+
+

इन्स्पेक्टर शिवाकोटीविरुद्ध जबर्जस्ती करणीको जाहेरी, ५ दिन हिरासतमा राख्न अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २४ गते १८:४३

२४ जेठ, काठमाडौं । बुधबार साँझ नागार्जुन नगरपालिकाबाट पक्राउ परेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर शिवाकोटीविरुद्ध जबरजस्ती करणी गरेको कसूरमा जाहेरी दर्ता भएको छ ।

प्रहरी वृत्त, स्वयम्भुमा पीडित १२ वर्षीया किशोरीको तर्फबाट बिहीबार जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । जाहेरीका आधारमा प्रहरीले थप अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंबाट शिवाकोटीलाई ५ दिन हिरासतमा राख्न अनुमति पाएको परिसरले जनाएको  छ ।

बुधबार साँझ काठमाडौं महानगरपालिकाको बाल उद्दार समिति सदस्य प्रविन सिलवाललाई बालिकाले सम्पर्क गरेर उद्दार गर्न अनुरोध गरेकी थिइन् ।

महानगरको सामाजिक विकास विभाग अन्तर्गत नाताभन्दा बाहेकका व्यक्तिसँग बसेका बालबालिकाको तथ्यांक संकलन गर्ने क्रममा ती बालिकालाई इन्सपेक्टर शिवाकोटीको घरमा घरेलु श्रमिकको रुपमा राखेको खुलेको थियो । त्यहीबेला बालिकाले महानगरका अधिकारीहरुको सम्पर्क नम्बर लिएकी थिइन् ।

बालिकाले सम्पर्क गरेपछि काठमाडौं महानगरपलिकाको टोली, नागार्जुन नगरपालिका, बालबालिका खोजतलास तथा समन्वय केन्द्र, प्रहरी वृत्त स्वयम्भु समेतको टोली पुगेर उद्दार गरेको थियो ।

बालिकाको बयानलगत्तै स्वयम्भु प्रहरीले शिवाकोटीलाई नियन्त्रणमा समेत लिएको थियो । उनी उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत छन् ।

पटकपटक करणी गरेको आरोप

प्रहरीका अनुसार, तराई मूलकी बालिका ६ वर्षदेखि शिवाकोटीको घरमा बस्दै आएकी थिइन् । उनले घरायसी काममा सहयोग गर्दै कक्षा ८ मा पढ्दै आएकी थिइन् ।

४५ वर्षीय शिवाकोटीले आफूलाई तीन वर्षदेखि पटकपटक जबरजस्ती करणी गरेको बालिकाको बयान छ । बालिकाको प्रारम्भिक बयानअनुसार शिवाकोटीले अन्तिम पटक १६ जेठ २०८१ मा जबर्जस्ती करणी  गरेका थिए ।

प्रहरीले बिहीबारै बालिकाको थापाथलीस्थित प्रसुतिगृहमा स्वास्थ्य परीक्षण गराएको छ भने उनलाई ‘सेफ हाउस’मा राखिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?