
२३ जेठ, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ लक्षित नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको टिप्पणीप्रति आपत्ति जनाएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अन्तरदेशीय विवाह पितृसत्तालाई मन नपरेको बताए । प्रेम र विवाह गर्ने कुरा नितान्त व्यक्तिगत निर्णय भएको उल्लेख गर्दै त्यसलाई अरुले सम्मान गर्नुपर्ने लामिछानेको भनाइ छ ।
‘आज देश विदेश फैलिएर अन्तरदेशीय विवाह पनि हुने गरेको छ । तर पितृ सत्तालाई यो मन परेको छैन । त्यसैले कयौं टिप्पणीहरु आउने गरेका छन् । शिक्षामन्त्रीलाई लक्षित गरेर आएको टिप्पणीप्रति पनि हामीले गम्भीर आपत्ति जनाएका छौं’, लामिछानेले भने, ‘तपाईंले कसलाई माया गर्ने, कोसित विवाह गर्ने, तपाईको व्यक्तिगत जीवन कस्तो हुने भन्नेकुरा तपाईको निर्णय हो, मात्र तपाईको । अरु कसैको निर्णय होइन ।’
केही दिनअघि शिक्षक प्रतिनिधिसँगको भेटमा र गत शनिबार सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विदेशी नागरिकसँग गरेको विवाहलाई लिएर टिप्पणी गरेका थिए ।
माइती गाउँ घुम्न आएको बेला चुनाव हुन लागेको, त्यहाँ समानुपातिक पद्धतिबाट सांसद छानिएको र अहिले मन्त्री बनेको ओलीले टिप्पणी गरेका थिए । ओलीले गरेको टिप्पणीप्रति शिक्षामन्त्रीले पनि बुधबार सामाजिक सञ्जाल एक्समार्फत प्रतिवाद गरेकी छन् ।
उनले लेखेकी छन्, ‘के विदेशसँग कुनै सम्बन्ध हुँदैमा मान्छे देशद्रोही भइहाल्छ रु अहिलेसम्म पुस्तौंदेखि नेपालमै बसेका, नेपालीसँगै विवाह गरेकाहरूले चलाएको देश हो यो, यही कारणले मात्र उत्पात विकास हुने रहेछ त ?’
प्रतिक्रिया 4