
२३ जेठ, काठमाडौं । प्राकृतिक विपत्तिले चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा झन्डै ७१ अर्ब रुपैयाँ बराबर आर्थिक क्षति भएको छ ।
अर्थ मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई उद्धृत गर्दै जनाए अनुसार फागुन २०८० सम्म ७० अर्ब ६४ करोड बराबर क्षति भएको छ ।
यस वर्ष भूकम्प सबैभन्दा विनाशकारी भएको पाइएको छ । २०८० कात्तिक १७ मा जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसले पश्चिम नेपालमा १ सय ५३ जनाको मृत्यु भएको थियो ।
मानवीय क्षतिसँगै अर्थतन्त्रमा समेत त्यो भूकम्पले ठूलो क्षति गरेको देखिएको छ । तथ्यांक अनुसार भूकम्पले यस वर्ष ६९ अर्ब १ करोड बराबर क्षति गरेको छ ।
पछिल्लो चार वर्षयता भूकम्पबाट भएको यो सबैभन्दा ठूलो आर्थिक क्षति हो । २०७७/७८ मा भूकम्पबाट ५५ लाख र २०७९/८० मा भूकम्पबाट १० लाख बराबर आर्थिक क्षति भएको आँकडा मन्त्रालयको छ । नेपालमा २०७२ सालपछि यस वर्ष विनाशकारी भूकम्प गएको हो ।
भूकम्पबाट कुन आवमा कति क्षति ?
- २०७७/७८ : ५५ लाख
- २०७८/७९ : ०
- २०७९/८० : १० लाख
- २०८१/८२ (फागुनसम्म) : ६९ अर्ब १ करोड
आगलागीको क्षति निरन्तर बढ्दै
नेपालमा यस वर्ष भूकम्पपछि आगलागीबाट धेरै आर्थिक क्षति पुर्याएको पाइएको छ । तथ्यांक अनुसार फागुनसम्म मात्र १ अर्ब ३४ करोड ९७ लाख बराब क्षति आगलागीका कारण भएको छ ।
नेपालमा चैत र वैशाखमा आगलागीका धेरै घटना हुन्छन् । यसको विवरण आइसकेको छैन । गत वर्षसम्मको वार्षिक तथ्यांक अनुसार २०७९/८० मा मात्र २ अर्ब ६४ करोड बराबर आर्थिक क्षति आगलागीका कारण भएको छ । २०७८/७९ मा २ अर्ब ४२ करोड बराबर क्षति भएको छ ।
पछिल्लो पाँच वर्षमा आगलागीबाट कति भयो आर्थिक क्षति ?
- २०७६/७७ : १ अर्ब ६८ करोड
- २०७७/७८ : १ अर्ब ८६ करोड
- २०७८/७९ : २ अर्ब ४२ करोड
- २०७९/८० : २ अर्ब ६४ करोड
- २०८०/८१ (फागुनसम्म) : १ अर्ब ३४ करोड
हावाहुरीको क्षति कम, बाढी–पहिरोबाट क्षति बढ्दै
अर्थ मन्त्रालयका अनुसार हावाहुरीका कारण हुने आर्थिक क्षति यस वर्ष घटेको पाइएको छ । आठ महिनामा ४३ लाख रुपैयाँ बराबर आर्थिक क्षति भएको देखिन्छ । गत आवमा १६ करोड ६१ लाख बराबर आर्थिक क्षति हावाहुरीले गरेको थियो ।
यस वर्ष आठ महिनामै बाढीका कारण अर्थतन्त्रमा २० करोड ५० लाख बराबर क्षति भएको पाइएको छ । गत आवमा ६ करोड ५४ लाख रुपैयाँको मात्र क्षति भएको थियो ।
पहिरोले यस वर्ष ४ करोड ३ लाख रुपैयाँको क्षति भएको देखिएको छ । २०७६/७७ मा पहिरोका कारण १३ करोड १५ लाख बराबर क्षति भएको थियो ।
त्यसयताका आवमा क्रमशः ४ करोड, ७ करोड र ६ करोड बराबर क्षति भएको थियो । यसबाहेक चट्याङ, जनावरको आक्रमण/दुर्घटना, भीषण वर्षा, लेकलाग्ने जस्ता विपद्ले समेत मानवीयसँगै आर्थिक क्षति निम्त्याउने गरेको पाइन्छ ।
चालु आवमा कुन विपद्बाट कति आर्थिक क्षति (फागुनसम्म) ?
- भूकम्प : ६९ अर्ब १ करोड
- आगलागी : १ अर्ब ३४ करोड
- बाढी : २० करोड
- पहिरो : ४ करोड
- भीषण वर्षा : २ करोड
- जनावर आक्रमण : १ करोड
- हावाहुरी : ४३ लाख
- वनडढेलो : ३२ लाख
- चट्याङ : १३ लाख
मनसुनको डर
नेपालमा प्राकृतिक विपद्का घटना बढी हुने सिजन मनसुन सुरु हुने क्रममा छ । प्राधिकरणले तयार पारेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना अनुसार आगामी मनसुनमा ४ लाख ४ हजार घरधुरी प्रभावित हुने आकलन छ । जसबाट १८ लाख १ हजार व्यक्ति प्रभावित हुने अनुमान छ । यो अनुमान गत वर्षभन्दा ६ लाखले धेरै हो ।
यस सिजनमा सरदर भन्दा बढी वर्षा हुने अनुमान गरिएको छ । पछिल्लो १० वर्षमा बाढी, पहिरो र भारी वर्षाका कारण ५ हजार ६ सय १४ घटना भएका थिए । जसमा २ हजार १ सय ४६ जनाको मृत्यु भएको छ । ७ सय ७९ जना बेपत्ता छन् । यस अवधिको आर्थिक क्षति १८ अर्ब रुपैयाँभन्दा माथि छ ।
प्रतिक्रिया 4