२३ जेठ, काठमाडौं । सप्तरीको राजविराजमा जारी राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको छैटौं संस्करण अन्तर्गत छैटौं दिन सम्पन्न दुईवटा खेलमा कञ्चनरुप राइनोज र छिन्नमस्ता लायन्स विजयी भएका छन्।
कञ्चनरुपले राजविराज राजदेवी ११ लाई ६ विकेटले र छिन्नमस्ताले बलान बिहुल सुपर किंग्सलाई ३७ रनले पराजित गरे ।
बुधबारको पहिलो खेलमा राजविराज राजदेवीले दिएको १५५ रनको लक्ष्य कन्चनरुप राइनोजले ३ ओभर बाँकी हुँदै ४ विकेट गुमाएर भेटायो।
कन्चनरुपका ओपनर शुभ कंसाकारले ९३ रन बनाउदै जितमा महत्वपूर्ण भूमिका निर्वाह गरे । अफ द म्याच घोषित शुभले ५३ बलमा ८ चौका र ८ छक्का प्रहार गरे। राकेश कामतले २४ तथा राहुल मण्डलले अविजित २५ रन बनाए । राजदेवी ११ का बलर विजय यादवले २ तथा श्रवण यादव र जितेन्द्र यादवले १/१ विकेट लिए।
टस जितेर ब्याटिङ गरेको राजविराज राजदेवी ११ ले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो । उसका लागि श्रवण यादवले सर्वाधिक ५५ रन बनाए जुन क्रममा उनले ३० बलमा ६ चौका र ३ छक्का प्रहार गरे। हिमांशु दत्तले ३१, मन्नु दासले १५ तथा रिजन ढकालले १४ रन बनाए ।
कञ्चनरुपको बलिङमा कप्तान राशिद खान र चित्रबहादुर विष्टले २/२ विकेट लिए। राशिदले ४ ओभरमा २२ तथा चित्रले ४ ओभरमा १९ रन खर्चिए। दिनेश अधिकारी र अरनिको यादवले १/१ विकेट लिए।
दोस्रो खेलमा छिन्नमस्ता लायन्सले दिएको १४० रनको लक्ष्य पछ्याएको बलान बिहुलले १७.१ ओभरमा १०२ रनमा सबै विकेट गुमायो।
बलान बिहुलको लागि साहिल पटेलले सर्वाधिक २३ रन योगदान दिए । साहब आलमले अविजित १६, तुलबहादुर थापाले १५ तथा बब्बु गोठीयाले १४ रन योगदान दिए।
छिन्नमस्ताको बलिङमा फिर्दोस अन्सारीले सर्वाधिक ३ विकेट लिए । प्लेयर अफ द म्याच समेत घोषित अन्सारीले ३ ओभरमा २८ रन खर्चिए । मोहम्मद सोहेल र गुनन्द रेले २/२ विकेट तथा विशाल पटेल र रेवती रेले १/१ विकेट लिए।
यस अघि टस जितेर ब्याटिङ गरेको छिन्नमस्ता लायन्सले २० ओभरमा ८ विकेट गुमाएर १३९ रन बनायो ।
छिन्नमस्ताको लागि मयन यादवले सर्वाधिक ३२ रन योगदान दिए भने विशाल पटेलले अविजित २९, फिर्दोस अन्सारी र विकास दासले समान २२ रन बनाए। बलिङतर्फ बलान बिहुलका शाहब आलम र बब्बु गोठीयाले समान २ विकेट लिए। बिबेक यादव, नितेश यादव र गोमानन्द अमात्यले समान १ विकेट लिए ।
४ खेलमा ३ जित र १ नतिजाविहिन खेल खेलपछि छिन्नमस्ता ७ अंक सहित अंकतालिकाको शिर्षस्थानमा छ। एक खेल अगावै छिन्नमस्ताले प्लेअफमा स्थान समेत सुरक्षित गरेको छ।
यस्तै ४ खेलमा ३ जित र १ हार बेहोर्दै ६ अंक सहित दोस्रो स्थानमा रहेको कञ्चनरुप राइनोजले पनि प्लेअफमा स्थान सुरक्षित गरेको छ। चारवटै खेलमा हार बेहोरेको बलान बिहुलको एक खेल अगावै प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ। ्आ
जको हार पछि ४ खेलमा २ अंक रहेको राजविराज राजदेवी अंकतालिकामा पाँचौ स्थानमा छ। ३ खेलमा ३ अंक सहित तिलाठी कोइलाडी चौंथो स्थानमा छ। ३ खेलमा ४ अंक सहित तिरहुट टाइगर्स तेश्रो स्थानमा छ।
प्रतियोगिता अन्तर्गत सातौँ दिन बिहीबार पनि दुई खेल हुनेछन्। विहान ९:३० बजेको खेलमा सनराइज एघार तिलाठी कोइलाडी र कन्चनरुप राइनोज तथा दिउँसो १:३० बजेको खेलमा छिन्नमस्ता लायन्स र तिरहुट टाइगर्स बीच प्रतिस्पर्धा हुनेछ।
जेठ २८ गते सम्म आयोजना हुने प्रतियोगितामा ६ टिम सहभागी छन्। राउण्ड रोबिन लिग अन्तर्गत संचालन हुने लिग अन्तर्गत सबै टिमले एक अर्कासंग १/१ खेल खेलिसकेपछि समूहको शीर्ष-४ टिम बीच प्ले-अफमा प्रतिस्पर्धा हुनेछ।
सप्तरी क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा राष्ट्रिय क्रिकेटरहरु विनोद भण्डारी, भीम सार्की, विवेक यादव, दिलिप नाथ, रिजन ढकाल, शाहब आलम, बसिर अहमद, रासिद खान जस्ता राष्ट्रिय क्रिकेटरहरु विभिन्न टिमको प्रतिनिधित्व गरिरहेका छन्।
प्रतिक्रिया 4