+
+

गुनासो सुन्न दैनिक ५० जना नगर प्रहरी खटाउँदै ललितपुर महानगर

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २४ गते १२:५३

२४ जेठ,काठमाडौं। ललितपुर महानगरपालिकाले ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ अभियान सुरु गरेको छ । नगरवासीको समस्या र गुनासो सुन्न भन्दै नगर प्रहरी घर घरमा पठाउने  अभियान महानगरले थालेको हो ।

नगरवासीका समस्या पहिचान गर्न, जनताले कर तिरे/नतिरेको बुझ्न, महानगरको सेवाको पहुँच बुझ्न मद्दत पुर्‍याउने महानगरका प्रमुख चिरीवाबु महर्जनले जानकारी बताए । यो अभियान देशमै नयाँ रहेको उनको भनाइ छ ।

उनले भने, ‘अहिलेसम्म मबाट जानी जानी गल्ती भएको छैन तर, कतै दायाँवाँया भएको भए सुधार गर्न सहयोग पुग्छ । महानगरलाई गुनासो सम्बोधन गर्न अभियान सुरु गरेका हौं।’

घर घरमा नगरप्रहरी अभियानले वडाअध्यक्षहरुलाई पनि सहयोग पुग्ने उनले बताए । यो कार्यक्रमले नगरवासी र नगरपालिकाबीच सेतुको काम गर्ने प्रष्ट पारे ।

हरेक साता नगरप्रमुखलाई जानकारी

घर-घरमा पुगेर संकलन गरिएका गुनासा र समस्याबारे नगर प्रहरीले हरेक साता नगर प्रमुख महर्जनलाई जानकारी गराउनेछ ।

उक्त अभियानमा दैनिक ५० जना नगर प्रहरी खटिनेछन् । तीमध्ये समूह-समूह बनाएर घर-घरमा नगर प्रहरी पठाइने छ । एउटा समूहमा ५ जना नगर प्रहरी रहनेछन् । यसो गर्दा दैनिक ३ हजारभन्दा बढी घरमा नगर प्रहरी पुग्ने नगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए  ।

नगरप्रहरीले नगरपालिकाका सेवाहरु नगरवासीले लिए/ नलिएको बुझ्ने छ भने नि:शुल्क दमकल, ढल निकास, शव वाहन, फुटपाथलगायत सेवाबारे जानकारी गराउने उनले बताए । उनले भने, ‘अभियान १ महिनासम्म रहन्छ,  यो अवधिमा सबैको घरघरमा र पसलपसलमा नगरप्रहरी पुग्छ,’ हाछेथुले भने ।

अभियानको उद्घाटन कार्यक्रममा बोल्दै ललितपुरका प्रहरी प्रमुख शेखर खनालले नगरप्रहरीसँग हातेमालो गरेर काम गर्दा सहज भएको बताए ।

उनले नगर प्रहरीसँगसँगै नेपाल प्रहरी पनि खटिदाँ शान्ति सुरक्षा कायम गर्न सजिलो हुने बताए । विपद् व्यवस्थापन र वातावरण संरक्षण लगायतका विषयमा उपलब्धिमूलक काम गर्न सकिने बताए । यस अघि महानगरपालिकाले वातावरण प्रहरी गठन गरिसकेको छ ।

उक्त टोलीले वातावरण जोगाउन काम गर्नेछ भने कालो धुवा फ्याक्ने थोत्रा सवारीसाधनलाई कारबाहि गर्ने महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?