+
+

देउवा समूहमा नेताको खोजी

विगतमा देउवा समूहका भनी चिनिएका नेताहरु १५औं महाधिवेशनमा नयाँ रणनीति र समूहसहित उदाउन सक्छन्, अनि नयाँ नेताहरु समूहमा प्रवेश गर्ने सम्भावना पनि उत्तिकै छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०८१ जेठ २४ गते २०:०८

२४ जेठ, काठमाडौं । कांग्रेसको शीर्ष नेतृत्वमा सभापति शेरबहादुर देउवा नौ वर्षयता निरन्तर छन् । पार्टीभित्र उनीनिकट समूहमा बिस्तारै नेताको खोजी सुरु हुन थालेको छ ।

कांग्रेसका दुई खेमामध्ये तुलनात्मक रुपमा संस्थापन पक्ष एकताबद्ध छ । विगतमा लामो समय कोइराला पक्षको छायामा परेको हालको संस्थापन पक्षलाई सभापति देउवाले एकढिक्का बनाइराखेका छन् । पत्नी आरजु राणासँग विमति राख्ने व्यक्तिहरुलाई समेत उनले टाढा जान दिएका छैनन् ।

दोस्रोपटक सभापति बनिसकेका देउवाका लागि अब सोही पदमा रहन विधानले दिंदैन । १५ औं महाधिवेशनबाट देउवाले पद त्याग्नुपर्दछ । १३औं भन्दा १४ औं महाधिवेशनबाट देउवा थप शक्तिशाली बनेका थिए । अहिले कांग्रेसभित्र उठ्दै गरेको प्रश्न हो, केन्द्रीय समितिमा ८२ प्रतिशतको शक्ति रहेको संस्थापन पक्षलाई एकतावद्द अघि बढाउन सक्ने क्षमता देउवा जतिकै अर्को को होला ?

एक उच्च तहका नेताको बुझाइमा देउवा समूहमा नेताको खोजी सुरु भएको छ, जुन खोजीले परम्परागत कोइराला-देउवा गुटको अघोषित संरचना समेत भत्काउने छ । ‘शेरबहादुर दाइसँग निकट नेताहरु यति बेला आफू नेता हुन्छु भनिरहनुभएको छैन, दोस्रो पुस्ताको कोही व्यक्तिलाई अघि सार्न चाहिराख्नुभएको छ,’ ती नेताले भने, ‘यो खोजी कांग्रेसको आन्तरिक जीवनका लागि रोचक छ ।’

पूर्वसभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालासँग भिड्दै छुट्टै समूहको अस्तित्व कायम गर्न सफल भएका देउवा १५औं महाधिवेशनमा प्रतिस्पर्धी नहुने पक्कापक्कीसँगै यो छटपटी सुषुप्त रुपमा प्रकट हुन थालेको हो ।

खासगरी देउवा समूहभित्र राजनीतिक करिअर बाँकी नै रहेका नेताहरुले नयाँ पुस्तासँग जोडिएर भए पनि आफूलाई मजबुत राखिराख्न खोजेका छन् ।

कांग्रेसमा नियमित समयमा महाधिवेशन हुने हो भने २०८२ मंसिरबाट नयाँ नेतृत्व आउनुपर्ने हुन्छ । देउवाको कार्यकाल दुई वर्ष पनि बाँकी नरहँदा त्यसपछि उनको समूह हाँक्ने पात्रका बारेमा कांग्रेसमा चर्चा सुरु भएको छ ।

कांग्रेसका नेताहरुका अनुसार देउवाले समूहको नेतृत्व लिने गरी अघि बढाउने व्यक्तिको निर्णयमा सभापति पुगिसकेका छैनन् । आफ्नो अनुकूल हुने गरी प्रतिबद्धता गर्ने व्यक्तिलाई नै उनले अघि सार्नेछन् ।

देउवाले कुनै पनि नेतालाई  ‘तिमी हौ’ हाम्रो समूहको नेता भनिसकेका छैनन् । यसअर्थ उनको समूहको कसले नेतृत्व गर्छ भन्ने कुनै टुंगो छैन

देउवाको समर्थनमा संस्थापन समूहबाट उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र प्रकाशमान सिंह उक्त पक्षको नेतृत्वमा पुग्ने आकांक्षी हुन् ।

देउवाले समूहको नेता हुने गरी भित्र्याउन सक्ने व्यक्तिमा संस्थापनइतरका नेता डा.शेखर कोइराला, पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र डा. शशांक कोइरालाको चर्चा छ ।

विगतमा देउवा समूहका भनी चिनिएका नेताहरू १५औं महाधिवेशनमा नयाँ रणनीति र समूहसहित उदाउन सक्छन्, अनि नयाँ नेताहरु समूहमा प्रवेश गर्ने सम्भावना पनि उत्तिकै छ । ‘कुनै नेतालाई हाम्रो समूहको नेता ‘तिमी हौ’ भनी देउवाले भनिसकेको अवस्था भने छैन । संस्थापन पक्षका शीर्ष तहका नेता भन्छन्, ‘मेरो समर्थनमा सभापति बन्न आउनेले मैले भनेको कुरा मान्छ कि मान्दैन । मेरो कुरा बोलिदिन्छ कि बोलिदिन्नन भन्ने देउवामा देखिन्छ ।’

संस्थापन समूहमा देउवा सर्वस्वीकार्य भएपनि दोस्रो र तेस्रो तहमा एकले अर्कालाई समर्थन गर्न नेताहरु तयार छैनन् । देउवा समूहभित्रका नेताहरुका पनि आ आफ्नो उप समूहहरु छन् ।

आन्तरिक पार्टी तथा बाहिरी संवादमा देउवाले विश्वास गरेका पात्र उपसभापति पूर्णबहादुर खड्का हुन् । पार्टी वरीयतामा दोस्रो स्थानमा रहेका खड्कालाई विश्वास गरेर नै देउवाले गठबन्धन फर्काउन खटाए । पछिल्लो समय गठबन्धन टुट्न नदिन कांग्रेस प्रयासरत रहँदा प्रचण्डसँग संवादमा उनै रहे ।

कांग्रेस विभाजनको बेला पनि खडकाले देउवालाई साथ दिए । समूहको राजनीति हाबी हुने कांग्रेसमा खड्काले आफ्ना समर्थक कार्यकर्ताहरु बनाउन नसकेको उनको कमजोरीका रुपमा चित्रित गरिन्छ । उनका लागि आफ्नै समूहभित्रैबाट विश्वास नभएको नेताहरु बताउँछन् ।

उपसभापति खड्काले सभापति देउवा पत्नि आरजुको विश्वास जित्न नसकेकाले उनी उनका लागि असहज हुने टिप्पणी गरिन्छ । महाधिवेशन आउन धेरै समय बाँकी भएकाले समूहको स्विकार्य नेता अहिले नै छुट्याउन हतार हुने केन्द्रीय सदस्य नैनसिंह महर बताउँछन् । महाधिवेशन नजिक हुने समीकरणको आधारमा समूहमा स्वीकार्य व्यक्तिको जानकारी हुने महरको भनाइ छ ।

‘कुन व्यक्तिलाई स्विकार गर्ने /नगर्ने नेताहरुको व्यक्तिगत रुचिमा पनि भर पर्दछ । समूह भित्र पनि यस बारेमा छलफल भएको छैन । सभापतिले पनि यस बारेमा अहिलेसम्म केही भन्नुभएको छैन,’ महरले भने,‘हाल विद्यमान समीकरण १५ औं महाधिवेशन अघि भत्किन सक्ने भएकाले अहिले समूहको नेता को भन्न हतार हुन्छ ।’

कांग्रेस नेताहरुका अनुुसार देउवाका लागि सबैभन्दा विश्वास भएका र सजिलो व्यक्ति पार्टी प्रवक्ता डा. प्रकाशशरण महत हुन् । कार्यसम्पादन समितिका एक सदस्य भन्छन्,‘देउवाले अघि बढाउन खोज्ने प्रकाशशरणलाई हो । उनले समूहको नेतृत्व गर्न सक्छन् भन्नेमा स्वयं देउवालाई विश्वास छैन ।’ खड्का र प्रकाशरणकै सम्बन्ध समधुर नभएको ती नेता बताउँछन् ।

देउवा समूहमा रहेर तल्लो संरचनासम्म समानान्तर आफ्नो खेमा खडा गर्नेमा पूर्वमन्त्री बालकृष्ण खाँण थिए । देउवापछि उक्त समूहभित्र पार्टी संरचनामा बल खाँणलाई थियो । तरुण दल र नेपाल विद्यार्थी संघको पूर्वअध्यक्ष समेत रहेका खाँणले तल्लो तहसम्म आफ्ना नेता कार्यकर्ता बनाएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेसँगै उनको राजनीतिक जीवन धरापमा परेको छ । हाल बाहिर रहेका खाँण पार्टी राजनीतिमा सक्रिय हुने अवस्था रहे उपसभापति खड्कासँग उनको महाधिवशेनमा सहकार्य हुने विश्लेषण कांग्रेसमा हुन्छ । त्यसो त, खाँणसँग संस्थापनइतरका नेता डा.शेखर कोइरालाको निकटता पनि पछिल्लो समय बढेको छ ।

समूहकै नेतृत्व लिने गरी प्रकाशमान सिंह र विमलेन्द्र निधि पनि छन् । १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार बनेका र प्रतिस्पर्धामा निकै तल रहेकाले उनलाई देउवाले समूहको नेतृत्व गर्ने अघि अघि सार्ने सम्भावना नरहेको संस्थापन पक्षका नेताहरु तर्क गर्छन् ।

आगामी महाधिवेशनमा अहिलेका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले निर्णायक शक्तिसहित दाबेदारी गर्ने सम्भावना बलियो छ । देउवा समूहका नेताहरुले त्यसलाई समेत लक्षित गर्दै आगामी समीकरणको सम्भावनाहरु लेखाजोखा गरिरहेका छन्

यद्यपि, महाधिवेशनमा दोस्रो चरणको मतदानमा सिंह र निधिले सभापतिमा देउवालाई सघाएका थिए । संस्थापनइतरका सिंहले दोस्रो चरणको मतदानमा देउवालाई सघाए । संस्थापन पक्षमै रहेका निधि देउवाको चाहना विपरीत सभापतिको प्रत्यासी बने ।

कांग्रेसका नेताहरुका अनुसार समूहको नेता बनाउँदै गर्दा देउवाले आफ्नो समूहको क्षमता बढाउन सक्ने र सभापतिमा जित्ने व्यक्ति खोजिरहेका छन् । सिंह र निधिको शक्ति भने पार्टीभित्र कमजोर हुँदै गएको छ । सिंहको पकड रहेको भनिएको काठमाडौंको पार्टी संरचनामा समेत उनको शक्तिमा क्षयीकरण भएको छ ।

मधेसको कांग्रेस राजनीतिमा हाबी हुँदै आएका निधिको शक्ति पनि त्यस क्षेत्रमा कमजोर हुँदै गएको विश्लेषण कांग्रेसमा हुन्छ । सिंह र निधिलाई समूहको नेता बनाउने पक्षमा देउवा नरहेको व्याख्या नेताहरु गर्छन् । संस्थापन पक्षका एक नेता भन्छन्,‘समूहबाट जित निकाल्न सक्ने खोज्नु स्वभाविक हो । पार्टी सभापति उठ्ने व्यक्तिलाई संस्थापनको शक्ति पनि थपियोस् भन्ने उहाँको इच्छा देखिन्छ ।’

पछिल्लो समयमा देउवाको नजरमा उनको रोजाईमा पूर्वमहामन्त्री डा. शशांक कोइराला रहेको छ । पार्टीभित्र हुने विश्लेषणका आधारमा कोइरालालाई अघि बढाउँदा देउवालाई दोहोरो लाभ हुन्छ ।

पहिलो, कोइराला आफू मात्रै आउँदैनन् संस्थापनइतर शक्तिमा ह्रास आउँछ । दोस्रो, देउवा पत्नि आरजुको व्यवस्थापन सहज हुन्छ । ‘शशांक सरहको अनुकूल पात्र उनका लागि अरु कोही हुन सक्दैनन् । शशांक सभापति बने उनलाई जुन रुपमा चाहे त्यही रुपमा देउवाले परिचालित गर्नसक्छन्,’ देउवा पक्षीय नेता भन्छन्,‘आरजु भाउजुको व्यवस्थापन गर्ने टीम मिलाउन अरु नेता तयार नहुन सक्छन ।’

कांग्रेसमा हालसम्मका महाधिवेशनमा समूह अदलबदल गर्ने नेताहरुको संख्या उल्लेख्य छ । एउटा समूहबाट पदाधिकारीको प्रत्यासी महाधिवेशनमा पुग्दा अर्को पक्षबाट उम्मेदवार बनेका उदाहरणहरु प्रशस्त छन् ।

एउटै पार्टी भएकाले तत्कालीन समय अनुसार समूह परिवर्तनलाई आश्चर्यका रुपमा लिन नपर्ने नेताहरु टिप्पणी गर्छन् । समूह परिवर्तन हुन सक्ने भएकाले अर्को पक्षबाट गएर देउवा समूहको नेतृत्व सम्हाल्ने कुरालाई असम्भव रुपमा लिन नहुने उनीहरुको तर्क छ ।

संस्थापनइतरका समूह नेता डा. शेखर कोइरालासँग सभापतिको सम्बन्ध सुधारिँदै गएकाले कतिपयले उनलाई नै अघि बढाउने विश्लेषण पनि गर्छन् । आरजुलाई महामन्त्री पदमा उम्मेदवार बनाउने गरी देउवाको समर्थनमा शेखर सभापति उम्मेदवार नहुने तर्क कतिपय नेताहरु गर्छन् ।

शेखर र आरजुलाई नजिक बनाउन पार्टी भित्रकै नेताहरु लागेको संस्थापन समूहका नेता दाबी गर्छन् । देउवा पक्षमा गएर सभापतिको प्रत्यासी कोइराला नबन्ने संस्थापनइतरका केन्द्रीय सदस्य डा. गोविन्द पोखरेल बताउँछन् ।

शुसिल कोइरालाबाट नेतृत्व देउवामा गएपछि पार्टी थप कमजोर बनेको उल्लेख गर्दै पोखरेल भन्छन्,‘हिमाल–पहाडमा टोपी लगाउने र मधेशमा धोति लगाउने पुस्ता समेत जोडेर पार्टीको आकार बढाउन डा. शेखर कोइरालाले सबैलाई मिलाएर आम कार्यकर्ताको सहयोगमा आफ्नै बलबुतामा सभापति बन्नुहुन्छ ।’

देउवाको समर्थनमा सभापतिको उम्मेदवार हुने आकांक्षीमा नेता कृष्णप्रसाद सिटौला पनि देखिन्छन् । १४ औं महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिएर देउवासँग प्यानल बनाएका थिए ।

सानै भए पनि पार्टीभित्र सिटौलाकोसमूह छ । सिटौला संस्थापन पक्षबाट उम्मेदवार हुँदा देउवा समूहमा बल पनि थपिने छ । देउवा समूहको नेतृत्व गरेर नेता सिटौला सभापतिको प्रत्यासी बन्ने प्रबल सम्भावना रहेको केन्द्रीय सदस्य भीम पराजुली बताउँछन् । ‘शेरबहादुर दाइको समर्थनमा कृष्ण दाइ सभापतिको उम्मेदवार हुने धेरै सम्भावना छ, सिटौला निकट पराजुली भन्छन्,‘अर्को पात्र नै छैन त्यहाँ । आफ्नो समूह थेग्न सक्ने मान्छे चाहियो नि शेरबहादर दाइलाई ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ‘विश्वासघात’ले राष्ट्रिय सभाको अध्यक्ष हुनबाट सिटौला वञ्चित भए । राष्ट्रिय सभाको अध्यक्ष हुन नसकेपछि सिटौलाको सक्रिय राजनीतिको बाटो बन्द भएको छैन ।

आगामी महाधिवेशनमा अहिलेका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले निर्णायक शक्तिसहित दाबेदारी गर्ने सम्भावना बलियो छ । देउवा समूहका नेताहरुले त्यसलाई समेत लक्षित गर्दै आगामी समीकरणको सम्भावनाहरु लेखाजोखा गरिरहेका छन् ।

‘अहिले भएका छलफलहरु प्रारम्भिक हुन्, पछि महाधिवेशन आउने बेलासम्म परिस्थिति आकलन गरेभन्दा भिन्न ढंगले अघि बढ्न पनि सक्छ,’ कांग्रेस नेतृत्व स्रोत भन्छ, ‘चासो चाहिँ बाहिर देखिएभन्दा बढी नै सुरु भइसकेको छ । फेरि नयाँ प्रतिष्पर्धी शक्तिहरुलाई छेक्नुपर्ने पनि छ ।’ ती नेताले त्यसलाई समेत आकलन गरेर नेतृत्व र एजेन्डाको खोजी हुने बताए ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?