+

स्कुलको खानपानले पनि निम्त्याउँदैछ बालबालिकामा ग्यास्ट्रिक र अल्सरको समस्या

२०८१ जेठ  २४ गते १३:५३ २०८१ जेठ २४ गते १३:५३
स्कुलको खानपानले पनि निम्त्याउँदैछ बालबालिकामा ग्यास्ट्रिक र अल्सरको समस्या

पहिले प्रायजसो वयस्कलाई मात्रै ग्यास्ट्रिक र अल्सरको समस्या देखिन्थ्यो । तर हिजोआज स्कुल, कलेज पढ्ने बालबालिका र किशोरकिशोरी धेरैलाई ग्यास्ट्रिकको समस्या देखिन्छ ।

यसो हुनुमा बदलिंदो खानपान र जीवनशैली जिम्मेवार छ । साँच्चै भन्ने हो भने अहिलेका बालबालिकालाई खाना खाने फुर्सद समेत छैन, अनि खाने ठेगान पनि छैन ।

बालबालिकाको व्यस्तता कामकाजी वयस्को भन्दा बढी हुन थालेको छ । बिहान उठिनसक्दै स्कुल जाने तयारी गर्नुपर्छ । खाना पनि हतारहतारमा खानुपर्ने हुन्छ, नत्र स्कुलको गाडी छुट्छ । स्कुलमा पढाइको चाप त्यत्तिकै हुन्छ । नास्ता र खानाका लागि हुने ब्रेकमा उनीहरुले खाने हो । तर स्कुलमा हुने खानेकुरा पनि उनीहरुको स्वास्थ्य अनुकूल सबैतिर नहुन सक्छ ।

स्कुलमा बिहानै चिल्लो, तेलमा तारेको समोसा, पकौडा, चाउचाउ साँधेको चटपटे, चाउमिन, मःम उनीहरुको खाजा हुन्छ । क्यान्टिनको खाजामा मैदाजन्य कुरा नै धेरै हुन्छ ।

कतिपय कलेजमा पढ्ने विद्यार्थी पढाइसँगै जागिर गर्ने हुन्छन् । उनीहरुले बिहान पनि अफिसमा चाँडै पुग्नुपर्ने बाध्यताले खाना खान नपाउने र दिउँसो पनि खाजामा जंकफुड प्रयोग हुने, खाजा राम्रो खाउँ भन्दा पनि नपाइने हुन्छ । प्राय: खाजा भन्ने बित्तिकै समोसा, म:म, चाउमिन, चाउचाउ हुन्छ । नियमित यी खानेकुरा खाँदा ग्यास्ट्रिकले सताउन पुग्छ ।

ग्यास्ट्रिक भएपछि पेट दुख्ने, पोल्ने, भारी वा फुलेजस्तो हुनु, अम्लपित्त बढ्ने, डकार आउने, भोक नलाग्ने, वाकवाकी लाग्ने, पेट र छातीको बीचको वरिपरि दुख्ने लगायत समस्या देखिन्छ ।

कसरी हुन्छ ?

खाएको खाना पचाउनका लागि शरीरभित्र विभिन्न प्रकारका पाचन रसहरु निस्किन्छन् । खाना खाँदा हाइड्रोक्लोरिक एसिड नामक एक खालको कडा अम्ल पनि उत्पादन हुन्छ । यसले खाना पचाउनमा मद्दत गर्नुका साथै आमाशयभित्रका कीटाणुलाई मार्ने काम गर्छ । विद्यार्थीमा भने भोक लागेको बेला नखाने, खाना निश्चित समयमा खान नपाउने, तनाव, चिन्ता, जंकफुडको अत्याधिक सेवन गर्दा एसिडको उत्पादनमा गडबड भएर ग्यास्ट्रिकको समस्या हुन्छ ।

बिहानदेखि साँझसम्म बालबालिकालाई स्कुलमै राख्दा समस्या आइरहेको छ । यसतर्फ स्कुलले सोच्न जरुरी छ । बिहान ५ बजे जाने विद्यार्थी के खान्छन् होला ? बिहान उठ्ने बित्तिकै राम्रोसँग फ्रेस नै भएका हुँदैनन् । खाना खानका लागि १०-११ बजे छोडिन्छ । यसबेलासम्म पेटमा ग्यास भरिसकेको हुन्छ ।

त्यसमाथि अहिले धेरै सिंगल परिवारमा बस्छन् । बुवाआमा अफिस वा व्यवसायमा जानुपर्ने हुँदा घरमा खाजा-खाना बनाएर दिने कोही हुँदैन । यस्तो बेला जंकफुड खानुपर्ने उनीहरुलाई बाध्यता हुन्छ । त्यसले निम्त्याउने भनेको ग्यास्ट्रिक नै हो ।

कतिपय अभिभावकले बेलुका आफू अफिसबाट आउने समयसम्म स्कुलमै बच्चालाई होल्ड गराएर राख्छन् । यसले अझ बढी उनीहरुलाई शारीरिकका साथै मानसिक समस्या सिर्जना गरिरहेको हुन्छ ।

हिजोआज किशोरकिशोरीमा कफी कल्चर अर्थात् बिहानैदेखि कफी पिउने, चुरोट खाने, हुक्का तान्ने चलन बढ्दो छ । निकोटिनयुक्त पेय पदार्थले पनि पेटमा एसिडको मात्रा बढाउँछ, जसले पनि पेट र कलेजोको समस्या निम्त्याइरहेको छ । कतिपय बिरामीलाई ग्यास्ट्रिक भनेर हेलचेक्र्याइँ गर्दा अल्सर समेत भइसकेको हुन्छ ।

पेट वा सानो आन्द्रामा हुने संक्रमण, घाउ वा प्वाललाई पेटको अल्सर पनि भन्ने गरिन्छ । यसलाई ग्यास्ट्रिक अल्सर पनि भन्ने गरिन्छ । कहिलेकाहीं पेट तथा आमाशयमा प्वाल परी त्यसको असरले मानिसको मृत्यु समेत हुनसक्छ । नौ कक्षादेखि प्लस टु पढ्ने विद्यार्थीमा यसको जोखिम बढ्दै गइरहेको देखिन्छ ।

खानपानसँगै अल्सर हेलिकोव्याक्टेर पाइलोरी (एच पाइलरी) किटाणुको संक्रमणबाट हुन्छ, जुन दूषित पानीमा हुने गर्छ । हिजोआज जारको पानी, मूलको पानी भनेर एकदम सस्तोमा बिक्री वितरण भइरहेको पाइन्छ । यसमा पनि शंका गर्नुपर्ने देखिन्छ । के हामीले दैनिक शुद्ध मानेर पिउने पानी साँच्चै स्वस्थवर्द्धक छ ?

के गर्ने त ?

बिहान उठेको एक घण्टाभित्र कालो चिया वा तातो पानी पिउने, ७ देखि ८ बजे ब्रेकफास्ट वा खाना खाने, ३ देखि ४ बजे खाजा खाने र ७ देखि ८ बजे पेटलाई हलुंगो हुने अर्थात् पचाउन सहज हुने खानेकुरा खानुपर्छ ।

बच्ने उपाय

– धारा वा जारको पानी उमालेर मात्र पिउने

– दिनमा कम्तीमा दुई छाक घरमै बनाएको पौष्टिक खानेकुरा खाने

– अफिस जाँदा मिल्छ भने घरबाट खाजा बोकेर जाने

– पढाइलाई मात्र नभई खेलकुदका लागि पनि समय निकाल्ने, सकिन्छ भने दिनमा आधा घण्टा व्यायाम गर्ने

– सकेसम्म तारेको, भुटेको, चिल्लो, मसलेदार खानेकुराबाट टाढा रहने

रोकथाम

विद्यार्थीलाई स्कुलमा किताबी ज्ञानका साथै स्वस्थ र अस्वस्थ खानेकुराबारे विस्तृत रुपमा जानकारी दिनुपर्छ । स्कुलमा पोषणविद्द्वारा खानपानका कारण हुने स्वास्थ्य समस्याको बारेमा शिक्षा दिने र दैनिक कस्तो खानपान गर्नुपर्छ भन्ने कक्षा सञ्चालन गर्नुपर्ने देखिन्छ । किनभने २४ घण्टामा ८ देखि १२ घण्टा त स्कुलमा नै हुन्छन् विद्यार्थी । त्यसैले स्कुलले नै स्वस्थ खानेकुराको व्यवस्था गर्नुपर्ने देखिन्छ । कि त घरबाटै खाजा ल्याउनुपर्ने वा जंकफुड खान नपाउने नीति नियम बनाउनुपर्छ ।

त्यस्तै किशोरकिशोरी अवस्थामा अर्थात् ९ देखि प्लस टु पढ्ने विद्यार्थी कुलतमा फस्ने गर्छन् । यसबेला धुम्रपान तथा मद्यपान तथा नशालु पदार्थको सेवन गर्ने गर्छन् । यसले पनि ग्यास्ट्रिकको समस्या नित्याउँछ । त्यसैले ग्यास्ट्रिकबाट विद्यार्थीलाई जोगाउन स्वस्थ खानपानसँगै अभिभावकले कुलतबाट जोगाउन विशेष ध्यान दिनुपर्छ ।

अल्सर ग्यास्ट्रिक प्रा. डा. सुवास भट्टराई
प्रा. डा. सुवास भट्टराई
लेखक
प्रा. डा. सुवास भट्टराई
वरिष्ठ पेट तथा कलेजोरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ६४०३ अध्ययन : एमबीबीएस (केयू), एमएस (केयू) डीएम (केयू) फेलोसिप इन ग्यास्ट्रोइन्टेरोलोजी (सर गंगाराम हस्पिटल, नयाँदिल्ली) हाल पोखरास्थित ग्यास्ट्रो केएर, पेट तथा कलेजोरोग उपचार केन्द्रमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?