
२४ जेठ, काठमाडौं । काठमाडौं–पोखरा द्रुत यातायात सेवाका लागि पूर्वाधार निर्माणदेखि निजगढ विमानस्थल निर्माणसम्मका योजना समेटेर सरकारले १६औं आवधिक योजना बनाएको छ ।
राष्ट्रिय योजना आयोगले सार्वजनिक यातायात पूर्वाधार अन्तर्गत आगामी पाँच वर्षमा सडक पूर्वाधार र हवाई पूर्वाधारमा जोड दिने रणनीति लिएको छ ।
यस अवधिमा हेटौंडा–काठमाडौं रोपवे आधुनिकीकरण गरी सञ्चालन योजना समेटिएको छ । निजगढ विमानस्थल र यससँग सम्बन्धित पहुँचमार्ग विस्तार गर्दै व्यावसायिक कार्ययोजना सहित निर्माण अगाडि बढाइने १६औं योजनाको लक्ष्य छ ।
१६औं आवधिक योजनामा सुरुङ मार्गका निर्माणाधीन आयोजनालाई तीव्रता दिइने उद्देश्य राखिएको छ । जसमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग निर्माण सक्ने र सम्भाव्यता अध्ययन भएका हेम्जा–नयाँ पुल, भिरकोट–कालिकोट, लेउती–धरान, दाउन्ने–मलेखु–लोथर सुरुङमार्ग बनाउने लक्ष्यसमेत योजना छ ।
यस अवधिमा यातायात प्राधिकरण स्थापना गरी यातायात सम्बन्धी कार्यालय तथा निकायलाई व्यवस्थित गर्ने र प्रमुख सडकमा स्वचालित टोल गेट निर्माण गरी कर संकलन सहज बनाउने गरी आयोगले १६औं आवधिक योजना बनाएको छ ।
नदी करिडोरमा विद्युतीय बस
काठमार्डौं उपत्यकाभित्र सार्वजनिक यातायात व्यवस्थित गर्न नदी करिडोरहरूमा विद्युतीय बस चलाउने अवधारणा समेत १६औं योजनाले ल्याएको छ ।
ठूला सहरमा प्रदेश र स्थानीय तहको सहकार्यमा विद्युतीय बस वा वैकल्पिक यातायात सेवा सञ्चालन योजना समेत १६औं योजनामा समेटिएको छ ।
सडक पूर्वाधार मर्मत सम्भारतर्फ सवारी भारका आधारमा स्तरवृद्धि गर्ने र त्यसमा सुरुङ, फ्लाइओभर, बाइपास, अन्डरपास थप गरिने १६औं योजनाको लक्ष्य छ ।
काठमाडौं उपत्यकामा एकीकृत यातायात प्रणाली विकास गरी आधुनिक र किफायती साधन प्रयोग गरिने लक्ष्य छ । बाहिरी चक्रपथलाई समेत १६औं योजनामा समेटिएको छ ।
त्यस्तै उत्तर–दक्षिण करिडोरमा वैकल्पिक मार्ग तयार पार्ने, राष्ट्रिय राजमार्ग स्तरोन्नति, करिडोर राजमार्ग निर्माण सम्पन्न गर्ने र रणनीतिक महत्त्वका सडक निर्माण अघि बढाउने गरी १६औं योजनाले लक्ष्य तय गरेको छ ।
१६औं योजनाले नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायांकनको आकर्षक गन्तव्यस्थल बनाउने र यसका लागि हिमाली क्षेत्रमा पूर्वाधार बनाउने लक्ष्य राखेको छ ।
ठूला प्रकृतिका राष्ट्रिय गौरवका बूढीगण्डकी जलासययुक्त आयोजना, अरुण जलविद्युत् आयोजना, दूधकोशी जलविद्युत् आयोजना, नलसिङगाड जलविद्युत् आयोजना र नौमुरे बहुउद्देश्यीय आयोजनाका लागि आन्तरिक, द्विपक्षीय तथा बहुपक्षीय लगानी जुटाउने समेत १६औं योजनाको लक्ष्य छ ।
यस्तो छ १६औं योजनामा पूवार्धार लक्ष्य
सूचक | आव २०७९/८० को अवस्था | आव २०८५/८६ को लक्ष्य |
राष्ट्रिय राजमार्ग कालोपत्रे (दुई लेन) | ७६७५ किलोमिटर | १३,६७५ किलोमिटर |
राष्ट्रिय राजमार्ग (चार लेन) | २३० किलोमिटर | १०८० किलोमिटर |
सुरुङमार्ग | ६.९१ किलोमिटर | १६.६५ किलोमिटर |
सडक पुल (संख्या) | ३,२१७ | ५,०१७ |
रेल ट्र्याक | ५९ किलोमिटर | २०९ किलोमिटर |
विद्युत् उत्पादन क्षमता | २८७७ मेगावाट | ११,७६९ मेगावाट |
विद्युतमा पहुँच पुगेको जनसंख्या | ९६.७ प्रतिशत | शतप्रतिशत |
विद्युत् निर्यात | ४५० मेगावाट आवर | ५,५०० मेगावाट आवर |
प्रतिक्रिया 4