+
+

नेपालमा पहिलो पटक फोहोर व्यवस्थापन र जलवायु सम्मेलन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २३ गते १९:४९

२३ जेठ,काठमाडौं । नेपालमा पहिलो पटक फोहोर व्यवस्थापन र जलवायु सम्बन्धी सम्मेलन ‘वेस्ट म्यानेजमेन्ट एन्ड क्लाइमेट कन्फ्रेन्स २०२४’ भएको छ ।

राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले बोधिचित्तको बिरुवा रोपेर सम्मेलन उदघाट्न गरे । नेपाल उद्योग परिसंघ र राष्ट्रिय मानव अधिकार आयोगको संयुक्त आयोजना तथा खाली सिसी र कोकोकोला फाउन्डेसनको सहयोगमा सम्मेलन भएको हो ।

सम्मेलनमा पाँच वटा सत्रमा छलफल भएको थियो । पहिलो सत्रमा नगरहरूले गरेको फोहोर व्यवस्थापनको विषय थियो । जसमा भ्याली मेयर्स फोरमका अध्यक्ष रहेका ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाल, धनकुटा नगरपालिका मेयर चिन्तन तामाङ, बूढानीलकण्ठ नगरपालिका मेयर मिठाराम अधिकारी र चन्द्रागिरी नगरपालिका उपप्रमुख बसन्ती श्रेष्ठ सहभागी थिए ।

सञ्चारकर्मी दिलभुषण पाठकले सञ्चालन गरेको सत्रमा स्थानीय तहले फोहोर व्यवस्थापनको अवस्था, समस्या र चुनौतीबारे धारणा राखेका थिए ।

ललितपुर महानगर मेयर महर्जनले फोहोर व्यवस्थापनमा चुनौतीबीच काम गरिरहेको बताए । ‘फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि संघीय सरकारले पर्याप्त सहयोग गरेको अवस्थामा सकिन्थ्यो । महानगरले आफ्नो प्रशोधन केन्द्र र ल्यान्डफिल साइट बनाउन नसक्दा समस्या छ,’ महर्जनले भने ।

यस्तै धनगढी उपमहानगर मेयर हमालले ‘हाम्रो धनगढी, सफा धनगढी’ कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले घरमै फोहोर वर्गीकरण गर्नेदेखि सरसफाई गर्ने बानी विकास गरिरहेको बताउँदै विद्यालय स्तरमै कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।

उनले स्थानीयलाई कडाइसाथ फोहोर व्यवस्थापनमा संलग्न गराएको बताए । यस्तै धनकुटा नगरपालिका मेयर तामाङले ल्यान्डफिल साइट व्यवस्थापन गरेर फूलबारी बनाइएको बताए ।

‘धनकुटामा दक्षिण एसियाकै उत्कृष्ट फोहोर व्यवस्थापन हामीले गरेका छौं । हाम्रोमा लामो प्रयासपछि भएको हो । सबै सरकारी तहबाट नै फोहोर व्यवस्थापन भएको छ,’ उनले भने, ‘स्थानीयको साथले सम्भव भएको हो ।’

त्यसैगरी बूढानीलकण्ठका मेयर अधिकारीले भने केही निजी क्षेत्रले फोहोर वर्गीकरण र प्रशोधन गरे पनि पर्याप्त नभएको बताए ।

यस्तै चन्द्रागिरी उपमेयर श्रेष्ठले काठमाडौं छिर्ने, बाहिरिने यात्रुले सडकमा बोतल, चाउचाउ खोल फाल्ने कारण पनि फोहोर भएको सुनाइन् । उनले फोहोर व्यवस्थापन सदस्य कार्ड बाँडेर काम गरिरहेको बताइन् ।

दोस्रो सत्रमा फोहोरबाट मोहोर (वेस्ट टु वेल्थ) छलफलमा सरकारका पूर्वसचिव चन्द्रकुमार घिमिरेले नेपालको नीति तथा कार्यक्रममा नवप्रवर्तनको विषय ल्याउँदा पनि फोहोर सम्बन्धी नवप्रवर्तन गर्ने युवाका लागि नभएको बताए ।

कार्यक्रममा बिजनेस अक्सिजनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सिद्धार्थराज पाण्डे, कोकाकोला फाउन्डेसनका पब्लिक अफेयर डाइरेक्टर डा. आदित्य पण्डा, गणेशा इकोस्फेयरका निर्देशक एस शर्माले धारणा राखे ।

यस्तै तेस्रो सत्रमा ‘कार्बन, प्लाष्टिक केडिट : कन्भर्टिङ इमिसन इन्टु अर्थ सेभिङ’ मा छलफल भयो । जसमा परिसंघ उपाध्यक्ष रोहित गुप्ता, अल्टरनेटिभ इनर्जी प्रोमोसन सेन्टर सहायक निर्देशक शुभलक्ष्मी श्रेष्ठ, ग्रिन रोड वेस्ट म्यानेजमेन्ट सहसंस्थापक विमल बास्तोला, कार्बन क्रेडिट तथा ग्रिन फ्युल एक्सपर्ट सिद्धार्थ बाली वक्ताा थिए ।

यस्तै ‘क्लियरिङ द एयर’ विषयमा चौथो सत्रमा छलफल भएको थियो भने पाचौं सत्रमा ‘सगरमाथामा दबाब छ’ भन्ने विषय थियो ।

सम्मेलनमा ६ सय बढी वातावरण क्षेत्रमा कार्यरत अभियन्ता, वातावरण विषयका विद्यार्थी, फोहोर सम्बन्धी काम गर्ने संघसंस्थाका प्रतिनिधि, सरोकारवाला निकायको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?