+
+
नेता कार्यकर्तासँग पोखरामा प्रचण्ड :

नेतृत्वमा प्रचण्ड नै महान !

अमृत सुवेदी अमृत सुवेदी
२०८१ जेठ २३ गते २०:५६

२३ जेठ, पोखरा । बुधबार पोखरा सभागृहमा खचाखच नेता–कार्यकर्तासामु माओवादी अध्यक्ष प्रचण्डले पार्टीमा अराजकता मौलाएको मात्रै बताएनन्, चरम गुटबन्दीले माओवादी नै फुट्न सक्ने संकेत समेत गरे ।

माओवादी प्रदेश समितिको आयोजनामा भएको वैचारिक एवं राजनीतिक प्रशिक्षणमा प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले माओवादी बन्न नसकेको निराशा पोखे ।

पार्टीमा गुटबन्दी, अराजकता, व्यक्तिकेन्द्रित प्रवृत्ति मौलाएको भन्दै उनले यस्तो प्रवृत्ति नरहेमात्र यो सरकार पाँच वर्ष जान सक्ने उल्लेख गरे । सत्तारुढ दल एमालेले बजेटमा असन्तुष्टि राखे पनि अहिले एकै ठाउँमा उभिएको पनि प्रचण्डले कार्यकर्तालाई सुनाए ।

मधेशमा अहिलेकै सत्ता समीकरणको सरकार बन्ने र सबैभन्दा जटिल स्थिति गण्डकीमै रहेको तर आफूले राजनीतिक हिसाबले मिलाउन लागिरहेको प्रचण्डको भनाइ छ ।

प्रचण्डले सबैभन्दा बढी जोड भने पार्टीमा गुटबन्दी बढेको र माओवादी नेतृत्वमा अझै आफ्नो विकल्प नभएको जिकिर गरे । प्रचण्डको अभिव्यक्तिले माओवादी कतै फुटकै दिशामा त छैन भन्नेसमेत कार्यकर्तामा संशय पैदा गराएको छ ।

माओवादीमा प्रचण्डपछि उत्तराधिकारी को भन्ने बहस एकातिर छ भने पछिल्लो समय जनार्दन शर्मा र अर्थमन्त्री वर्षमान पुनको तल्लो तहसम्म गुटको राजनीति मौलाएको छ । खिइँदै गइरहेको माओवादीको जनाधार र बढ्दै गइरहेको गुटको राजनीतिले अझै ठूलो संकट निम्त्याउन सक्ने संकेत स्वयं प्रचण्डकै थियो । माओवादी फुटको प्रसंगलाई जोड्दै प्रचण्डले अब पनि कोही त्यही बाटो हिँड्छ भने दुर्भाग्यपूर्ण हुने बताए ।

‘साथीहरु त धेरै नै लिएर हिँड्नुभएको थियो नि, किरणजीहरुले (मोहन वैद्य) । अब फेरि अहिले कोही त्यही बाटो हिँड्छ भने त त्योभन्दा ठूलो दुर्भाग्यपूर्ण केही हुँदैन’, प्रचण्डले भने, ‘त्यसकारण मेरो तपाईंहरुलाई अपिल, ओल्तिर–पल्तिर, गुटबन्दीमा, योसँग लागेपछि पद पाइन्छ कि भन्याजस्तो गरी नलाग्नुहोला, हामी सबै पार्टीको पक्षमा लाग्दा महान भइन्छ, विचारको पक्षमा हुँदा महान भइन्छ ।’

त्यसो त यसअघि पनि गण्डकीको विभिन्न कार्यक्रम र प्रशिक्षणमा प्रचण्डले पार्टीमा गुटबन्दी र अराजकता मौलाएको बताउने गरेका थिए ।

२०७८ चैत १० गते पोखरामा भएको प्रशिक्षण कार्यक्रमै पनि गण्डकीमा भइरहेको गुटको राजनीतिले आफू दिग्दार भएको बताएका थिए ।
कास्कीमा जनार्दन र वर्षमान गुटको लडाईं तल्लो तहसम्मै छ । गण्डक प्रदेशका अन्य जिल्लामा पनि त्यही खालको गुटबन्दीले जरा गाड्दै गइरहेको नेताहरु नै बताउँछन् ।

अहिलेकै नेतृत्वको पक्षमा उभिने नेता कार्यकर्ता नै महान हुने भन्दै प्रचण्डले अझै आफ्नो विकल्प नरहेकोसमेत जोड दिए ।

‘शान्तिमा आउँदा के हो के हो भन्ने तपाईंहरुलाई पनि डाउट, अब त डाउट छैन होला नि । कि अर्को लिडर खोज्ने मन छ र तपाईंहरुलाई, अहिले ?’, प्रचण्डले कार्यकर्तालाई सोधे, ‘खोजेर हुने भको भए त अस्तिनै भइसक्थ्यो । मैले नेतृत्व छोड्ने बेलामा त उत्तराधिकारी बनेर आओस् भन्ने म चाहन्छु नि । सधैं म नेता भइराख्ने त होइन, केही वर्ष न हो ।’

गुटबन्दीलाई बढावा नदिने र नेतृत्वको पक्षमा उभिए महान हुने प्रचण्डको भनाइ छ । ‘नेतृत्वलाई धारेहात लगाउन थाल्नुभयो भने अरु कसैको हुनुहुन्छ, महान चाहिँ हुनुहुन्न । गुटको पछि नलाग्नुहोला, गुटले कहीँ लाँदैन, भड्खालोतर्फ लान्छ’, प्रचण्डले भने ।

माओवादीले लामो समय दिएर वैचारिक राजनीतिक प्रशिक्षण चलाउने, बहस गर्ने अहिलेसम्म नगरेको स्वीकार्दै प्रचण्डले मूलभूत कुरामा मात्र ध्यान केन्द्रित गर्न सकेको बताए ।

आठौं महाधिवेशनमा वैचारिक, राजनीतिक बहस उठाउने जमर्को गरे पनि भनेजस्तो नभएको उनले स्वीकारे । तर, गुटबन्दी र अराजकता मौलाएको उनको भनाइ थियो ।

‘जतिसुकै प्रशिक्षण गरेपनि दिनप्रतिदिन पार्टीभित्र मौलाउन खोजेको अराजकतावाद, व्यक्तिवाद, गुटवाद र आत्मकेन्द्रित प्रवृत्ति नै बढ्दै गयो, बढ्दै गयो’, प्रचण्डले भने, ‘महाधिवेशनबाट नेपाली क्रान्तिको समाजवादी बाटो कस्तो भन्नेबारे चर्चा गरेका थियौं । त्यो दस्तावेज छलफल हुँदासम्म महाधिवेशनको हलसम्म त हामी सबैको निम्ति त्यसले केही न केही ऊर्जा दियो तर निस्किएपछि यथार्थ जीवनमा जाने क्रममा धेरै त्यसले काम गरेजस्तो देखिएन ।’

प्रचण्डले किन यसरी गुटबन्दीले पार्टीमा संकट नै निम्त्याउन सक्ने संकेत गरे त ? गण्डकी प्रदेशका माओवादी सांसद तथा पूर्व मन्त्री रेशमबहादुर जुग्जाली भन्छन्, ‘ढाँट्नुपर्ने कुरै छैन, माथिदेखि तलसम्मै गुटको राजनीति छ । तर, कास्कीमा गुट–गुटबीच बोलचालैसमेत छैन ।’

जुग्जालीले अध्यक्ष प्रचण्डले नेताहरुलाई ठीक ठाउँमा ल्याउनलाई अलि जोड दिएरै भन्ने गरेको र अहिलेको प्रशिक्षण त्यसैको निरन्तरता भएको बताए ।

कास्कीमा वर्षमान पुन समूहको नेतृत्व पूर्वसांसद केन्द्रीय सदस्य राजकाजी गुरुङले गरिरहेका छन्, उनी अहिले पुनकै सचिवालयमा छन् ।

पहिले नेता गुरुङ, दीपक कोइराला, रामजी बरालको व्यक्तिकेन्द्रित गुटसमेत थियो । तर, अहिले गुरुङपछि बरालले कास्कीको इन्चार्जको जिम्मेवारी पाएपछि उनलाई पनि गुरुङकै नजिक मानिएको छ । दीपकलाई जनार्दन शर्मा समूहका नेताका रुपमा कार्यकर्ताले चिन्छन् ।

‘पार्टी नेतृत्व प्रचण्डकै हो । अरु गुटमा पद पाइन्छ कि भनेर लागेर पार्टी बलियो हुँदैन भन्ने अध्यक्षको सन्देश हो’, केन्द्रीय सदस्य कोइरालाले भने, ‘तर, हिजो किरणहरुले छोडे अब छोड्नेहरुलाई स्वागत गर्दै छौं भन्ने उहाँको भनाइ हो ।’

प्रचण्डले समाजवादी मोर्चामा रहेका जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव नभए पनि अशोक राईहरु रहेको, विप्लव, महिन्द्रराय यादवसँग छिट्टै धुव्रवीकरण हुने र अरु वामपन्थी दलसँग पनि मित्रवत सम्बन्ध राख्न आग्रह गरेका थिए ।

कास्कीका माओवादी नेता विश्वप्रकाश लामिछाने पनि प्रचण्डले गुटबन्दीले धेरै नै पार्टीलाई नोक्सान पुर्‍याएको र अब त्यही बाटोमा लागे ठूलो नोक्सानी बेहोर्नुपर्ने चिन्ता व्यक्त गरेको सुनाए ।

माओवादी नेता झलकराम तिवारीले पार्टी फुटकै खतराको विन्दुमा नरहेको तर गुटबन्टीले पार्टीमा संकट निम्त्याएको र त्यो कास्कीमा झनै चरम रहेकाले अध्यक्षले बढी जोड यही भूगोलमा आएर गरेको बताए ।

यसअघि कास्कीमा २ सिट जितेको माओवादी अहिले शून्य छ । यसअघि १२ सिट जितेको गण्डकी प्रदेशसभामा अहिले जम्मा ८ सिट छ । गण्डकीबाट संघमा गोरखाबाट प्रचण्ड र बागलुङबाट सचिव देवेन्द्र पौडेल निर्वाचित छन् भने २ जना समानुपातिक गरी जम्मा ४ जना प्रतिनिधिसभा सदस्य छन् ।

अहिले कास्कीमा प्रदेशमा दुई जना र संघमा एक जनाले टिकट पाए पनि कसैले जित्न नसक्नुलाई प्रचण्डले गुटबन्दीको असरका रुपमा हेरेको नेताहरुको विश्लेषण छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?