+
+

प्राकृतिक विपत्तिले अर्थतन्त्रमा पौने ७१ अर्ब क्षति, भूकम्प बढी विनाशकारी

अर्थ मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई उद्धृत गर्दै जनाए अनुसार फागुन २०८० सम्म ७० अर्ब ६४ करोड बराबर क्षति भएको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८१ जेठ २३ गते १८:१३

२३ जेठ, काठमाडौं । प्राकृतिक विपत्तिले चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा झन्डै ७१ अर्ब रुपैयाँ बराबर आर्थिक क्षति भएको छ ।

अर्थ मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई उद्धृत गर्दै जनाए अनुसार फागुन २०८० सम्म ७० अर्ब ६४ करोड बराबर क्षति भएको छ ।

यस वर्ष भूकम्प सबैभन्दा विनाशकारी भएको पाइएको छ । २०८० कात्तिक १७ मा जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसले पश्चिम नेपालमा १ सय ५३ जनाको मृत्यु भएको थियो ।

मानवीय क्षतिसँगै अर्थतन्त्रमा समेत त्यो भूकम्पले ठूलो क्षति गरेको देखिएको छ । तथ्यांक अनुसार भूकम्पले यस वर्ष ६९ अर्ब १ करोड बराबर क्षति गरेको छ ।

पछिल्लो चार वर्षयता भूकम्पबाट भएको यो सबैभन्दा ठूलो आर्थिक क्षति हो । २०७७/७८ मा भूकम्पबाट ५५ लाख र २०७९/८० मा भूकम्पबाट १० लाख बराबर आर्थिक क्षति भएको आँकडा मन्त्रालयको छ । नेपालमा २०७२ सालपछि यस वर्ष विनाशकारी भूकम्प गएको हो ।

भूकम्पबाट कुन आवमा कति क्षति ?

  • २०७७/७८ : ५५ लाख
  • २०७८/७९ : ०
  • २०७९/८० : १० लाख
  • २०८१/८२ (फागुनसम्म) : ६९ अर्ब १ करोड

आगलागीको क्षति निरन्तर बढ्दै

नेपालमा यस वर्ष भूकम्पपछि आगलागीबाट धेरै आर्थिक क्षति पुर्‍याएको पाइएको छ । तथ्यांक अनुसार फागुनसम्म मात्र १ अर्ब ३४ करोड ९७ लाख बराब क्षति आगलागीका कारण भएको छ ।

नेपालमा चैत र वैशाखमा आगलागीका धेरै घटना हुन्छन् । यसको विवरण आइसकेको छैन । गत वर्षसम्मको वार्षिक तथ्यांक अनुसार २०७९/८० मा मात्र २ अर्ब ६४ करोड बराबर आर्थिक क्षति आगलागीका कारण भएको छ । २०७८/७९ मा २ अर्ब ४२ करोड बराबर क्षति भएको छ ।

पछिल्लो पाँच वर्षमा आगलागीबाट कति भयो आर्थिक क्षति ?

  • २०७६/७७ : १ अर्ब ६८ करोड
  • २०७७/७८ : १ अर्ब ८६ करोड
  • २०७८/७९ : २ अर्ब ४२ करोड
  • २०७९/८० : २ अर्ब ६४ करोड
  • २०८०/८१ (फागुनसम्म) : १ अर्ब ३४ करोड

हावाहुरीको क्षति कम, बाढी–पहिरोबाट क्षति बढ्दै

अर्थ मन्त्रालयका अनुसार हावाहुरीका कारण हुने आर्थिक क्षति यस वर्ष घटेको पाइएको छ । आठ महिनामा ४३ लाख रुपैयाँ बराबर आर्थिक क्षति भएको देखिन्छ । गत आवमा १६ करोड ६१ लाख बराबर आर्थिक क्षति हावाहुरीले गरेको थियो ।

यस वर्ष आठ महिनामै बाढीका कारण अर्थतन्त्रमा २० करोड ५० लाख बराबर क्षति भएको पाइएको छ । गत आवमा ६ करोड ५४ लाख रुपैयाँको मात्र क्षति भएको थियो ।

पहिरोले यस वर्ष ४ करोड ३ लाख रुपैयाँको क्षति भएको देखिएको छ । २०७६/७७ मा पहिरोका कारण १३ करोड १५ लाख बराबर क्षति भएको थियो ।

त्यसयताका आवमा क्रमशः ४ करोड, ७ करोड र ६ करोड बराबर क्षति भएको थियो । यसबाहेक चट्याङ, जनावरको आक्रमण/दुर्घटना, भीषण वर्षा, लेकलाग्ने जस्ता विपद्ले समेत मानवीयसँगै आर्थिक क्षति निम्त्याउने गरेको पाइन्छ ।

चालु आवमा कुन विपद्‍बाट कति आर्थिक क्षति (फागुनसम्म) ?

  • भूकम्प : ६९ अर्ब १ करोड
  • आगलागी : १ अर्ब ३४ करोड
  • बाढी : २० करोड
  • पहिरो : ४ करोड
  • भीषण वर्षा : २ करोड
  • जनावर आक्रमण : १ करोड
  • हावाहुरी : ४३ लाख
  • वनडढेलो : ३२ लाख
  • चट्याङ : १३ लाख

मनसुनको डर

नेपालमा प्राकृतिक विपद्का घटना बढी हुने सिजन मनसुन सुरु हुने क्रममा छ । प्राधिकरणले तयार पारेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना अनुसार आगामी मनसुनमा ४ लाख ४ हजार घरधुरी प्रभावित हुने आकलन छ । जसबाट १८ लाख १ हजार व्यक्ति प्रभावित हुने अनुमान  छ । यो अनुमान गत वर्षभन्दा ६ लाखले धेरै हो ।

यस सिजनमा सरदर भन्दा बढी वर्षा हुने अनुमान गरिएको छ । पछिल्लो १० वर्षमा बाढी, पहिरो र भारी वर्षाका कारण ५ हजार ६ सय १४ घटना भएका थिए । जसमा २ हजार १ सय ४६ जनाको मृत्यु भएको छ । ७ सय ७९ जना बेपत्ता छन् । यस अवधिको आर्थिक क्षति १८ अर्ब रुपैयाँभन्दा माथि छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?