+
+

संसदमा विश्वप्रकाश : निशानामा एमाले र गृहमन्त्री

लिलु डुम्रे लिलु डुम्रे
२०८१ जेठ २४ गते १५:२२

२४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बिहीबार प्रतिनिधि सभामा सम्बोधनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे,  एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछानेको आलोचना गरे ।

विशेष समयमा १९ मिनेट समय पाएका उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले कांग्रेस नेताहरुमाथि लगाएको आरोप संसदको रेकर्डबाट मेटाउन आग्रह गरे ।

गिरीबन्धुमा एमालेलाई प्रश्न

२ जेठमा पार्टी संसदीय दलको बैठकमा सम्बोधन गर्ने क्रममा एमाले अध्यक्ष ओलीले गिरीबन्धुको जग्गा एक पटक ५१ विघा र अर्को पटक १९ विघा गरी ७० विघा कांग्रेसले कमिसन खाएर बिक्री गरेको आरोप लगाएका थिए ।

त्यसपछि कांग्रेसले सरकारविरुद्ध काठमाडौंमा गरेको प्रदर्शनका क्रममा महामन्त्री शर्माले एमाले अध्यक्ष ओलीले गिरीबन्धु प्रकरणमा गृहमन्त्रीको सहयोग लिन सहकारी छानबिन समिति गठन गर्न नमानेको प्रतिक्रिया दिएका थिए । उनले अहिलेको गठबन्धनलाई सहकारीबन्धु गठबन्धनको नाम दिएका थिए ।

तर त्यसपछि बालुवाटारमा बसेको प्रमुख दलको बैठकमा एमाले नेताहरुले गिरीबन्धुमा आफ्नो अध्यक्षलाई आरोपित गरेको भन्दै कांग्रेसले माफी माग्नुपर्ने बताएका थिए ।

उक्त घटनाक्रम सम्झिँदै बिहीबार विश्वप्रकाशले भने, ‘रौद्ररुप धारण गरेर कांग्रेसप्रति आरोप लगाएपछि मौन धारण गर्न सकिएन । प्रतिवाद गरियो, प्रतिवाद गरेपछि फेरि प्रत्युत्तर आयो र कांग्रेसले लिखित रुपमा माफी माग्नुपर्दछ । हामीले भन्यौं, झुठो आरोप लाग्छ भने कांग्रेसले प्रतिवाद गर्छ ।’

केही दिनअघि प्रतिनिधिसभा बैठकमा एमाले सचिव योगेश भट्टराईले गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न भूमिसम्बन्धी ऐनको आठौं संशोधन संसदबाटै पारित भएको र त्यतिबेला किन नबोलेको भनी प्रश्न गरेका थिए ।

बिहीबार विश्वप्रकाशले कांग्रेसले त्यतिबेला प्रतिनिधिसभा र राष्ट्रियसभामा सट्टापट्टाको प्रावधान हटाउन संशोधन हालेको नबिर्सन भट्टराईलाई आग्रह गरे ।

राष्ट्रिय सभामा कांग्रेसका पूर्वसांसद राधेश्याम अधिकारीले सट्टापट्टा वा स्थानान्तरणको स्वीकृति दिने प्रावधान हटाउन संशोधन राखेको शर्माले बताए । ‘विधेयक बहुमतबाट पारित भयो । कांग्रेसले विपक्षमा मतदान गर्‍यो’, शर्माले भने । उनले २०७६ भदौको ३० र ३१ गते यसको अभिलेख हेर्न आग्रह गरे ।

यो विधेयक राष्ट्रियसभामा जानुअघि प्रतिनिधिसभामा २०७५ सालको फागुनमा नेपाली कांग्रेसका सांसदहरु डिला संग्रौला, लक्ष्मी परियार, दिव्यमणि राजभण्डारी र देवप्रसाद तिमल्सिनाले संशोधन दर्ता गरेको पनि शर्माले बताए ।

एमाले अध्यक्ष ओलीले कांग्रेसले गिरीबन्धु बेचेको भनिसकेपछि त्यसको फाइल खोल्न गृहमन्त्री तयार हो कि होइन भनी उनले प्रश्न राखे । ‘म जान्दछु खोल्न होइन, उहाँ बोल्न पनि सक्नुहुन्न’, शर्माले भने,‘बोल्न सक्ने भएको भए शिक्षामन्त्रीबारे बोलिएको बोली फिर्ता लिनुस् भन्न सक्नुहुन्थ्यो ।’

कांग्रेसलाई एमाले अध्यक्ष ओलीले अलोकतान्त्रिक दल भनेको सुनेको भन्दै शर्माले को अलोकतान्त्रिक भन्ने थाहा पाउन दुई दलको महाधिवेशनको सम्झिन आग्रह गरे । ‘एमालेको महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने भीम रावल कहाँ हुनुहुन्छ ?’ ओलीलाई प्रश्न गरे ।

न्यूरोडमा फुटपाथ बनाउने कार्यमा काठमाडौं महानगरले गरेको कार्यको शर्माले सह्राहना गरे । मेयर बालेन शाहविरुद्ध एमाले अध्यक्षको बोली उपयुक्त नभएको शर्माले टिप्पणी गरे ।

गृहमन्त्रीले हावामा गोली चलाए

गृहमन्त्री लामिछानेले कांग्रेसका नेताहरु लक्षित गरेर सदनमा बोलेका कुराहरुको शर्माले प्रतिवाद गरे । २०४६ सालपछि सबै प्रकरणमा कांग्रेस फाइल खोल्न र समिति बनाउन तयार रहेको उनले बताए ।

‘निष्पक्ष छानबिन गरौं, पूर्वाग्रह रहित छानबिन गरौं’, शर्माले भने, ‘कसैको दुईटा पासपोर्टमा छानबिन हुँदैन । कसैको दुईटा नागरिकता छ रे भन्दैमा कारगार पुग्नुपर्ने ?’

संसदको रोष्ट्रम कसैलाई आरोप लगाउने ठाउँ होइन भन्दै उनले गृहमन्त्री लामिछानेले उक्त ठाउँको दुरुपयोग गरेको बताए । गृहमन्त्री रियाक्सन गर्ने नभई एक्सन गर्ने भूमिकामा हुनुपर्ने लामिछानेलाई सुझाव दिए ।

गृहमन्त्रीको बोली उपर सत्तापक्षका लागि तीन विकल्प रहेको शर्माले बताए । गृहमन्त्रीको स्वयंले आफ्नो बोली फिर्ता लिने वा गृहमन्त्रीको बोलीको जिम्मेवारी प्रधानमन्त्रीले लिने र आवश्यक कदम चाल्ने वा सभामुखले रेकर्डबाट हटाउन आदेश दिने विकल्प रहेको सुनाए ।

शर्माले सभामुखसँग सोधे, ‘तपाई विदेश भ्रमण गर्दा सदनमा समकक्षीले तपाईंको सदनमा त्यस्तो राष्ट्रघात गर्नेहरु पनि छन् भनेर सोधें भने तपाईं के जवाफ दिनुहुन्छ ।’

आवश्यक पर्दा गोली चलाउन आदेश दिन सक्ने गृहमन्त्रीले हावामा गोली चलाउने काम गरेको उनले बताए । सहकारी प्रकरणमा गृहमन्त्रीले संसदमा जवाफ दिने क्रममा कांग्रेस महामन्त्री गगन थापालाई लक्षित गर्दै विदेशीलाई सूचना बेचेको र धनराज गुरुङले रातो पासपोर्ट दुरुपयोग गरेको बताएका थिए ।

सभामुखमाथि प्रश्न

प्रधानमन्त्री प्रचण्ड संसदीय छानबिन समिति बनाउनका लागि गरेको प्रयासको शर्माले प्रशंसा गरे । प्रधानमन्त्री विश्वासको मत लिन हतारिएको र उक्त दिन प्रचण्डले दिएको अभिव्यक्तिप्रति भने शर्माले असन्तुष्टि जनाए ।

प्रधानमन्त्री प्रचण्डले शान्त वातावरणमा नभई कोलाहलपूर्ण परिवेशमा विश्वासको मत लिन नहुने भन्दै शर्माले कांग्रेस नेता प्रदीप गिरीको बोली उधृत गर्दै भने, ‘त्यो संख्यातन्त्रको जित थियो । लोकतन्त्रको थिएन ।’

७ जेठमा प्रधानमन्त्रीले विश्वासको मत लिँदा सभामुख देवराज घिमिरेको समन्वयकारी भूमिका नभएको शर्माले बताए । प्रतिपक्ष उभिरहेको बेलामा सदनलाई रणभूमि बनाउन सक्दिन भन्नुपर्नेमा सभामुखले बलजफ्ती गरेको शर्माले बताए । ‘हाम्रो असहमति दर्ज छ सभामुखज्यू । त्यो दिनको यहाँको भूमिकाप्रति,’ शर्माले भने ।

संसदको गणित नहेर्न सहकारी छानबिन समितिलाई सुझाव

राज्यका निकायले भरपर्दो तरिका अनुसन्धान नगरेका कारणले सहकारीको रकम अपचलनमा संसदीय छानविन समिति आवश्यक रहेको शर्माको तर्क छ । गृहमन्त्री लामिछानेमाथि राज्यको निकायबाट अनुसन्धान हुन नसक्ने देखेर छानबिन समितिको माग कांग्रेसले सदनमा उठाएको सुनाए ।

संसदीय छानबिन समितिको कार्यादेशमा गृहमन्त्री लामिछानेको नाम नलेखिए उनी अनुसन्धानको दायराबाट उम्कन नपाउने शर्माले दाबी गरे ।

गोर्खा मिडियामा आएको रकम, सञ्चालक र गोर्खँ मिडियामा रकम लगिएका सहकारीको छानबिन गर्ने भनिएपछि गृहमन्त्री स्वतः तानिने उनको दाबी छ । ‘स’ बाट नाम सुरु भएका सहकारी नै गृहमन्त्रीको सिम्बोल नम्बर भएको शमार्ल तर्क गरे ।

सहकारीको रकम अपचलन र संलग्न व्यक्तिहरु माथि छानबिन गर्नका लागि बनेको समितिलाई संसदको गणित नहेरी काम गर्न आग्रह गरे ।

गोर्खा मिडियामा सहकारीको रकम जाँदा वचतकर्ताहरु पीडित बनेको उनले सुनाए । ‘कोही सीता सदाबहार पुजिने कोही सीता सहकारीमा लुटिने हाम्रो नेपालमा ? के कम्युनिस्ट आन्दोलनले यही कुरा भन्ने गर्दछ ?’ कम्युनिष्ट दललाई प्रश्न गरे ।

कांग्रेसले संसदमा निरन्तर माग गरिरहेकाले पीडितका पक्षमा काम गर्ने गरी छानबिन समिति बन्न सफल भएको सुनाए ।

सहकारीमा मिलेमतोको धन्दा गर्ने सञ्चालकहरुलाई छानबिनको दायरामा समितिले ल्याउने अपेक्षा राखे ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?