+
+

गोदावरी नगरपालिका अब कसले चलाउँछ ?

अमृत चिमरिया अमृत चिमरिया
२०८१ जेठ २४ गते १९:२४

२४ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोडाढुंगाको राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा ललितपुरको गोदावरी नगरपालिकाका मेयर र उपमेयरविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्‍यो ।

अख्तियारको निर्णयसँग मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीसहित नगरपालिकाका केही कर्मचारी निलम्बनमा परेका छन् ।

मेयर र उपमेयर नै निलम्बनमा परेपछि गोदावरी नगरपालिकाको नेतृत्व र त्यहाँको कार्यकारिणी अधिकार कसले प्रयोग गर्ने भन्ने अन्योल सुरु भएको छ ।

गोदावरी नगरपालिकामा १४ जनाको वडाध्यक्षसहित २४ जनाको कार्यपालिका छ । ३ जना वडाध्यक्ष बाहेक कार्यपालिकामा अरू सबै नेपाली कांग्रेसबाट निर्वाचित छन् ।

गोदावरीमा माओवादी केन्द्रले २ र एमालेले एउटा वडाध्यक्ष जितेको छ । २२ जना कार्यपालिका सदस्यमध्ये १९ जना कांग्रेसका छन् ।

गोदावरी नगरपालिकाका सबैभन्दा पाका वडाध्यक्ष नीलबहादुर देशार रहेका छन् । देसारले अनलाइनखबरसँग भने, ‘अघिल्लो कार्यपालिकामा पनि म नै सबैभन्दा पाको थिएँ, अहिले पनि मै छु । जहाँसम्म कार्यवाहकको कुरा छ । अब बस्ने बैठकले नै निर्णय गर्नेछ ।’

१२ नम्बरका वडाध्यक्ष जगतबहादुर महर्जनले पनि पाका वडाध्यक्षमा नै जिम्मेवारी हुने संकेत गर्दै भने, ‘पर्सि छलफल हुँदैछ, अहिले नै हतार गरेर निर्णय गर्दा फरक सन्देश जाने भएर २–३ दिनमा निर्णय गर्न लागेका हौं ।’

स्थानीय शासन सञ्चालन ऐनमा स्थानीय तहको प्रमुख र उपप्रमुख दुवै पद रिक्त वा जिम्मेवारविहीन भए के गर्ने भन्ने परिकल्पना छैन ।

नेपाल नगरपालिका संघका कार्यकारी अधिकृत कलानिधि देवकोटा पनि जेष्ठताका आधारमा नेतृत्व गर्ने सम्भावना देख्छन् । उनी भन्छन्, ‘कानुन बनाउँदा दुवै पद रिक्त हुने परिकल्पना रहेनछ । त्यसैले जेष्ठ वडाध्यक्षले नै नेतृत्व गर्ने अभ्यास छ ।’

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ मा कार्यविभाजन तथा कार्यसम्पादन सम्बन्धी व्यवस्था छ । दुवैजना एकसाथ अनुपस्थित हुँदा नगरको नेतृत्वको विषय मौन छ ।

दफा १६ (१)मा स्थानीय तहको प्रमुख सात दिनभन्दा बढी समय अनुपस्थित हुने भएमा उपप्रमुखलाई जिम्मेवारी दिने उल्लेख छ । अनि उपप्रमुख अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने उल्लेख छ ।

कार्यभार दिने अधिकारी नै निलम्बनमा परेमा कुन पदाधिकारीले कार्यवाहक जिम्मेवारी व्यहोर्ने भन्ने उल्लेख छैन ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?