+
+

‘पुजार सार्की’ हेरेपछि हिसिला यमी : ‘यो फिल्म बाबुरामजीलाई पनि देखाउँछु’

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २४ गते १२:५६

काठमाडौं । दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’ बिहीबारदेखि तेस्रो सातामा प्रवेश गरेको छ । यो फिल्मलाई राजनीतिज्ञले पनि हेरिरहेका छन् । बुधबार बेलुका पूर्वमन्त्री हिसिला यमीले पनि यो फिल्म हेरिन् ।

यमीले पछिल्लो समय नेपाली फिल्म हेरेर अखबारमा यसको समीक्षा पनि गर्न थालेकी छन् । उनले पछिल्लोपटक ‘मनसरा’को रिभ्यु गरेकी थिइन् । यमीले बुधबार बेलुका गोंगबुको बीएसआर हलमा फिल्म हेरिन् ।

फिल्म हेरेपछि उनले नेपालका राजनीतिक दलले गरेको महान् क्रान्तिभन्दा ठूलो क्रान्ति ‘पुजार सार्की’ले गरेको बताइन् । साथै, आफ्नो दल नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पनि फिल्म हेराउने बताइन् ।

यमीले फिल्म हेरिरहँदा निर्देशन राउत, अभिनेता आर्यन सिग्देल, पटकथाकार विकास सुवेदी, अभिनेत्री अञ्जना बराइली हलमा पुगेका थिए ।

टिमलाई प्रतिक्रिया दिंदै यमीले छुवाछूत अन्त्यको लागि पनि खस-आर्यले साथ दिनुपर्ने यो फिल्मले दिएको सन्देशलाई आफूले महान् क्रान्तिको रूपमा लिएको बताइन् । ‘महिलाको हकहितको लागि महिला मात्र बोलेर हुँदैन, पुरुषले पनि साथ दिनुपर्छ । खस-आर्यले आफ्नै विरुद्ध लड्नुपर्छ अनि मात्र परिवर्तन सम्भव छ,’ उनले भनिन् ।

‘अहिलेको अवस्थामा दलित मुक्तिको आन्दोलन दलितले मात्रै गरेर हुन्छ भनेर पुग्दैन । परम्परागत राजनीतिक पार्टी कांग्रेस, एमाले वा माओवादी सबैले गरेको क्रान्तिभन्दा पनि महान् क्रान्ति ’पुजार सार्की’ले गरेको छ,’ उनले भनिन् ।

यमीको प्रतिक्रिया लिएपछि यो फिल्ममा पुजारीको भूमिका निर्वाह गरेका अभिनेता सिग्देलले कानुनमा छुवाछूत गर्न नपाइने रहेको तर नियत खराब भएकाहरुको कारण यो समस्या यथावत् रहेको बताए । यमीसँग कुरा गर्दै आर्यनले भने, ‘यसकारण गैरदलितले नै छुवाछूत हुनुहुँदैन भनेर यस फिल्मबाट आन्दोलन छेड्नु परेको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?