
२४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले नेकपा एमालेका सांसद योगेश भट्टराईलाई संसद्को तथ्य हेरेर मात्रै बोल्न आग्रह गरेका छन् ।
जेठ २२ गते प्रतिनिधि सभाको बैठकमा एमाले सचिवसमेत रहेका भट्टराईले गिरीबन्धुु टी–इस्टेटको जग्गा सट्टापट्टा गर्ने गरी कानुन बनाउँदा कांग्रेसले संशोधन नहालेको अभिव्यक्ति दिएका थिए ।
बिहीबार प्रतिनिधि सभाको बैठकबाटै कांग्रेस महामन्त्री शर्माले गलत तथ्य बोलेको भनेर कांग्रेसका सांसदहरूले क–कसले संशोधन राखेका थिए भनेर विवरण नै सुनाए ।
शर्माले भने, ‘उहाँले (योगेश)ले भन्नुभयो– कांग्रेसले किन संशोधन हालेन । संसद्को तथ्यले भन्छ– प्रतिनिधि सभा र राष्ट्रिय सभामा कांग्रेसका तत्कालीन सांसदहरूले संशोधन राखेका थिए ।’
कांग्रेसका तकालीन सांसद राधेश्याम अधिकारीले राष्ट्रिय सभामा संशोधन राखेको तर उनको संशोधन बहुमतले अस्वीकृत भएको शर्माले सुनाए ।
‘जग्गा स्टापट्टा वा स्थानान्तरणको स्वीकृति दिन सकिने व्यवस्था सहितको विधेयकको प्रतिवेदन राष्ट्रिय सभामा पेस भएपछि राधेश्याम अधिकारले संशोधन हाल्नुभयो । तर विधेयक बहुमतले पारित भयो । कांग्रेसले विरोध गर्यो । त्यो मिति २०७६ साल भदौ ३० र ३१ गते थियो,’ महामन्त्री शर्माले भने ।
प्रतिनिधि सभामा २०७५ फागुनमा विधेयक पुगेको र त्यसबेला कांग्रेसका तत्कालीन सांसदहरू डिला संग्रौला, लक्ष्मी परियार, दिव्यमणि राजभण्डारी र देवप्रसाद तिमिल्सनाले संशोधन हालेको महामन्त्री शर्माले बताए ।
प्रतिक्रिया 4