+
+
१६औं योजनामा ठूला पूर्वाधार :

काठमाडौं–पोखरा द्रुत यातायातदेखि निजगढ विमानस्थलसम्म

१६औं योजनाले सार्वजनिक यातायात पूर्वाधार अन्तर्गत आगामी पाँच वर्षमा सडक र हवाई पूर्वाधारमा जोड दिने रणनीति लिएको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८१ जेठ २४ गते १९:५०

२४ जेठ, काठमाडौं । काठमाडौं–पोखरा द्रुत यातायात सेवाका लागि पूर्वाधार निर्माणदेखि निजगढ विमानस्थल निर्माणसम्मका योजना समेटेर सरकारले १६औं आवधिक योजना बनाएको छ ।

राष्ट्रिय योजना आयोगले सार्वजनिक यातायात पूर्वाधार अन्तर्गत आगामी पाँच वर्षमा सडक पूर्वाधार र हवाई पूर्वाधारमा जोड दिने रणनीति लिएको छ ।

यस अवधिमा हेटौंडा–काठमाडौं रोपवे आधुनिकीकरण गरी सञ्चालन योजना समेटिएको छ । निजगढ विमानस्थल र यससँग सम्बन्धित पहुँचमार्ग विस्तार गर्दै व्यावसायिक कार्ययोजना सहित निर्माण अगाडि बढाइने १६औं योजनाको लक्ष्य छ ।

१६औं आवधिक योजनामा सुरुङ मार्गका निर्माणाधीन आयोजनालाई तीव्रता दिइने उद्देश्य राखिएको छ । जसमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग निर्माण सक्ने र सम्भाव्यता अध्ययन भएका हेम्जा–नयाँ पुल, भिरकोट–कालिकोट, लेउती–धरान, दाउन्ने–मलेखु–लोथर सुरुङमार्ग बनाउने लक्ष्यसमेत योजना छ ।

यस अवधिमा यातायात प्राधिकरण स्थापना गरी यातायात सम्बन्धी कार्यालय तथा निकायलाई व्यवस्थित गर्ने र प्रमुख सडकमा स्वचालित टोल गेट निर्माण गरी कर संकलन सहज बनाउने गरी आयोगले १६औं आवधिक योजना बनाएको छ ।

नदी करिडोरमा विद्युतीय बस

काठमार्डौं उपत्यकाभित्र सार्वजनिक यातायात व्यवस्थित गर्न नदी करिडोरहरूमा विद्युतीय बस चलाउने अवधारणा समेत १६औं योजनाले ल्याएको छ ।

ठूला सहरमा प्रदेश र स्थानीय तहको सहकार्यमा विद्युतीय बस वा वैकल्पिक यातायात सेवा सञ्चालन योजना समेत १६औं योजनामा समेटिएको छ ।

सडक पूर्वाधार मर्मत सम्भारतर्फ सवारी भारका आधारमा स्तरवृद्धि गर्ने र त्यसमा सुरुङ, फ्लाइओभर, बाइपास, अन्डरपास थप गरिने १६औं योजनाको लक्ष्य छ ।

काठमाडौं उपत्यकामा एकीकृत यातायात प्रणाली विकास गरी आधुनिक र किफायती साधन प्रयोग गरिने लक्ष्य छ । बाहिरी चक्रपथलाई समेत १६औं योजनामा समेटिएको छ ।

त्यस्तै उत्तर–दक्षिण करिडोरमा वैकल्पिक मार्ग तयार पार्ने, राष्ट्रिय राजमार्ग स्तरोन्नति, करिडोर राजमार्ग निर्माण सम्पन्न गर्ने र रणनीतिक महत्त्वका सडक निर्माण अघि बढाउने गरी १६औं योजनाले लक्ष्य तय गरेको छ ।

१६औं योजनाले नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायांकनको आकर्षक गन्तव्यस्थल बनाउने र यसका लागि हिमाली क्षेत्रमा पूर्वाधार बनाउने लक्ष्य राखेको छ ।

ठूला प्रकृतिका राष्ट्रिय गौरवका बूढीगण्डकी जलासययुक्त आयोजना, अरुण जलविद्युत् आयोजना, दूधकोशी जलविद्युत् आयोजना, नलसिङगाड जलविद्युत् आयोजना र नौमुरे बहुउद्देश्यीय आयोजनाका लागि आन्तरिक, द्विपक्षीय तथा बहुपक्षीय लगानी जुटाउने समेत १६औं योजनाको लक्ष्य छ ।

यस्तो छ १६औं योजनामा पूवार्धार लक्ष्य

सूचक आव २०७९/८० को अवस्था आव २०८५/८६ को लक्ष्य
राष्ट्रिय राजमार्ग कालोपत्रे (दुई लेन) ७६७५ किलोमिटर १३,६७५ किलोमिटर
राष्ट्रिय राजमार्ग (चार लेन) २३० किलोमिटर १०८० किलोमिटर
सुरुङमार्ग ६.९१ किलोमिटर १६.६५ किलोमिटर
सडक पुल (संख्या) ३,२१७ ५,०१७
रेल ट्र्याक ५९ किलोमिटर २०९ किलोमिटर
विद्युत् उत्पादन क्षमता २८७७ मेगावाट ११,७६९ मेगावाट
विद्युतमा पहुँच पुगेको जनसंख्या ९६.७ प्रतिशत शतप्रतिशत
विद्युत् निर्यात ४५० मेगावाट आवर ५,५०० मेगावाट आवर
लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?