
२४ जेठ, काठमाडौं । बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक (बाफिया) संशोधनबारे प्रतिनिधिसभामा दफावार छलफल भएको छ । छलफललमा सहभागी जनाएका सांसदहरुले विधेयकमा बैंकर र व्यवसायी छुट्याउन गरिएको प्रयासको प्रशंसा गरे ।
बैंकका संचालक वा १ प्रतिशतभन्दा बढी सेयर ग्रहण गर्नेले १० प्रतिशतभन्दा बढी चुक्ता पूँजी रहनेगरी अरु कम्पनीमा लगानी गर्न नपाइने व्यवस्था संशोधित विधेयकमा उल्लेख छ । यससम्बन्धी विधेयक संशोधनबारे आफ्नो धारणा राख्दै सांसद लक्ष्मी चौधरीले ७० वर्ष कटेकालाई बैंकको संचालक बन्न रोक लगाउने व्यवस्थामा केही लचिलो हुनुपर्ने धारणा राखिन् ।
त्यस्तै साइबर ह्याकिङ ठूलो चुनौति बनिरहेकाले बैंकहरुको डाटा सुरक्षाका लागि विशेष ध्यान दिन आग्रह गरिन् । सांसद अशोक कुमार चौधरीले एकातिर क्रिप्टोकरेन्सी प्रतिबन्ध लगाउने अर्कोतिर डिजिटल करेन्सीलाई कानुनी मान्यता दिने व्यवस्था एकअर्कोसँग बाझिएको बताए ।
सांसद सोविता गौतमले बैंक तथा वित्तीय संस्था संचालक समितिमा ५ र बढीमा ७ जना रहने व्यवस्थालाई कम्पनी ऐनअनुसार ७ देखि ११ सम्म बनाउन सकिने धारणा राखिन् । १ महिला र २ स्वतन्त्र संचालक हुनुपर्ने व्यवस्थाको उनले प्रशंसा गरिन् ।
सांसद निशा डाँगीले संचालक समितिमा एउटै व्यक्ति २ कार्यकालभन्दा बढी नरहने व्यवस्था एउटै बैंकमा हो कि फरक फरकमा पनि लागू हुने हो भनी प्रश्न गरिन् ।
प्रतिक्रिया 4