२३ जेष्ठ, काठमाडौं । नवौं महिला राष्ट्रिय चेस प्रतियोगितामा पूर्व नेपाल वुमन नेशनल च्याम्पियन सिन्दिरा जोशीले ८ अंक बनाउदै एकल अग्रता हासिल गरेकी छन् ।
यससँगै उनी आगामी सेप्टेम्बर ९ देखि २३ गते सम्म हंगेरीको बुढापेष्टमा आयोजना हुने ४५ औं चेस ओलम्पियाड खेलमा छनोट भएकी छिन्।
नेपाल बुद्धिचाल महासंघले ४५ औं चेस ओलम्पियाड टिम खेलका लागि नेपालका शीर्ष रेटेड खेलाडी १, निवर्तमान नेपाल च्याम्पियन १ र राष्ट्रिय प्रतियोगितामा पहिलो, दोस्रो अनि तेस्रो स्थान प्राप्त गर्ने ३ जना खेलाडीसहित जम्मा ५ जना खेलाडी पठाउने निर्णय गरेको थियो ।
जसमा महिला निवर्तमान नेपाल च्याम्पियन च्याम्पियन र शीर्ष रेटेड खेलाडी सुजना लोहनी एकै ब्यक्ति भएको कारण ९ औं राष्ट्रिय प्रतिस्पर्धाबाट ४ जना महिला खेलाडी छनौट हुने छन् ।
सिन्दिरा संगै ओलम्पियाडमा सहभागी हुने होडमा रहेकी शान्ति धिमाल ७ अंक जोडेर दोस्रो स्थानमा उभिएकी छिन् ।
नेपाल राष्ट्रको झण्डा मुनि बसेर बुढापेष्टमा छनौट हुन पूजा भण्डारी र कृतिसरा अधिकारी समान ६.५ अंक बोकेर संयुक्त तेश्रो स्थानमा रहेका छन् ।
भोलिको अन्तिम चरणवाट हंगेरीको वाटो तय गर्ने धुनमा काठमाडौंकी रिया श्रेष्ठ र बिनिता कपाली समान ५.५ अंक बनाएर झिनो आशाको पर्खाइमा रहेका छन्।
झापाका राजन सुवेदी छनोट नजिक
२४ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको पुरुष तर्फ १९५९ रेटेड प्राप्त झापाका राजन सुवेदीले ६ खेलमा जीत र एकमा बराबर खेल्दै नेपाल च्याम्पियन हुने मार्गमा एकल अग्रता कायम गरेका छन्।
नेपाल च्याम्पियनको प्रतिस्पर्धामा रहेका १९६१ रेटेड प्राप्त एआईएम सुश्रुत दाहाल, २११२ रेटेड युवा पुरुषोत्तम सिलवाल र २०८५ रेटेड एफएम क्षितिज भण्डारी तिनै जनाले ६/६ अंक जोडेर संयुक्त दोस्रो स्थानमा रहन सफल भएका छन् ।
नेपाल बुद्धिचाल महासंघले चेस ओलम्पियाडमा सहभागी गराउन नेपालका उत्कृष्ट फिडे रेटेड विवेक थिङ र निवर्तमान नेपाल च्याम्पियन रुपेश जैसवालको नाम पक्का गरिसकेको छ ।
बाँकी ३ जना खेलाडी राष्ट्रिय प्रतियोगिताको विजेता, उपविजेता र तृतीय हुनेले स्थान पक्का गर्नेछन् । १९५१ रेटेड झापाका प्रकाशचन्द्र नेपाल ५.५ अंक, २०५५ रेटेड रुपेश जैसवाल ५ अंक, १८९५ रेटेड सुशील चौधरी ४ अंक बनाएर आआफ्नो खेललाई निरन्तरता दिइरहेका छन् ।
नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्ष एवं राष्ट्रिय प्रतियोगिताका संयोजक दिपेन राईका अनुसार १२ जना शीर्ष खेलाडी बिच ११ चरणको राउण्ड रोविन खेल सम्पन्न पश्चात् बिहिबार पुरस्कार वितरण तथा समापन कार्यक्रम होटल ले हिमालयमा हुने जानकारी गराएका छन् ।
प्रतिक्रिया 4