+
+

ईसीएफको चौथो किस्तास्वरूप ५ अर्ब ५९ करोड उपलब्ध गराउँदै आईएमएफ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २४ गते १४:०८

२४ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाललाई दिने विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको चौथो किस्ता उपलब्ध गराउने भएको छ ।

आईएमएफका नेपाल मिसन प्रमुख डा. टिडियान किन्डाको नेतृत्वको टोलीले बिहीबार अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा यस्तो सहमति भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

आईएमएफको कार्यकारी बोर्डले कोरोना महामारीको समयमा २०७८ पुसमा नेपाललाई ईसीएफअन्तर्गत चार वर्षभित्र ३९ करोड ८८ लाख अमेरिकी डलर निर्ब्याजी कर्जा दिने निर्णय गरेको थियो । त्यसमध्ये यसअघि नै तेस्रो किस्ता निकासा भइसकेको छ भने अन्तिम अर्थात् चौथो किस्ताबापत ४ करोड २० लाख अमेरिकी डलर अर्थात ५ अर्ब ५९ करोड रुपैयाँ उपलब्ध गराउन बाँकी छ ।

विस्तारित कर्जा सुविधाको प्रत्येक किस्ता रकम निकासा गर्नुअघि कोषले यसअन्तर्गत सरकारसँग भएको आर्थिक सुधारको प्रतिबद्धताको समीक्षा गर्ने गरेको छ । सो समीक्षाका लागि कोषको मिसन नेपाल आएको छ ।

मन्त्री पुनसँगको भेटमा डा. किन्डाले आईएमएफ कार्यकारी बोर्डले विस्तारित ऋण सुविधाको समीक्षा पूरा हुने चरणमा रहेकाले बाँकी रकम छिट्टै निकासा गर्ने जानकारी दिएको अर्थ मन्त्रालयले जनाएको छ ।

उनले नेपालले वित्त र मौद्रिक नीतिको सुधार तथा वित्तीय अनुशासन कायम गर्ने विषयमा राम्रो प्रगति गरेको भन्दै प्रशंसा गरेको पनि अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

‘आईएफएफले संरचनात्मक तथा नीतिगत सुधारका क्षेत्र तथा मध्यम अवधिको भुक्तानी सन्तुलन, आन्तरिक राजस्व परिचालन, सार्वजनिक लगानी व्यवस्थापन र वित्तीय जोखिम घटाउन ईसीएफ फण्डमार्फत विभिन्न मुलुकलाई आर्थिक सहायता प्रदान गर्दै आएको छ,’ किन्डालाई उद्धृत गर्दै अर्थ मन्त्रालयले जनाएको छ ।

टोलीसँगको भेटमा मन्त्री पुनले नेपालले आर्थिक स्थायित्व, सुशासन र वित्तीय अनुशासनलाई प्राथमिकतामा राखेको बताए ।

विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको उक्त रकम नेपालले बजेटरी सहायता शीर्षकमा राखेर खर्च गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?