जन्मिएको एक वर्षदेखि वयस्कसम्म यो रोग देखा पर्न सक्छ । मधुमेह भएकामध्ये झण्डै १० प्रतिशत मानिसमा टाइप वान मधुमेह भएको हुन्छ । टाइप वान हुनेहरुलाई प्रत्येक दिन इन्सुलिन दिनुपर्छ ।

कसरी हुन्छ ?

डा. भट्टराईका अनुसार पेटमा पुगेका खानेकुरा ग्लुकोज बनेर रगतमा मिसिन्छ, जसलाई प्यान्क्रियाज ग्रन्थीमा उत्पादन भएको इन्सुलिनले शरीरको अन्य अंगमा पुर्‍याउँछ । तर टाइप वान हुनेहरुमा इन्सुलिन उत्पादन हुनै पाउँदैन ।

यसलाई थप स्पष्ट पार्दै डा. भट्टराई भन्छन्, ‘शरीरको प्रतिरक्षा प्रणालीले गर्दा प्यान्क्रियाजको बिटा कोषमा हमला गरी क्षति पुर्‍याउँछ । जसकारण इन्सुलिन उत्पादन हुन पाउँदैन । र, रगतमा ग्लुकोजको मात्रालाई नियन्त्रित हुन पाउँदैन र शरीरमै जम्मा भएर बस्छ । यसरी टाइप-१ मधुमेहले जन्म लिन्छ ।’

इन्सुलिन नबन्ने कारण के हो ?

डा. भट्टराईका अनुसार यस्तो अवस्था किन आउँछ भन्ने कुनै ठोस कारण पत्ता लागिसकेको छैन । विशेषगरी कुनै परिवारमा आमा वा बाबुलाई मधुमेहको समस्या छ भने उनीहरुबाट जन्मिने सन्तानलाई टाइप-१ मधुमेह हुने सम्भावना उच्च हुन्छ । कतिपय अवस्थामा भाइरल संक्रमणका कारण इन्सुलिन उत्पादन हुने कोषिकाहरू नष्ट भएर यो रोग लाग्न सक्ने डा. भट्टराई बताउँछन् ।

के कस्ता देखिन्छन् लक्षण ?

– पानी प्यास लागिरहनु

– पटक-पटक पिसाब लाग्नु

– राति ओछयानमै पिसाब फेर्नु

– तौल कम हुँदै जानु

– भोक लाग्नु

– झर्को लाग्नु

– कमजोर अनुभव हुनु

के छ उपचार ?

टाइप-१ मधुमेहलाई उपचारद्वारा निको पार्न सकिन्छ । यसको उपचार भनेको यो रोग पहिचान भएपछि दिनहुँ इन्सुलिन लिनुका साथै खानपानमा विशेष सावधानी अपनाउनु हो । खानपान नियन्त्रण र दिनहुँ इन्सुलिन लिएको टाइप-१ भएकाहरु सामान्य जीवनयापन गर्न सक्छन् ।

टाइप टु मधुमेह

अधिकांशमा हुने मधुमेह हो, टाइप टु मधुमेह । कुनै कारणवश आमाशयमा पुग्ने इन्सुलिन कम भई ग्लुकोजको स्तर शरीरमा अनावश्यक बढ्नुलाई टाइप टु मधुमेह भनिन्छ ।

कसलाई हुन्छ ?

टाइप-२ मधुमेह खराब जीवनशैली, तनावग्रस्त मानसिक स्थिति, शारीरिक गतिविधि कम हुनु जस्ता थुप्रै कारणले हुन्छ । मोटोपन भएका व्यक्तिमा पनि यसको जोखिम रहन्छ ।

कसरी हुन्छ ?

अरुण लाइफ स्टाइल अस्पतालका चिकित्सक मधुमेह रोग विशेषज्ञ डा. रुपक भारीका अनुसार खाएको सबै खानेकुरा पेटमा पुगेर पाचनप्रणालीले पचाएपछि ग्लुकोज (चिनी) बन्छ । चिनी सबै अंगमा आमाशयमा उत्पादन हुने इन्सुलिनको मार्फत पुग्छ, जुन सामान्य प्रक्रिया हो । यस्तोमा कुनै कारणवश इन्सुलिनको मात्रा कम भएमा खाएका खानेकुरा यसले सबै अंगमा पुर्‍याउन सक्दैन, जसकारण शरीरमा सुगरको मात्रा बढ्ने डा. भारी बताउँछन् ।

के हुन्छ लक्षण ?

टाइप-२ मा पनि टाइप वानकै जस्तै लक्षण देखिने काठमाडौंको चावहिलस्थित मेडिकेयर अस्पतालमा कार्यरत हर्मोन रोग विशेषज्ञ डा. मधु पाण्डे बताउँछिन् ।

उनका अनुसार छिटो छिटो पिसाब लाग्नु, राति सुतिरहेको अवस्थामा पटक-पटक पिसाब आएर उठ्नुपर्ने, मुख सुक्ने, प्यास लाग्ने, भोक अत्याधिक लाग्ने, तौल कम हुने वा बढ्ने, संक्रमणको सिकार भइराख्ने, आँखाको दृष्टि कमजोर हुने, हातखुट्टा झमझमाउने भएमा मधुमेहको लक्षण बुझ्नुपर्छ ।

५० देखि ६० प्रतिशतमा मधुमेह भएपनि लक्षण नदेखिन सक्ने भएकाले लक्षण नदेखिंदा पनि मधुमेह भएको हुनसक्ने हर्मोन तथा थाइराइड रोग विशेषज्ञ डा. सुनिलकुमार पोखरेल बताउँछन् ।

४० वर्ष कटेका व्यक्ति, जसमा मोटोपन, कोलेस्टोरेल र उच्चरक्तचापका औषधि खाइरहेका, गर्भावस्थामा सुगर देखिएको महिलामा यसको जोखिम हुने हुँदा अनिवार्य मधुमेहको परीक्षण गर्न उनी सुझाउँछन् ।

मधुमेहको मापदण्ड

सामान्यतया स्वस्थ मान्छेमा खाली पेटमा रगतको जाँच गर्दा सुगर लेभल १०० भन्दा कम या कुनै पनि बेला यत्तिकै जाँच गर्दा १४० भन्दा कम हुनुपर्छ ।

मधुमेह भएको अवस्था

– खाली पेटको जाँच गर्दा सुगर लेभल १२६ भन्दा माथि भएमा

– खाना खाएपछि २०० भन्दा माथि भएमा

रगत जाँच : मधुमेहको जाँच खाली पेटमा र खाना खाएको दुई घण्टापछि गरी दुई पटक गरिन्छ । जसमा सुईको माध्यमले औंलाबाट थोरै रगत लिई प्रयोगशालामा पठाइन्छ । नतिजाले यसको स्तर बताउँछ ।

र्‍यान्डम जाँच : यो परीक्षण जुनसुकै बेलामा गर्न सकिन्छ । यसमा रगतको परीक्षणबाट स्तर हेरिन्छ ।

एचबीवानसी वा ग्लाइकोसाइलेटेट हेमोग्लोबिन : यो परीक्षणमा तीन महिनाअघिदेखिको ग्लुकोजको स्तर रगत परीक्षणबाट हेरिन्छ । जसमा ५.७ देखिएपनि ग्लुकोजको स्तर अनियमित भएको बुझिन्छ । यसमा खाली पेटमा जाँच गर्न आवश्यक हुँदैन ।

मधुमेह भइसकेपछि इन्सुलिन र औषधि खाएकाले घरमै पनि ग्लुकोमिटर उपकरणको सहायताबाट मधुमेह नापिन्छ । ग्लुकोमिटरको मद्दतले रगतमा चिनीको मात्रा कति छ भन्ने कुरा थाहा हुन्छ ।

घरमै ग्लुकोमिटर कसरी प्रयोग गर्ने ?

– सुरुमा औंलाहरु सफा राख्न हात धुनुपर्छ ।

– ग्लुकोमिटरको मेसिन अन गरी त्यसमा स्ट्रिपमा फिट गर्नुपर्छ ।

– ल्यान्सेट (पिन)को सहायताले औंलाबाट रगतको एक थोपा निकाल्नुहोस् ।

– रगतको थोपालाई अब टेस्ट स्ट्रिपको टुप्पामा छुवाइदिनुपर्छ । र, रगत बिस्तारै स्ट्रिपमा जान्छ ।

– स्ट्रिपमा पुगेको केही सेकेन्डमै ब्लड सुगरको स्तर देखाइदिन्छ ।

यो परीक्षण खालीपेटमा एकपटक र खाना खाइसकेको दुई घण्टापछि एकपटक गरी परीक्षण गर्न सकिन्छ ।

ग्लुकोमिटर कसरी छनोट गर्ने ?

ध्यान राख्नुहोस् कि ग्लुकोमिटर डिस्प्ले पढ्न सजिलो हुनुपर्छ । प्रयोग गर्न जटिल ग्लुकोमिटर किन्नु हुँदैन । यसको मूल्य औसतमा ११ सयदेखि तीन हजार रुपैयाँसम्म पर्छ ।

के छ उपचार ?

डा. भारीका अनुसार मधुमेहको उपचार सम्भव छैन । यसको मात्र व्यवस्थापन हुनसक्छ । व्यवस्थापनका लागि सुगर स्तर हेरेर औषधि र कतिपय अवस्थामा इन्सुलिन दिइन्छ । मधुमेह उच्च भएको खण्डमा अन्य अंग जस्तै, मुटु, मिर्गौला, आँखा, कलेजोमा पनि समस्या छ कि भनेर पिसाबमा प्रोटिन, मुटुमा ईसीजी, कोलेस्टेरोल र आँखा, मिर्गौलाको पनि जाँच गरिन्छ । समस्या देखिए सोही अनुसार उपचार गरिन्छ ।

मधुमेहको औषधि सबैले एकै काम गर्दैन : डा. भट्टराई

सामान्यतया मधुमेह भएकाहरुलाई मेटफर्मिन, सल्फोनाइलुरिया, डापाग्लिफ्लोजिन र इन्सुलिनलगायत औषधि दिइन्छ । मेटफर्मिनले शरीरको इन्सुलिनलाई झन् राम्रोसँग काम गर्न सघाएर कलेजोमा चिनीको उत्पादन घटाउँछ ।

सल्फोनाइलुरियाले प्यान्क्रियाजलाई धेरै इन्सुलिन बनाउन सहयोग गर्छ र शरीरलाई इन्सुलिनको प्रयोग गराउन सहयोग गर्छ ।

यी औषधिको मात्रा हेरेर मात्र मधुमेहको स्तर हेरेर बढाउने र घटाउने गरिन्छ । त्यसैले विना परीक्षण कुनै पनि औषधि हचुवाको भरमा दिनुहुँदैन ।

कस्तो अवस्थामा इन्सुलिन दिइन्छ ?

डा. विनयका अनुसार टाइप वान मधुमेहमा शरीरमा इन्सुलिन उत्पादन नै नहुने हुँदा इन्सुलिन आजीवन र दिनहुँ दिनुपर्छ । इन्सुलिन खर्चिलो हुने भएकाले टाइप वान हुनेहरुको लागि २५ वर्षसम्म इन्सुलिन निःशुल्क दिइन्छ ।

टाइप-२ मा भने सुरुमै एकदमै उच्च ग्लुकोज भएर आएकालाई तुरुन्तै नियन्त्रण गर्न सुरुकै अवस्थामा इन्सुलिन दिइन्छ । औषधि खाँदा मधुमेह नियन्त्रण नभएमा पनि इन्सुलिन दिइन्छ । कुनै पनि कारणले बिरामी अस्पताल भर्ना भएर बस्नुपर्ने अवस्था आएमा इन्सुलिन सुरु गर्नुपर्ने हुन्छ ।

यसैगरी मिर्गौलाको समस्या छ र औषधि चलाउन सकिएको छैन भने मधुमेह नियन्त्रणका लागि इन्सुलिन चलाउनुपर्ने हुन्छ ।

इन्सुलिन लिन छुटेमा के गर्ने ?

टाइप वान मधुमेहमा त इन्सुलिन छुटाउन मिल्दैन । छुट्यो भने सुगर लेभल बढेर अस्पताल नै भर्ना गर्नुपर्ने हुन्छ । टाइप-२ मा भने एक पटक वा इन्सुलिन छुटेमा सुगर लेभल नापेर सम्झिने बित्तिकै लगाइहाल्नुपर्छ ।

क्लिनिकल न्युट्रिसनिस्ट प्रतिमा सेनका अनुसार मधुमेहमा के, कति खाने भन्ने कुरा व्यक्तिको क्षमता, उमेर, तौल र रोगको अवस्थामा भर पर्छ । यद्यपि औसतमा खान सकिने खानेकुराबारे न्युट्रिसनिस्ट सेन यस्तो सुझाउँछिन् ।

मधुमेहका लागि डाइट चार्ट

नास्ता : उसिनेको अण्डा १, ओखर वा बदाम, मौैसमी फलफूल र एक कप ग्रीन टी

बिहानको खाना : सामान्य नेपाली खाना दाल, भात, तरकारी, दही र सलाद (बढी मात्रामा फाइबर र भिटामिन भएको तरकारी र भातको मात्रा कम गर्ने)

खाना खाएको तीन घण्टापछि : मौसमी फलफूल, केही मात्रामा ड्राइफ्रुट्स

खाजा : सम्भव भए फलफूल, बाहिर भएमा रोटी, चिउरा, चना, दही वा सलाद वा अण्डा अम्लेट

साँझ : दूध वा दहीबाट बनेको परिकार वा ग्रीन टी

रातिको खाना : भातको मात्रा कम, दाल बढी र मौसमी तरकारी तथा सागसब्जी (रातको समयमा खाना ढिलो पच्ने हुँदा सुपाच्य तरकारीमा जोड दिने)

मधुमेहमा कस्तो योग गर्ने ?

मधुमेह भएका व्यक्तिलाई चिकित्सकले शारीरिक रुपमा सक्रिय रहन योग तथा व्यायाम गर्न सुझाव दिन्छन् ।

यसै सन्दर्भलाई लिएर योगाचार्य कमल पौडेल भन्छन्, ‘बिरामीले एउटा औषधिको चक्की खानासाथ रोग ठीक हुन्छ भने जसरी योगले मधुमेह निको पार्दैन । केही योग आसन र प्राणायामका विधि छन्, जसले मधुमेह हुन नदिन वा भइसकेको अवस्थामा नियन्त्रण गर्न सहयोग गर्छ ।’

मधुमेहमा योगाभ्यास

मधुमेह नियन्त्रणका लागि अर्धमत्स्येन्द्रासन, भुजंगासान, पश्चिमोत्तानासन, धनुरासन, बालासन, शवासन, मुन्डुकासन । यी योग विधिले मांसपेशीलाई बलियो बनाउनुका साथै शरीरमा इन्सुलिनको उत्पादन सही राख्न मद्दत गर्छ । यससँगै पवनामुक्तासन, नौकासनले शरीरबाट अनावश्यक बोसो घटाउन मद्दत गर्छ ।

शरीरको प्रकृति सबैको फरक-फरक हुन्छ । सबैजना योग भर पर्ने र सबै आसन सबैको लागि उपयोगी नहुने भएको कारण शरीरको अवस्थालाई मध्यनजर गरेर चिकित्सक र योग प्रशिक्षकसँग सल्लाह गरेर मात्र योग सुरु गर्न उपयुक्त हुने पौडेल बताउँछन् ।

पिसाबले कसरी मधुमेहको संकेत गर्छ ?

डा. भट्टराईका अनुसार मधुमेह पहिचान गर्ने ठूलो संकेतमा पिसाब पनि पर्छ । ‘मधुमेहमा रगतमा चिनीको मात्रा बढ्छ, यसले मिर्गौलामा धेरै दबाब दिन्छ र अतिरिक्त चिनीलाई पूर्ण रूपमा अवशोषित गर्न सक्दैनन् । जसकारण पिसाबको माध्यमबाट अतिरिक्त चिनी बाहिर निस्कन्छ, तर यस समयमा शरीरबाट धेरै मात्रामा पानी पनि सोस्छ । जसकारण पिसाब बढी निस्कन थाल्छ । यस्तो अवस्थामा धेरै तिर्खा लाग्दा पानीको मात्रा बढ्छ र बारम्बार पिसाब लाग्छ,’ उनी भन्छन् ।

राति मात्र होइन, दिउँसो पनि पटक–पटक पिसाब लाग्ने समस्या भएमा मधुमेह जाँच गराउन डा. भट्टराई सुझाउँछन् ।

मधुमेहसँग सम्बन्धित ५ भ्रमलाई डा. भारीले यसरी चिर्ने प्रयास गरेका छन् ।

भ्रम : चिनी धेरै खाएर मधुमेह हुन्छ ।

– गुलियो खानेकुरा अत्याधिक खाएर मधुमेह हुँदैन । बरु चिनी खाएर शरीरमा बोसोको मात्रा अनावश्यक बढ्न सक्छ । अत्याधिक बोसो बढ्नु भनेको मधुमेहको जोखिमा ९० प्रतिशत बढाउनु हो ।

भ्रम : सुगर फ्री खानेकुरा जति पनि खान सकिन्छ ।

– सुगर फ्री खानेकुरामा पनि कार्बोहाइड्रेट हुने हुँदा अत्याधिक खाँदा सुगर बढाउँछ ।

भ्रम : मधुमेह भएकालाई चोटपटक लागे निको हुन गाह्रो हुन्छ ।

– मधुमेह भएका अरुमा स्वस्थ व्यक्तिसरह नै चोटपटक लागेको छ भने औषधि उपचारपछि ठीक हुन्छ । तर लामो समयसम्म मधुमेह अत्याधिक उच्च छ भने घाउहरु निको हुन समय लाग्न सक्छ ।

भ्रम : मधुमेह भएपछि भात, आलु र चिनी खानुहुँदैन ।

– मधुमेह भएपछि भात, आलु र चिनी मात्र होइन । स्वस्थ व्यक्ति सरह सबै खानेकुरा खान मिल्छ तर टन्न खानु हुँदैन । पटक-पटक खाने तर कम खानु मधुमेह नियन्त्रण गर्ने सूत्र पनि हो ।

भ्रम : मधुमेह भएकाहरुमा कुनै किसिमको शल्यक्रिया गर्न मिल्दैन ।

– मधुमेह भएकाहरुमा पनि सामान्य व्यक्तिसरह नै शल्यक्रिया गर्न मिल्छ तर त्यसअघि  मधुमेह नियन्त्रणमा राख्नुपर्छ ।

ग्राफिक्स : अरुण देवकोटा/अनलाइनखबर

ग्लुकोज दीर्घरोग मधुमेह स्वास्थ्य
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?