+

पाकिस्तानको आश : तेस्रोपल्ट भाग्यमानी

२०८१ जेठ  २४ गते ६:१७ २०८१ जेठ २४ गते ६:१७
पाकिस्तानको आश : तेस्रोपल्ट भाग्यमानी

पाकिस्तानले ट्वान्टी-ट्वान्टी विश्वकप २०२४ को सुरुआत बिहीबार अमेरिकाविरुद्धको खेलसँगै गर्दैछ । पाकिस्तानी टिमको आश हो, कम्तीमा तेस्रो पल्ट आफू भाग्यमानी सावित हुनेछ ।

सन् २०२१ को संस्करणमा पाकिस्तान सेमिफाइनलमा रोकियो । त्यसको पनि एक वर्षपछिको संस्करणमा फाइनलमा पराजित भयो । के अब पालो पाकिस्तान च्याम्पियन हुने समयको हो त ? कम्तीमा पाकिस्तानका लागि प्रतियोगिताको तयारी आफैंमा सहज भने रहेन ।

पाकिस्तानले यही विश्वकपका लागि भनेर तीन महिना अगाडि कप्तान फेरेको छ । शाहिन शाह अफ्रिदीको स्थानमा बाबर आजम फेरि कप्तानका रूपमा फर्केका छन् । यो आफैंमा विवादास्पद निर्णय रह्यो ।

पछिल्लो समय ट्वान्टी ट्वान्टी क्रिकेटमा पाकिस्तानको प्रदर्शन पनि गतिलो रहन सकेको छैन । न्युजिल्यान्डविरुद्ध घरमा ट्वान्टी ट्वान्टी सिरिज बराबरी खेलेको पाकिस्तान आयरल्यान्डविरुद्धको सिरिजमा विजयी त रह्यो, तर पहिलो खेल गुमाएर दबाबमा पनि रह्यो ।

अहिले तत्कालका लागि पाकिस्तानी टिम सुनसान छ । सबैलाई थाहा छ, विश्व क्रिकेटमा पाकिस्तानको जत्तिको प्रतिभाशाली खेलाडीको कुनै कमी छैन। तर समस्या के भने यी खेलाडीले कहिल्यै एक रूपले खेल्दैनन् । एक समय विश्वस्तरीय खेल प्रदर्शन गर्ने पाकिस्तान अर्को पल्ट सबैभन्दा खराब देखिन्छ । खास कुरा के भने पाकिस्तानी टिमले यस्तै खेल्नेछ भनेर कहिले पनि भविष्यवाणी गर्न सकिन्न । कहिले के, कहिले के, यो टिमको प्रदर्शनको विशेषता नै हो ।

तर कप्तान आजम उत्साहित छन् । भन्छन्, ‘पहिला सेमिफाइनल । त्यसपछि फाइनल । अब हाम्रो लक्ष्य उपाधि नै जित्ने हो ।’

भारतमा एक वर्ष अगाडि भएको वान डे विश्वकपयता पाकिस्तानी क्रिकेटले धेरै उलटफेर देखेको छ । कप्तान मात्र होइन, पाकिस्तानी टिमको प्रशिक्षक र उनका साथीहरूको समूह नै दुई पल्ट परिवर्तन भइसकेको छ । स्वयं पाकिस्तानी क्रिकेट बोर्डको नेतृत्वमै फेरबदल भइसकेको छ । अहिले मोहसिन नक्भी बोर्ड प्रमुख छन् ।

उनी केन्द्रीय मन्त्री पनि हुन्, आफ्नै न्युज च्यानल पनि छ । उनले ह्वाइट बल प्रशिक्षकका रूपमा दक्षिण अफ्रिकाका ग्यारी क्रिस्टर्नलाई ल्याएका छन् ।

नक्भी आफैं कति धेरै उत्साहित छन् भने पाकिस्तानले यो विश्वकप जिते, प्रत्येक खेलाडीले एक लाख डलर पुरस्कार पाउने घोषणा गरिसकेका छन् । पाकिस्तानी टिम रनका लागि अत्याधिक कप्तान आजम र मोहम्मद रिजवानमा निर्भर हुनेछ । बलरमा अफ्रिदी प्रमुख रहने छन् नै ।

खासमा पाकिस्तानको प्रमुख अस्त्र भनेकै सटिक बलिङ आक्रमण नै हो । पाकिस्तान यो विश्वकपमा त्यो समूहमा छ, जसमा भारत पनि छ । जति बेला पाकिस्तान र भारत भिड्ने छन्, त्यो यस विश्वकपकै सबैभन्दा ठूलो खेल हुनेछ ।

यो खेलको नतिजा जस्तै भए पनि न त पाकिस्तान न त भारतलाई यो समूहबाट सुपर–एट पुग्न गाह्रो हुनेछ । पाकिस्तानलाई पनि अमेरिका, क्यानाडा र आयरल्यान्डले खासै चुनौती दिन सक्ने छैनन्, तर डर के छ भने पाकिस्तान भन्ने टिम चिप्लिने यसै कम आँक्ने मिल्ने टिमसँगै त हो ।

आईसीसी टी-२० विश्वकप २०२४ पाकिस्तान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय