+
+

सुन तस्करी अनुसन्धानकै क्रममा चिनियाँको शंकास्पद मृत्यु

थर्कमानको मोबाइलमा १ किलो सुनको फोटो

नारायण अधिकारी नारायण अधिकारी
२०८१ जेठ २३ गते १८:२४

२३ जेठ, काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएपछि पुनः अनुसन्धान सुरु गरेको प्रहरीले एक चिनियाँ नागरिकको शंकास्पद मृत्यु भएको फेला पारेको छ ।

यसअघि पहिलो चरणको अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बयान लिएका चिनियाँ नागरिक ग्याल्बु लामाको अनुसन्धानकै क्रममा शंकास्पद मृत्यु भएको पाइएको छ ।

सुन तस्करीमा संलग्न र फरार चिनियाँ नागरिकसँग ग्याल्बुको सम्पर्क भएको देखिएपछि सीआईबीले २०८० को भदौमा उनलाई सोधपुछका लागि बोलाएको थियो ।

ग्याल्बु मोबाइल फर्म्याट गरेर आएको सीआईबी स्रोतको भनाइ छ । करिब ६० वर्षका उनले नेपाली पनि राम्रोसँग बोल्न जान्दैनथे ।

बौद्ध बस्दै आएका उनी प्रहरीले बोलाएपछि तीन पटकसम्म सीआईबी पुगेका थिए । सीआईबीले ग्याल्बुलाई बोलाउँदै छाड्दै गरेको थियो ।

सोही क्रममा गत भदौमा बौद्धस्थित आफ्नै कोठामा छटपटाइरहेको अवस्थामा उनलाई चाबहिलस्थित ओम अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउनाासाथ डाक्टरले उनलाई मृत घोषित गरेका थिए ।

उनको कोठामा विषको बट्टा पनि भेटिएको थियो । जसकारण उनले विषसेवन गरेर आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको थियो । पोष्टमार्टम रिपोर्टमा समेत विष सेवनबाट मृत्यु भएको उल्लेख गरिएको छ । तर, ग्याल्बु आफैंले विष सेवन गरेर आत्महत्याको बाटो रोजे वा यसको पछाडि अन्य कारण छ भन्ने यकिन भइसकेको छैन ।

उनको मृत्यु शंकास्पद देखिएकाले अहिले अनुसन्धान अघि बढाइएको सीआईबी उच्च स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

अनुसन्धानका क्रममा सुन तस्करी प्रकरणमा उनको संलग्नता प्रष्ट देखिएको दाबी सीआईबीका अनुसन्धान अधिकारीहरुको छ ।

ठमेलमा व्यवसाय गर्दै आएका लेसाङ शेर्पा भनिने चिनियाँ नागरिकमार्फत अर्का चिनियाँ नागरिक डोयु जुनछिंहासँग भेट भएको ग्याल्बुले सीआईबीसँगको बयानमा बताएका थिए ।

डोयुलाई जग्गा भाडामा खोजिदिएर सुन गाल्ने कारखाना खोल्न सहयोग गर्ने व्यक्ति नै ग्याल्बु रहेको सीआईबीका एक अनुसन्धान अधिकृतले बताए ।

टोखा नगरपालिका–२ स्थित छलिमाया श्रेष्ठ र लक्ष्मी श्रेष्ठको संयुक्त नाममा ४ रोपनी जग्गा ग्याल्बुमार्फत डोयुले भाडामा लिएको खुलेको छ ।

रोपनीको ६० हजारका दरले वार्षिक २ लाख ४० हजारमा २०७६ भदौ २२ गते सम्झौता गरेर जग्गा लिजमा लिइएको थियो ।

त्यही जग्गामा सुन तस्करको गिरोहले कारखाना नै खडा गरेर सुन गाल्ने काम गरेको थियो । राजश्व अनुसन्धान विभागको टोलीले छापा मारेर उक्त कारखानाबाट सुन गाल्ने मेसिन बरामद गरेको थियो । सुन कारखाना खोल्न सहयोग गर्ने उनै ग्याल्बुको मृत्यु रहस्यमय भन्दै सीआईबीले अनुसन्धान गरिरहेको छ ।

जब चिनियाँले पठाए थर्कमानलाई सुनको तस्वीर

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएपछि पुनः अनुसन्धान गरेको सीआईबीले विभिन्न मितिमा ९ जनालाई पक्राउ गरेको छ ।

पक्राउ गरेकामध्ये काभ्रेको तेमाल गाउँपालिका–४ का ४५ वर्षीय कान्छामान (थर्कमान) तामाङ पनि एक हुन्, जसबाट केही महत्वपूर्ण सूचना भेटिएको प्रहरी स्रोतले बताएको छ ।

थर्कमानको फेसबुक म्यासेन्जरमा चिनियाँ नागरिक टासी शेर्पाले सुनको तस्वीर पठाएको अनुसन्धानबाट खुलेको छ । सीआईबी स्रोतले भन्यो, ‘एक किलो सुनको तस्वीर थर्कमानलाई म्यासेञ्जरमा पठाउँदै सुनको कारोबार गर्न आग्रह गरेको देखिएको छ ।’

थर्कमानले आफ्नो म्यासेन्जरमा सुनको तस्वीर आएको स्वीकारेका छन् तर कारोबार भने नगरेको जिकिर गरेका छन् । ‘सुनको तस्वीर पठाएर कारोबार गर्न भनिएको थियो । तर मैले अस्वीकार गरेको हुँ’, उनले सीआईबीसँगको बयानमा भनेका छन् ।

६० किलो सुन भेटिएपछि उक्त घटना अनुसन्धान गर्ने क्रममा गत वर्ष भदौमा सीआईबीले थर्कमानसँग सोधपुछ गरेको थियो । दोस्रो चरणको अनुसन्धानका क्रममा भने सीआईबीले उनलाई पक्राउ गरेर हिरासतमा राखेको छ ।

६० किलो सुन तस्करी प्रकरणमा थर्कमान लामा पक्राउ – Online Khabar

थर्कमानले गत वर्ष चिनियाँ नागरिक टासीसँग लाजिम्पाटको इली रेष्टुरेन्टमा भेट भएको स्वीकार गरेका थिए । ‘पेम्बा शर्माले मेरो नम्बर टासीलाई दिएका रहेछन् । त्यसपछि उनीसँग रेष्टुरेन्टमा भेट भएको हो’, थर्कमानले अघिल्लो पटक सीआईबीमा गरेको कागजमा उल्लेख छ ।

थर्कमान र टासीबीच भेट भएको चार महिनापछि ६० किलो सुन काठमाडौंको सिनामंगलबाट बरामद भएको थियो । त्यसैले उनी शंकास्पद देखिएकाले पक्राउ गरेर नै अनुसन्धान अघि बढाइएको सीआईबीका एक अधिकारीले बताए ।

दोस्रो चरणको अनुसन्धानमा पक्राउ पर्ने अन्य ८ जनामा चार भारतीय, एक चिनियाँ र चार नेपाली छन् । भारत गुजरातका बैजनाथ महादत्त योगल, भारतकै प्रशान्त गणेश वजवलकर, भारत महाराष्ट्रका सिद्धार्थ भनिने सिद्धनाथ अशोक गायकवाड र महाराष्ट्रकै दिनेश भनिने धिरज दिने वैट छन् ।

बौद्ध बस्दै आएका चिनियाँ नागरिक गंगा टासी पनि अहिले सीआईबीको हिरासतमा छन् । त्यसैगरी नेपालीहरुमा थर्कमानसँगै पर्सा वीरगञ्जका ५२ वर्षीय सुरेन्द्रमान श्रेष्ठ, भक्तपुर सूर्यविनायकका राजु खत्री, उदयपुरकी उषा खत्री निरौला र धादिङ सिद्धलेकका प्रेमनाथ सेढाईँ छन् ।

ब्रेक सुमा लुकाएर ल्याएको ६० किलो सुन र भेपमार्फत तस्करी भएको ९ किलो सुनको थप अनुसन्धान गर्न भन्दै दलीय सहमतिका आधारमा सरकारले १४ असोजमा पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा सुनको अवैध पैठारी (तस्करी) सम्बन्धी ४ सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।

आयोगले १ चैत २०८० मा ४८५ पृष्ठ लामो प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनको सिफारिसका आाधारमा प्रहरीले सुन तस्करी प्रकरणको पुनः अनुसन्धान गरेको हो ।

प्रतिवेदन कार्यान्वयनकै क्रममा सीआईबीले आयोगले मुद्दा चलाउन सिफारिस गरेका माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई ५ चैतमा पक्राउ गरेको थियो ।

के हो ६० किलो सुन तस्करी प्रकरण ?

चिनियाँ गिरोहले मोटरसाइकलको ब्रेक सुको स्वरुपमा ल्याएको ६० किलो भन्दा बढी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिंदै गरेको अवस्थामा राजश्व अनुसन्धान विभागले सुन २ साउन २०८० मा बरामद गरेको थियो ।

अनुसन्धानका क्रममा टोखामा सुन पगाल्ने कारखानासमेत फेला परेको थियो । त्यहाँबाट चार वटा सुन गाल्ने मेसिन बरामद भयो । १३ साउनमा चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङ समातिए, जो तस्करीको सुन व्यवस्थापनमा संलग्न रहेको प्रहरीको दाबी छ ।

दावाको सम्बन्ध माओवादी केन्द्रका नेताहरुसँग रहेको भन्दै तत्कालीन प्रमुख प्रतिपक्ष नेकपा एमालेले सुन तस्करीको अनुसन्धान गर्न शक्तिशाली आयोग गठन गर्नुपर्ने माग उठायो ।

एमालेले आयोग गठनको माग गरिरहेका बेला राजस्व अनुसन्धान विभागले संगठित कसुरमा अनसन्धान गर्नुपर्ने देखिएको भन्दै २० साउन सीआईबीले अनुसन्धानको जिम्मा पायो ।

६० किलो सुन प्रकरणमा थप एक जना पक्राउ – Online Khabar

अनुसन्धानपछि सीआईबीले २७ भदौमा जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझायो । जसमा ६० किलो ७७८ ग्राम सुन तस्करी भएको निष्कर्षका साथ ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ विगो कायम गर्दै २९ जनाविरुद्ध मुद्दा दायर भएको थियो । जसमध्ये ठमेलको भियना होटलकी सञ्चालक तथा दावाकी श्रीमती अमला रोका, अछामका जीवन चलाउने र बाराका भोला साह सोनारलाई फरार प्रतिवादी बनाइएको थियो । पक्राउ परेका २६ जनामध्ये रुक्मणी सुब्बा मात्रै ५ लाख धरौटीमा छटेकी थिइन् ।

एलेक्स भनिने याओ पुचेङ, लि वेन टिसुङ, लि नेन्काई, सुटेन भनिने डिङ सेङ्फा, लिन चछ्याङ, टासी भनिने थुप्तेन छिरिङ, दावा छिरिङ, याङ वेन, मी टीएन गरी ९ चिनियाँसहित १६ नेपाली पुर्पक्षका लागि अहिले पनि कारागारमै छन् ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?