+
+

पोखरामा जापानी साकुरा रोपियो

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २४ गते ६:५७

२४ जेठ, पोखरा । विश्व वातावरण दिवसका अवसरमा पोखरामा जापानी फूल साकुरा लगाइएको छ । जापान सहयोगमा निर्मित कोमागाने पार्क र बसुन्धारा पार्कमा बुधबार साकुरा प्रजातिको २३ बोट लगाइएको हो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, इन्स्टिच्युट अफ हिमालयन कन्जरभेसन (आइएचसी) र क्युटो युनिभर्सिटी जापानका प्रोफेसर पाक्या शुमा लगायतले पोखरा–जापानमैत्री पार्क ‘कोमागाने’मा २३ वटा साकुरा लगाएका हुन् । नजिकै रहेको बसुन्धारा पार्कमा पनि पोखरा-६ र मितेरी आमा समूहले २५ बोट साकुराका फूल लगाएका छन् ।

पोखरा जापान सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यले पोखरा–जापान मैत्रीपार्क ‘कोमागाने’ मा जापानी राष्ट्रिय फूल ‘साकुरा’ लगाइएको नगरप्रमुख आचार्यले बताए । पोखराको हावापानीमा साकुरा फुल्ने प्राविधिक तथा वातावरणीय अध्ययन पश्चात् जापानबाट यो फूल ल्याइएको उनले सुनाए ।

फुल्दा सुन्दर देखिने साकुरा पोखरा–जापानको साइनोलाई थप मजबुत बनाउने सेतुका रूपमा आफूले लिइएको मेयर आचार्यको भनाइ थियो । साकुरा रोपेसँगै पोखरामा २ लाख २६ हजार बिरुवा रोप्ने ‘ग्रिन पोखरा, क्लिन पोखरा’को मेगा प्रोजेक्ट सुरु भएको घोषणासमेत गरे ।

उनले महानगर क्षेत्रमा सार्वजनिक स्थल, खुल्लाचौर तथा पाखा पखेरा, नदी तथा राजमार्ग किनार लगायत क्षेत्रमा विभिन्न प्रजातिका २ लाख २६ हजार बढी बिरुवाहरू लगाइने जानकारी दिए ।

जापानी प्रोफेसर शुमाले साकुरा हिमालयको काखमा फुल्ने सुन्दर फुलका रूपमा चित्रण गरे । उनले पोखरामा साकुरा रोपेसँगै साकुरा आफ्नो घर फर्किएको बताए।

जापानबाट १०० साकुराका बिरुवाहरू पोखरा ल्याइएको छ । केही बिरुवाहरू रोप्न बाँकी रहेको र उपयुक्त स्थानमा ती बिरुवाहरू लगाइने सहरी विकास, पर्यटन तथा वातावरण महाशाखा प्रमुख भरतराज पौडेलले बताए ।

साकुरालाई शान्तिको प्रतीक मानिन्छ । विश्वमा शान्ति, भ्रातृत्व र समृद्धिको सन्देश प्रवाह गर्न जापानले २३ देशका ३५ सहरमा साकुरा रोप्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?